भीडन्त
नभनेको भए पनि हुन्थ्यो, भनिहाल्यो ।
निहुँ चाहिएको थियो । एकैछिनमा बजार लाग्यो मान्छेको ।
ठोक्, ठोक् !!
कता ? कसलाई ? केमा ?
हान्, हान् !! मारिदे सालेलाई ! मार् राँडीको छोरालाई ! (सभ्यताको राम्रो परिचय सम्बोधनमा पाइन्छ)।
भीडको बीचबाट बगेको रगतले निकै ठूलो हताहत भएको अनुमान गर्न सकिन्थ्यो । मान्छे त त्यति धेरै होइनन्, दुई सयको हाराहारी होलान् भीडमा ।
oooo
सुरक्षा निकै राम्रो छ, सरकार यसै भन्छ । झैझगडा, लुटपाट, हत्या, हिंसामा निकै कमी आएको छ, लगभग शून्य, एनजीओ, आईएनजीओका रिपोर्ट बोल्छन् ।
लगातार जस्तो भयो । एक साता, अझ भनूँ न, निर्वाचनको घोषणा भएदेखि यता मात्र देशभरका विभिन्न ठाउँमा गरेर ५० जनाको ज्यान गइसकेको छ । हेरुँ, यहाँ कतिको गएको छ ?
oooo
३ करोड चानचुन जनता (त्यो पनि बूढाखाडा, केटाकेटी गरेर) भएको देशमा ३०० भन्दा बढी राजनीतिक दल दर्ता भएका छन् । राजनीति के हो र राजनीतिक दलको जिम्मेवारी र दायित्व के हो ? दलका नेतालाई त थाहा छैन, विचरा जनता ! हिजो, २००७ सालदेखि जानेको आफ्नोबाहेक अन्य कुनै राजनीतिक दल नै होइनन्, ठग, भ्रष्ट, नालायक, चोर, घुसखोर आदि मात्र ।
यसै के भनिदियो कुन्नि, भनाभन सुरु भएछ । एक, दुई, तीन... हुँदै एकैछिनमा दुई सयजति भेला भइहाले, दुवै पक्षका ।
भनाभनले हात हालाहालकै रूप लिएछ । सन्तान धेरै भएपछि सम्हाल्न गाह्रो । २०३० सालयता सन्तान बढ्ने क्रम नरोकिएको पार्टीले बुढेसकालमा अर्को सन्तान जन्माएछ । सन्तानका नाम पनि हिन्दी सिनेमाका झैँ डिक्सनरीमै खोज्नुपर्ने जस्तो भएको छ । माइनस (–) अगाडि थपिएछ पार्टीको नाममा ।
पछिल्लो सन्तान भएर होला, निकै पुलपुलिएजस्तो (हो कि वा मात्तिएको ?) लाग्छ । के के उद्दण्ड गरिरहन्छ । सानातिना कुरामा बखेडा झिकिरहन्छ । चुस्सचुस्स चलाउँछ, दाजुभाइलाई मात्र होइन, छरछिमेकीलाई पनि ।
oooo
‘आफू भण्डारमा बस्दा मोजमस्ती गर्ने । डकार आउन्जेल घिच्ने । अहिले हामी भ्रष्ट ? हामी ठग ? हामी नालायक ?’, भनाभन हुँदा सुनिएको ।
‘मूल भण्डारको साँचो बोक्ने तँ, कसले खान्छ त अरू ?’
‘घिच्ने बेलामा दुवै मिलेर घिच्यौ, अहिले ओकल्छौ अपराध !’, द्रष्टा मनमनै संवाद गर्छ, ‘पानीमाथिको ओभानो हुन खोज्छन् बेइमानहरू ।’
oooo
‘मुचुल्का तयार पार्नुस् सई साब !’, विचरा हतारहतारमा आइपुगेका प्रहरी निरीक्षक (दुई किलोमिटरको दूरीबाट ५ घण्टापछि) झट्पट काम सुरु गर्न खोज्दै छन् ।
(नेपालको सुरक्षा व्यवस्था सुदृढ भएको उदाहरण) ।
‘५ जनाको हत्या भएको रहेछ साब !’
