१५ चैतको उज्यालोे भइसकेको कुराको सन्देशवाहकका रूपमा आज सूर्यका किरणहरू आएनन् कोठामा बरु चिसो स्याँठ छिरेर निद्रा बिथोलेर गयो । यसो घडी हेरेँ– ७ बज्नै लागेको रहेछ ।
दिनको अनुहार उज्यालिएको रहेनछ अझै तर यो रातको कालिमाको शेष थिएन बरु थियो त बाक्लो बादलका कारणले सूर्यको लालिमाले राम्ररी गोठीज्यूलाको धर्तीमा प्रवेश गर्ने भिसा नै नपाउनु । सिङ्गो गोठीज्यूला नै अँध्यारिएका बेला मेरो कोठामा मात्र कहाँबाट आओस् उज्यालो ?
उठेँ र दक्षिणतिरको बरण्डामा निस्किएर हेरेँ । दक्षिणतिर पर्ने अलिक परको डाँडो त सेताम्मे भएर ढाकिएको रहेछ हिउँले । ‘गारुको वन’ रे त्यो ठाउँको नाम । वन कम र हिउँ बढी देखिने भइसकेको रहेछ रातभरिमा । निशा र रञ्जिता अझै मस्त निद्रामै छन् जस्तो छ । कोठाभित्र कोही ब्युँझिएको चालचुल छैन ।
‘ए नानीहरू, लौ उठ । उठेर हेर त प्रकृति कस्तो छ !’, मैले ढोकामा जोडजोडले हात बजार्दै भनेँ । धेरैबेरसम्म कुनै रेस्पोन्स नै भएन । मैले पनि ढक्ढकाउन नछाडेपछि अन्त्यमा रञ्जिताले गन्गनाउँदै ढोका खोलिन् ।
‘ल दुवैै जना बाहिर आओ दृश्य हेर्न’, मैले उर्दी जारी गरेँ ।
केहीबेरमा ती दुवैै झर्को लागेको जस्तो अनुहार लिएर बरण्डामा आए । र, जब दक्षिणतिरको दृश्य देखे– उनीहरूको आँखामा अनौठो चमक देखियो । डाँडाको वनलाई नै ढाकौँलाझैँ गरी थुप्रेको विशाल हिमराशीमा साँच्चै नै अद्भुत आकर्षण थियो । सबैतिरको अँध्यारोले गर्दा त्यो हिउँ झन् उज्यालो देखिन्थ्यो ।
तल गयौँ । नित्यकर्मबाट निवृत्त भयौँ । झोला तम्तयार अवस्थामा राखेर गाडी पर्खिन थाल्यौँ । जति पर्खे पनि गाडी आएनन् । केही साना गाडीहरू त फाट्टफुट्ट ओहोर–दोहोर गरेको देखियो तर हामी ३ जनालाई बोक्न सक्ने बस आउँदै आएन ।
होटलका साहुलाई सोधेँ यही विषयमा । उनले भने, ‘हेर्नोस्, यता आउने गाडी भनेका सुर्खेत वा नेपालगंजबाट आउने हुन् । कोही कहाँ आएर रात बास बसेका हुन्छन्, कोही कहाँ । पुराना गाडी हुनाले बिग्रिरहन्छन् । यति नै बजे आउने भन्ने केही ठेगान हुँदैन । तर पनि गाडी आउन लागेको छ भने हामीलाई ‘खाना तयार पारेर राख्नू’ भन्ने फोन आउँछ । आज पनि ‘२५–३० जनालाई खाना तयार पारेर राख्नू, म आउँदै छु’ भनेर एक जना गुरुजीले फोन गरेका छन् ।’
‘कति बेला आइपुग्छन् रे त ?’