‘नामथर, ठेगाना, उमेर स्पष्ट पार्नुस् ।’
‘हस् साब !’
oooo
सरजमिन गरियो । बयान पनि लिइयो । भीडन्तमा मारिएको बयानबाट थाहा पाइयो । मारिएका मान्छेको स्पष्ट पहिचान भयो । हत्यारा थाहा भएन अथवा भनूँ न, चिनिएन । भीडभाडमा स्पष्ट भएन ।
(बयानमा प्रत्यक्षदर्शीले देखेको कुरा न भन्ने हो, भीडन्त मात्र देखियो, हत्यारा देखिएन, के लाग्छ ?)
चाँडै आउँछु
यही बाटो हुँदै गएको थियो, चाँडै आउँछु भनेर ।
‘नजाऊ न मलाई एक्लै छाडेर’, रुँदै भनेकी थिई उसले, ‘आखिर यहीँ बसौँला, दुःखजिलो गरेर बाँचौँला ।’
‘दुई वर्ष त हो नि, अलिकति कमाएर ल्याउँछु अनि कुनै पेसा गरौँला’, सम्झाउँदै भनेको थियो, ‘पछि सन्तानका लागि जोहो गर्नुपरेन ?’
त्यसो त सुनमायालाई पनि आफ्नो नामजस्तै पहेँलपुर गहना लगाएर सुनपरी हुने इच्छा नभएको कहाँ हो र ?
oooo
समय हो, बित्छ, जोवनजस्तै । कलकलाउँदो बैँसले कोल्टे फेर्दै गएको छ । सुनमायाका गालामा धर्सा देखिन थालेका छन्, बुढ्यौलीका होइन, उमेरका । त्यसो त उति बूढी भएकी होइन ऊ, भर्खरै पूरा गरेकी हो चालीसौँ बसन्त ।
२२ वर्षकी हुँदा परदेसिएको लोग्ने । ओहो, १८ वर्ष भइसकेछ । छोरो १८ वर्षको भइसक्यो, छोरीको विहे गर्ने बेला भइसक्यो । लोग्नेको अत्तोपत्तो छैन ।
oooo
खबरका नाउँमा चिठी आउँथ्यो ४ वर्षजति । कतारमा छु, राम्रै छ, काम पनि कमाइ पनि भन्ने लेख्थ्यो चिठीमा । तर लोग्नेको कमाइ देख्न पाएकी छैन सुनमायाले । त्यसपछि न त चिठी आएको छ, न कुनै खबर ।
oooo
एक्लैले हुर्काई २छोराछोरी । कमाइ गर्ने ३ रोपनी पाखो, कोदो र आलु मात्र फल्ने । त्यसो त दिउँसो मेला जान्थी गाउँलेकहाँ, मकै पिठो आउँथ्यो । त्यही खुवाउँथी सन्तानलाई ।
सुनमायाले लोग्नेको खोजी गरिदिन कतारमा रहेका गाउँछिमेक र चिनजानका सबैलाई अनुरोध गरी । कसैले पनि पत्ता लगाउन सकेनन् । कसैले पनि भेटेको कुरा गरेनन् ।
oooo
अलिक जिद्धी हो कि मुडी थियो धनबहादुर । नामअनुसारको सम्पत्तिको धनीचाहिँ थिएन (धन भए किन विदेश जानुपथ्र्यो ?) । मनको चाहिँ धनी नै हो भन्नुपर्छ । जिद्धी र मुडी भए पनि सहयोगी र भावुक थियो ऊ ।
oooo
देशमा द्वन्द्व अन्त्य भएको छ, छिटपुटबाहेक । सशस्त्र द्वन्द्वरत माओवादी शान्तिपूर्ण राजनीतिमा आइसकेको छ, आइसकेको मात्र होइन, सत्ताको मह चाटिसकेको छ । भर्खरै सरकारले बेपत्ता आयोग बनाएको छ । आयोगले प्रथम चरणमा बेपत्ताको सूची प्रकाशन गरेको छ । सुनमायाले सुनी, धनबहादुरको नाम पनि त्यस सूचीमा समावेश छ ।
पत्याइन, विदेश गएको लोग्ने कसरी स्वदेशमै बेपत्ता हुन्छ ?