‘११ बजेतिर भनेका छन् ।’
यसो घडी हेर्दा ८ मात्र बजेको छ । अब हामीले फुर्ती–फार्ती लगाउनुको कुनै तुक रहने भएन । ३ घण्टा त कम्तीमा पनि पर्खनै पर्ने भयो । एउटा ढुक्कको कुरो केचाहिँ भयो भने गाडीले खाना नै यही होटेलमा खाने भएपछि हामी यताउता अल्मलिएको बेला आएको गाडी फुत्त छुटी पो हाल्छ कि भन्ने कुनै डर भएन । हामी ठीक ठाउँमा बसेका रहेछौँ ।
सानो बजारक्षेत्र छ । हिजै सबै घुमिसकिएको छ । २ दिदी–बहिनी कोठातिरै लागे आफ्नै सुसेधन्दा गर्न । बरु यही मौकामा मैले मोबाइल चार्ज गर्न दिएँ र आगो ताप्दै सिञ्जा साम्राज्यकै बारेमा सोच्दै बसेँ–
सानो थियो र यो साम्राज्य ? त्यो बेलाको जुम्ला भन्नाले नै अहिलेका जुम्ला, मुगु, कालीकोट, डोल्पा र हुम्लासमेत बुझिन्थे । अझ सिञ्जा त योभन्दा पनि बृहत् थियो । कल्यालवंशी प्रत्येक राजाका अभिलेखहरूमा लेखिने गरेको ‘बद्रीनाथो जयति, मुक्तिनाथः सहायः’ भन्ने शिर बेहोराबाट पनि यो राज्यको तत्कालीन फैलावटको अनुमान गर्न सकिन्छ । इतिहासकारहरू भन्छन्, ‘सम्राट्् नागराज यो सिञ्जा साम्राज्यका संस्थापक र एक्लो नायक थिए । यिनै नागराजका चाप, चापिल्ल, क्राशिचल्ल, क्राधिचल्ल, क्राचल्ल, अशोक चल्ल हुँदै आठौँ पुस्ताका सन्तति थिए– नेपालको इतिहासले प्रस्टसँग चिनेका राजा जितारी मल्ल, जसका अधीनमा ८४ राज्यहरू, ३६ थर्पु र एक रैकर राज्यसमेत थियो ।’
सिञ्जा साम्राज्यको सीमा पूर्वमा बेत्रावती र त्रिशुलीगंगा, पश्चिममा स्पिती लदहौल लवणिका, उत्तरमा तिब्बत र दक्षिणमा गंगानदीसम्म फैलिएको थियो । राजा जितारी मल्ललाई त ठूला मालिक, ईश्वर समान र तिलस्मी शक्तिले भरिपूर्ण ‘बडामहाराज’ नै मान्छ यस क्षेत्रको माटोले । उनको सम्मानमा गाइने ‘भारत’ले भन्छ–
‘ए बड्ड ठाकुर जितारी मल्लौ
ए गोसाइँदेव जालन्धरी
देवदेवौ जुगजुग बाल औतार
७ सय कर्नालियौ तमी दाइना भया
सातै बुइनी मालिका तमी दाइना भया
बारै भाइ मष्टोदेव तमी दाइना भया
रिनमोक्छे माहादेउ तमी दाइना भया
रणचण्डेश्वरीमाई तमी दाइना भया
दानीगौँडा चुन्नन्नाथ तमी दाइना भया
रख्खे अर्लिन् कनकासुन्दरी
रख्खे होला हमु साइय
पैकेलाका ठौँर
ए बड्ड ठाकुर जीतारि मल्लौ ...’
अनि अकस्मात् मेरो दिमागमा २०२८ साल घुम्यो । राजनीतिक दलहरूले राजा महेन्द्रलाई जति गाली गरे पनि उनी मरेपछि यो देशका लाखौँ मान्छेले श्रद्धाले केश मुण्डन गरे, जुठो बारे, तर्पण दिए, शोकका कविता गाउँदै बजार–बजार डुले । राजा महेन्द्रका योगदानको त अब झन् चर्चा हुन थालेको छ– २०४६ सालको परिवर्तन आएको ३१ वर्षपछिदेखि, झनै सघन रूपमा ।
राजा वीरेन्द्रको वंश विनाश हुँदा पनि मुलुकभरि यस्तै श्रद्धाको लहर उर्लियो । मदन भण्डारी, बीपी कोइराला, गणेशमान सिंह, किशुनजी र मनमोहन अधिकारीको शवयात्रा र शोकको मात्रा पनि उस्तै रह्यो नेपालीका हृदयमा । तर, अबका यी पैसामुखी नेताले के यस्तै सम्मान पाउलान् त ? अहँ, म त त्यस्तो कुनै सम्भावनै देख्दिनँ त ! जनताले बरु धर्तीको भार घटेको महसुस गर्लान् र खुसियाली व्यक्त गर्लान् मनमनै भए पनि । ‘कठैबरी, यी फलाना पनि मरेछन्’ भनेर पीर मान्नुपर्ने त कुनै कारणै देख्दिनँ म ।
तर, माटोलाई गुन लगाएका शासकलाई कहिल्यै पनि बिर्सिन नसक्ने रहेछन् धर्तीका छोराछोरीहरूले, जस्तो कि नागराज र जितारी मल्ललाई अझै पनि श्रद्धाका साथ सम्झिरहेकै छ यो भूमिले ।
मोबाइल हन्ड्रेड पर्सेन्ट चार्ज भएछ । उसले आफैँ ‘म अघाएँ’ भनेपछि म पनि उठेँ र होटलतिरै आएँ । गाडी आएपछि भीडभाड हुन्छ भनेर हामीले १० बजे नै खाना खायौँ र फेरि तयार भयौँ । यसरी तयार भयौँ, मानौँ कि हामी अफिस नै जाँदै छु र हाजिरीको थम्ब प्रिन्ट लगाउन पटक्कै ढिला गर्नुहुँदैन ।
खाना खाँदाखाँदै के भएर हो ‘भस्सो’को प्रसङ्ग निस्कियो । मैले त्यसलाई आफ्नैतिर तन्काएर ‘भैलो’मा पु¥याएँ । हामीलाई ‘भैलो÷द्यौसी खेल्न जाऊ’ भनेर हुकुम दिने बलिराजहरू त बेग्लाबेग्लै पो रहेछन् । मैले वामन अवतारले ठेगान लगाएका बलिराजको कुरा उठाउनासाथ कनकसिंह शाही नाम भएका एक जना बुढाबाले मेरो खण्डन गर्दै भन्नुभयो, ‘त्यसो होइन बाबू, यो कुनै काल्पनिक कुरो हुँदै होइन । यो त १४६१ सालमा जुम्लाका शक्तिशाली सम्राट भएपछि राजा बलिराजले चलाएको चलन हो । यी बलिराज त यहीँका राजा हुन् । कहाँ देउताका पालाको कुरो हुनु नि ! संवत् १४५५ मा उनले रामदास पाध्यासमेत ३ जनालाई ब्रह्मविर्ता दिएको त ताम्रपत्रै छ नि अहिले पनि !’
त्यसपछि हामीले आआफ्नो क्षेत्रमा खेलिने भैलोका नमुनाहरू प्रस्तुत ग¥यौँ । धेरै फरक थिएन गायनको शैली, कथावस्तु र समग्र प्रस्तुतीकरणमा । तर, ती बाबैले भनेका यी पंक्तिहरूभित्र रहेको बिम्बलाई भने मैले अहिले पनि बिर्सिएको छुइँन–
‘ए, उँबो गाड बगिआयो क्या राउँरो चाखुडो
भैलो दिन्याँ घरिनाको सुनको पाखुडो...’
अन्यत्रको जस्तै टोली नेताले भट्याएपछि अरूद्वारा ‘भैलो’ भनिने यो साङ्गीतिक प्रस्तुतिका दुइटा कुराले मेरो मनै छोयो । घरकी मूल महिलालाई भनिएको ‘घरिना’ र ‘पाखुरै सुनको होस्’ भन्ने कामना । यी दुर्गम गाउँका बूढाबूढी मान्छेले त ‘किङ मिदास’ पढेका छैनन् नि त । उनीहरूलाई ‘गोल्डेन टच’को मर्म के थाहा होस् ? कत्रा कत्रा मै हुँ भन्ने नेतासँग त एक कठ्ठा जग्गा र जम्मा ‘चार तोला सुन’ छ भने कति उदार रहेछन् यी गाउँलेहरू जो अलकति खुसी हुनासाथ ‘सुनको पाखुरो’ हुने आशीर्वचन दिइहाल्छन् । मजा लाग्यो कुरो सुनेर ।
हुनत घर भनेकै घरवालीको हो । ‘लोग्नेको थर र स्वास्नीको घर’ भन्ने चलन त देशभरि नै छ । अझ डोटीतिर त झन् एक कदम अगाडि बढेर ‘जैकी ज्वै नाइँ उइकी क्वै नाइँ’समेत भन्छ लोकबोलीले नै । सीताराम, उमामहेश्वर, राधाकृष्ण भनेर महिलाको नामलाई पहिलो प्राथमिकतामा राखेझैँ हरेक गृहिणीको महत्त्व दर्शाउँदै यतातिरको फागले भन्छ–