oooo
नपत्याएर के गर्नु ? भएछ यस्तै । हिन्दी सिनेमा झैँ लागिरहेछ ।
विदेश जान हिँडेको धनबहादुरले, काठमाडौँ जाँदा गाडीमा सँगै एकजना साथी भेट्टाएछ । परिचयपछि केही हार्दिकता र आत्मीयता गाँसिएछ । आफ्ना समस्या र विदेश जानुपर्नाका कारणबारे भलाकुसारी भएछ । साथीले यस्ता लक्का जवानहरू विदेसिनु नहुने, स्वदेशमै केही गर्नुपर्ने अर्ति सुझाएछ ।
कतारमा पुगेर केही वर्ष सङ्घर्ष गरेछ । राम्रो कम्पनी, काम पनि राम्रो र तलब सुविधा पनि राम्रो भनेर दलालले फसाएको कुरा कतार पुगेपछि मात्र चाल पाएछ उसले । केही समयसम्म सुकुटी बनाउने गर्मीमा मरीमरी काम गरेछ । पैसा खान र बस्न पनि धौधौ पर्ने गरी मात्र कमाइ हुने । सोचेछ, आखिर यत्ति दुःख गरेर यहाँ बस्नु भन्दा त स्वदेश फर्कनु बेस । सन्तानका लागि केही जोहो होला भनेर अर्काको देशमा आएको, खै त के कमाएँ ?
अचानक सम्झेछ, घरबाट काठमाडौँ आउँदा भेटिएको साथी । मुडी मान्छे छिट्टै हौसिन्छ, छिट्टै रिसाउँछ । उक्त साथीको कुरा ठीकै लागेछ धनबहादुरलाई र स्वदेश फर्किने निधो गरेछ, रित्तो हात ।
एक दिन दिनभर धनबहादुर काठमाडौँमा त्यही साथीसँग बसेछ । साथीले राजनीतिमा लाग्न सल्लाह दिएछ । आफ्नो र परिवारको भविष्यको जिम्मा पार्टीले लिने बताएछ । क्रान्ति सफल भएमा देश र जनताको पनि हित हुने, आफूलाई पनि फाइदा हुने (राजनीतिक योगदानका आधारमा) बताएपछि धनबहादुर भर्खरै सुरु भएको माओवादी जनयुद्धमा होमिएछ ।
oooo
भूमिगत रूपमा रहेको राजनीतिक दल, जसले सशस्त्र जनयुद्धको घोषणा गरेको छ, थाहा पायो भने सरकारले सिध्याइदिन्छ । अरू त अरू आफ्नै परिवार भनूँ न श्रीमतीलाई पनि जानकारी दिएनछ । विदेश गएको कुरामै विश्वस्त पारेछ ।
oooo
पार्टीमा लागेपछि पार्टीले दिएको जिम्मेवारी पूरा गर्नु कर्तव्य हो । केही समय पार्टीका औपचारिक अनौपचारिक कार्यहरूमा सहयोगीका रूपमा काम गरेपछि सेनामा प्रवेश पाएछ, लालसेना । आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्दै आएपछि कमाण्डरसम्म बनाएछ पार्टीले ।
oooo
पार्टीले दिएको जिम्मेवारी बहन गर्दागर्दै चौकी आक्रमणका क्रममा भएको भीडन्तपछि बेपत्ता भएछ धनबहादुर ।
सरकारले सार्वजनिक गरेको बेपत्ता नागरिकको सूचीमा उसको फोटोसहित छापिएको नाम देखेपछि कसरी नपत्याउनु ?
सुनमाया मास्तिरको बाटो देखाउँदै भन्दै छे, ‘यही बाटो हुँदै गएको थियो, चाँडै आउँछु भनेर ।’