‘सरघर सरसती इस्सरघर पारभती
रामघर सीतादेवी राज भुचुन्नी
सरघर सरसती इस्सरघर पारभती
नलघर दमयन्ती राज भुचुन्नी... ।’
साँच्चै नै ११ बजेर केही समय अझै बितेपछि एउटा बस आयो । त्यो वास्तवमै थोत्रो थियो र यसो हेर्दा पनि हर्नबाहेक अरू सबै कुरा बज्छन् जस्तो देखिन्थ्यो । तर, मैले यति राम्रो देखेँ कि मानौँ म कुनै सिँगारपटारयुक्त बेहुलीलाई देखिरहेको छु । यात्रीहरू हुरुरु ओर्लिए र त्यही होटलमै खाना खान पसे । यही मौकामा मैले त्यो बसलाई वरिपरि घुमेर पनि हेरेँ ।
बस हुनसम्मको थोत्रो थियो । आधा त धुलोले नै पुरिएको थियो तैपनि मलाई लाग्यो– क्या राम्रो बस ! ज्ञानी पनि रहेछ– ११ बजे आउँछु भनेर अलिकति मात्रै ढिलो गरेर आयो । कम्तीमा पनि ‘प्रमुख–अतिथि’ले कुराएझैँ त कुराएन नि ! ब्रेक र स्टेरिङ ठीकै भएरै त कुदाउँदै होलान् नि ड्राइभरले पनि । अरू बाँकी कुरा त तपशीलका कुरा हुन् नत्र नेपालगंजदेखि यहाँसम्म कसरी आइपुग्यो त यो बस ?
जे छ, जे आयो, जे पाइयो, त्यही ठीक छ ।
हामी पनि बसमा बस्यौँ । मान्छे हिँड्ने प्यासेजमा अनेकौँ पोका पुन्तुराहरू बिसाइएका हुनाले हिमनदीको बाटो हिँड्दा अनेकौँ ढुङ्ग्यानी थुप्राहरू छल्दै हिडेँ जसरी पछाडिको सिटमा पुग्यौँ । पछिल्लोभन्दा ठीक एक पंक्ति अगाडि कसैले पनि झोला नराखेको सिट भेट्टायौँ र त्यसैमा बस्यौँ । रञ्जिता र निशालाई भित्तो हेर्ने सिटतिर राखेर म पहरो हेर्न पाइने सिटतिर बसेँ ।
त्यही हिजो बेलुकादेखि सङ्गत गरिएको खोल्सोलाई नाघेर बस अगाडि बढ्दै छ । बाटोमा धेरै अप्ठ्यारा मोडहरू देखिइरहेका छन् । यी झण्डैझण्डै ९० डिग्रीमा मोडिने घुम्तीहरूबाहेक अन्य ठाउँको बाटो राम्रै छ । कच्ची नै छ बाटो तैपनि खासै गुनासो गरिहाल्नुपर्ने स्थिति देखिएको छैन । बस निरन्तर उकालो चढिरहेछ र गति असाध्यै धीमा छ । अनुमान गर्छु– मुस्किलैले २ नम्बर गियरमा होला कि ?
निकैबेर गुडेको बस भुलभुलेमा आएर रोकियो । बाटोको माथ्लोपट्टि खुला चौर र पारिपट्टि हरियो वन हुनाले साँच्चै नै सुन्दर देखियो भुलभुले । बढीमा १०–१२ वटा घर, पसल, होटेल र यात्रीहरूको रात्रि बिसौनीसमेत । सुन्दर, शान्त र लघुकायामा देखियो भुलभुले । सधैँ यहीँ बसेर जीवन जिउनेलाई थाहा होला यहाँको अप्ठ्यारो, हामी त २ पलका यात्री, यसो प्राकृतिक छटा हेर्दा शान्त र सुन्दर पनि देखियो भुलभुले ।
भुलभुलेमै आएपछि एउटा अर्को कुरो पनि थाहा पाइयो । यदि हिजो हामी गोठीज्यूला नउत्रेर त्यही ‘गमगढीवाला’ बसमै आएको भए यही ठाउँमा बास बस्नुपर्ने हुँदोरहेछ । राम्रै भएछ, आखिर उहीँ बसेर भएर पनि धेरै कुरो देख्न त पाइयो नि !
जताततै बाटो मर्मत–सम्भार भएको देखिँदै छ । ठाउँठाउँमा भेटिन्छन् बाटो बनाउने हेभी इक्विपमेन्टहरू । यतातिरचाहिँ असार मसान्तले नछोईकनै काम भएको देखिँदै छ । कर्णाली राजमार्गले प्राथमिकता पाएकै देखिँदै छ । ठेकेदार गतिलो परेर हो कि क्या हो, सबैतिर काम भएकै देखिँदै छ ।
साह्रै नै अप्ठ्यारा मोडहरू रहेछन् ओरालो झर्न थालेपछि पनि । ५–७ ठाउँमा त बसलाई ‘मोड’ नपुगेर ब्याक गर्दै काट्दै गरेको पनि देखियो । चालक भन्दै थिए, ‘७ वटा घुम्तीमा मोड पुग्दैन । नयाँ ड्राइभरको त सातो नै खान्छ यो बाटोले ।’
जे होस्, यस्तै घुम्ती नाघ्दै, वरपरको हरियाली हेर्दै र कच्ची बाटोमा धुलोको मुस्लो उडाउँदै दिउँसोको ३.३० को आसपासमा हामी ‘ताल्चा’ आइपुग्यौँ ।
कस्तो रमाइलो नाम– ‘ताल्चा ।’ अर्थात् अर्को अर्थमा भन्ने हो भने ‘ताला’ वा ‘साँचो ।’ कसरी रहे होलान् यस्ता नामहरू ? ‘ताल्चा’ यहाँ छ र ‘ताला’चाहिँ भुटानमा छ । यहाँको ‘ताल्चा’ सानो छ र भुटानको ‘ताला’ अलिक ठूलो छ । यी दुवैै ठाउँका नाम नेपालीभाषीले नै राखेका हुन् । तर, यो केको ताल्चा ? कसलाई सोध्ने र हामी पनि त बसभित्रै छौँ ।
अनि भुटानको ‘ताला’बारे पनि कसलाई सोध्ने र नेपालीभाषीलाई छानीछानी लखेटिहाल्यो । तिनै लखेटिएकाहरू पनि ‘थर्ड कन्ट्री सेटलमेन्ट प्रोग्राम’मा परेर युरोप, अमेरिका र अस्ट्रेलियातिर पुगिहाले । यातनाले जर्जर भएको तन र भग्न मन बोकेर बाँचेका बिचरा एक्ला टेकनाथ रिजालले मात्र त के गर्नु र अब ? भुटानमा कतिसम्म अन्याय भएको थियो र त्यो मुलुक आवाद गर्ने नेपालीभाषीमाथि कति ज्यादती गरिएकोे थियो भन्ने कुरो बुझ्न त उनको एउटै कृति ‘निर्वासन’ पढे पुगिहाल्छ नि !
रारा ताल हेर्न जाने यात्रीहरू यही स्टेसनमा ओर्लिने रहेछन् । हाम्रै बसबाट पनि धेरै मानिसहरू ओर्लिए । हामी पनि यहीँ ओर्लिने भनेरै आएका थियौँ । भाडा पनि यहीँसम्मकै तिरिएको थियो तर बसभित्र भएको कुराकानीबाट के थाहा पाइयो भने गमगढी यहाँबाट केवल १० किलोमिटर टाढा छ र गमगढीबाट पनि रारा जाने बाटो छ । यो थाहा पाउनासाथ हाम्रो पनि मन फेरियो । के थाहा, फेरि मुगु जिल्लाको सदरमुकाम गमगढी पुग्ने दिन कहिल्यै आउने हो कि होइन– यो एकबारको जिन्नगीमा ! यहाँसम्म आइपुगिएको छ, गमगढी नै गएर बास बस्ने बसभित्रै छौँ । हामी नओर्लिए त सक्किगो नि !
लौ जा त, हामी साँच्ची नै ओर्लिएनौँ र लाग्यौँ गमगढीतर्फको ओरालो । हामीले सोच्यौँ आजको रात ताल्चाको सट्टा ‘गमगढी’मा बिताइयो भने हामी दुवैै ठाउँ हेर्नबाट छुट्नेछैनौँ । तर, यतैबाट रारा जाने र फर्किने काम भयो भने हाम्रो पाइलो कहिल्यै गमगढीमा नपर्न पनि बेर लाग्ने छैन– आन्तो यो २ दिन्को जिन्तोकीमा !
यो १० किलोमिटर थप यात्रा गरेबापत हामीले पुनः जनही १००–१०० रुपैयाँ ति¥यौँ र अगाडि खाली भएका सिटमा आसन जमायौँ । तल गहिरोमा देखिँदै छ गमगढी र त्यतै मुख फर्काएर ठसठस् कनिरहेछ हाम्रो बूढो बस ।
ठ्याक्कै डेढ घण्टामा १० किलोमिटर दूरी छिचोलेर बसले हामीलाई गमगढी ल्याइपु¥यायो र बसपार्क भनिएको ठाउँमा ओराल्यो ।
छोइयो मुगुको धरती ! फोहोर भए पनि होस्– लगाइयो माटाको टीको । ठट्टा हो यहाँ आइपुग्न पाउनु भनेको ? यो त रारा दह, चङ्खेली हिमाल, सिस्ने हिमाल, छायानाथ चुली, नाम्जाला, लद्दाख हिमाल, छायानाथ दह, ऋणमोक्ष दह, कालिका–मालिका मन्दिर, खेस्मामालिकाको थान, मालिका लेक जस्ता प्रसिद्ध र दर्शनीय ठाउँहरू भएको जिल्ला पो त ! दराका हिसाबले त जुम्लाभन्दा बढी ‘दरा’ भएको ठाउँ– जुम्ला ४ दरा, मुगु ५ दरा ।
खत्याड, सोरु, गम, करान र मुगु दरालाई आफ्नो भूगोलमा समेटेको जिल्ला ! ‘मुगु’ त यहाँका लागि नाउँ पनि हो, ठाउँ पनि हो, गाउँ पनि हो, दरा पनि हो र जिल्ला पनि हो । मुगुको अर्थ नै मुहान, नाका वा केन्द्र हो भनेर ‘मुगुको सेरोफेरो’ नामक कृतिमै अर्थ लगाइदिनुभएको छ लेखक दोलखबहादुर गुरुङले । त्यसैले यो तिब्बतसितको व्यापारको मुहान, नाका वा केन्द्र हो भनेर बुझ्न हामीलाई कुनै अलमल नै छैन । ‘हाट भए मुगाल, नत्र कङ्गाल’ भन्ने उखान नै किन बन्थ्यो र त्यसो नभए त !
गमगढी त गजबको ठूलो बजार पो रहेछ । झट्ट हेर्दा त जुम्लाभन्दा पनि ठूलो देखिँदै छ त ! तर, जुम्ला फराकिलो छ र जति पनि बढ्न सक्ने ठाउँ छ । गमगढीमा भने खाँदाखाँद गरेर घर बनाएका देखिए । सुरक्षित ठाउँ कम भएर होला, कहीँ केही बाँकी नराखीकन घरहरू बनाएका रहेछन् यो बजारमा त ।
बाटो हिँड्दाहिँड्दै सोध्यौँ, ‘यहाँको सबैभन्दा स्तरीय होटल कुन हो ?’
बाटामा भेटिएकै कसैले जबाफ दियो, ‘चन्दननाथ होटल ।’
सोध्यौँ, ‘कता पर्छ ?’
त्यही मान्छैले औँलो तेर्साएर भन्यो, ‘ऊ त्यो ठूलो रूख भएको ठाउँमा ।’
त्यही रूखलाई ताकेर हामी बिस्तारै हिँड्यौँ । बाटोमा अरू होटलका पनि साइनबोर्ड पनि देखिए । तर, हामी भने सिधै चन्दननाथलाई नै ताकेर हिँडिरह्यौँ ।
वास्तवमा यतातिर चन्दननाथलाई साह्रै ठूला देवता मानिँदो रहेछ । जुम्लाको नगरपालिका नै चन्दननाथ । हाईस्कुल, बाटो र सम्मान व्यक्त हुने सबै ठाउँको नाम ‘चन्दननाथ’ देख्दै आएका हामीले बास पनि किन चन्दननाथ होटलमै नबस्ने त भनेर सुर कसिसकेका छौँ ।
चन्दननाथको प्राङ्गणमा पुग्न यस्तै १२–१५ मिनेट लाग्यो होला । कोठाको कुरा गर्दा दुइटा कोठा त पाइए तर बेग्लाबेग्लै तल्लामा । भान्जीलाई सोधेँ, ‘हुन्छ ? डराउँदैनौ ?’
उनले तुरुन्तै जबाफ दिइन् तर मलाई होइन, होटलकी साहुनीलाई, ‘कम्तीमा पनि एउटै तल्लामा मिलाइदिनोस् न ।’
त्यस होटलमा कुनै गैरसरकारी संस्थाले तालिम चलाइरहेको रहेछ । सहभागीहरूको भीड छ । सायद बेलुकाको सेसन पनि छुटेको अवस्था हुँदो हो– खानाको अर्डर गर्ने, खाजाको व्यवस्थापन गर्ने कुराको छलफल चलिरहेको छ । तिनैमध्येका कुनै २ जना मानिसलाई साहुनीले भनिन्, ‘सरहरू तेस्रो तलामा गइदिनोस् न है आज एक रातका लागि ।’
अनि हामीतिर देखाउँदै भनिन्, ‘उहाँहरू काठमाडौँदेखि नै हाम्रैमा बस्ने भनेर आउनुभएका पाहुना । दुवैै कोठा एउटै तलामा चाहियो रे !’
ती मान्छेहरूले आपत्ति जनाएनन् बरु ‘हुन्छ’ भने र हामी पनि कोठा हेर्न माथि चढ्यौँ । एउटा कोठा भ¥याङबाट भित्र पस्नेबित्तिकैको थियो भने अर्कोचाहिँ निकै पर बाथरुमको छेउमा थियो । होटल व्यवस्थापनले पनि यहाँभन्दा बढी मिलाउन सक्ने ठाउँ नै थिएन । त्यसैले मैले नै ‘हुन्छ’ भनेर खाली कोठामा झोला राखेँ । तर, रञ्जिता र निशाका लागि लिइएको कोठाबाट भने मान्छे अर्को तलामा सरेर जानुपर्ने भएकाले तत्काल त्यो खाली थिएन ।
आखिर कोठा चाहिने भनेकै राती सुत्नलाई न हो ! बिस्तारै खाली हुँदै जाला भनेर सबै झोलाहरू एउटै कोठामा थुपारेर हामी पुनः काउण्टरमै फर्कियौँ । डाइनिङ हल छुट्टै रहेछ– त्यहीँ गएर केही खाजा खायौँ र मौकाको पूरा सदुपयोग गर्नै भन्दै बजार घुम्न निस्किने योजना बनायौँ ।
बजार घुम्दै धेरै परसम्म गयौँ । जताततै ठूलाठूला पसलहरू छन् । मोबाइल पसलहरू पो बढी देखिए यहाँ त झन् ।
बजारको भिरालोमा पनि मोटरसाइकलको चहलपहल उस्तै छ । एउटा तन्नेरीले त कपालमै ५ थरी रङ लगाएर हिँड्दै छ । सोच्दो हो– काठमाडौँलाई पनि जितेँ अब त ।
साँझको बेला छ र अहिले हामी राम मन्दिरमा आइपुगेका छौँ । सँगसँगै छन् ४ वटा ससाना मन्दिरहरू । सबै मन्दिरको दर्शन ग¥यौँ, तस्बीर खिच्यौँ । मन्दिरसँगै जोडिएको रहेछ प्रहरी चौकी । त्यसैमा जोडाएरै बनाइएको रहेछ प्रहरीको ब्यारेक पनि ।
मूल बाटोमा ढलान गर्न लागिएको रहेछ । धमाधम डण्डीको फ्रेम बाँधिरहेका छन् कामदारहरू । जिज्ञासा लागेर सोधेँ पनि– यहाँ प्रतिबोरा १ हजार ३५० रुपैयाँमा आइपुग्छ रे सिमेन्ट । पत्रे चट्टान फुटाएर बनाइएको हुनाले गिट्टी पनि अर्कै खालको देखिने रहेछ ।
साँझ प¥यो झमक्कै र अब हामी पनि होटलतिरै फर्किंदै छौँ ।
कानमा पर्दै छ कसैको सुरिलो विरही स्वरः
‘कर्नाली कर्नालीतिर भेरी भेरीतिर
मु एग्लो डाँणाको मिर्ग क्वै नाइँ मेरातिर... ।’
हो, यो त्यही गीत त हो, जसलाई मैले धेरै वर्षअघिदेखि नै आफूअनुकूल बनाएर गाउँदै आएको छु–
कर्णाली कर्णालीतिर भेरी भेरीतिर
मु एल्को धुक्याको माण्ठ क्वै नाइँ मेरातिर... ।’