Khabarpato logo

         

बहस

नेता नेपाल कहिलेसम्म ओलीसँग सिँगौरी खेल्ने ? विकल्प छैन र ?

आकाश शर्मा

आकाश शर्मा

नेता नेपाल कहिलेसम्म ओलीसँग सिँगौरी खेल्ने ? विकल्प छैन र ?

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टीले ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाटै निलम्बन हुनेगरी कारबाही गरेको छ ।
नेपाल र रावलले पेस गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उक्त कारबाही गरिएको जानकारी गराइएको छ । वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावललाई आफ्ना क्रियाकलाप सच्याएर पार्टीका पक्षमा लाग्न अन्तिम मौका दिइएको समेत उल्लेख गर्दै विचार र क्रियाकलापहरू सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधि बीचमा पनि घटाउन सक्ने तर सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टीविरोधी गतिविधिहरू कायमै राखेमा निलम्बन अवधिको बीचैमा थप कारबाही गर्न सकिने भनी धम्कीयुक्त चेतावनी पनि दिइएको छ ।

एमालेले विगतमा त्यही पार्टीको बागडोर १५ वर्षसम्म सम्हालेका नेता नेपाललाई स्पष्टीकरणमा सोधिएअनुसार आफ्नो भूल, त्रुटिको स्वीकारोक्ति नगरेको, कुनै आत्मसमीक्षा नगरिएको, आत्मआलोचना गर्ने कुनै प्रवृत्ति नदेखिएको, अहंकार, आत्मकेन्द्रित र स्वार्थी प्रवृत्ति प्रष्ट रूपमा देखिएको,  आफ्नो स्वार्थका लागि देश, जनता र पार्टीको हितलाई जस्तोसुकै क्षति पुर्‍याउन तयार भएको, आपराधिक मनोवृत्ति प्रष्ट रूपमा थप पुष्टि भएको,  आपराधिक क्रियाकलापहरू स्वीकार्ने, भूल सुधार गर्ने, पार्टी एकता तथा पार्टीको निरन्तर विकास र उन्नतिका लागि पार्टीमा समाहित हुने साथै विगतमा भए गरिएका गलत तथा आपराधिक क्रियाकलापहरूप्रति प्रायश्चित गर्ने अवसरलाई गम्भीरताका साथ लिनुको सट्टा उल्टै स्पष्टीकरण सोध्नेजस्तो अनधिकृत र हास्यास्पद कार्य गरेको आरोपमाथि आरोप लगाइएको छ । 

उता, वरिष्ठ नेता नेपालले भने त्यस्तो कारबाहीको कुनै तुक नभएको भन्ने आसयको  प्रतिक्रिया दिएका छन् । नेता नेपालले देशभरका कार्यकर्तालाई उच्च मनोबलका साथ केपी ओलीको तानाशाहीको विरुद्धमा जुध्नका लागि र क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्न आह्वानसमेत गरेका छन् । पार्टी एवं संसदीय दलका पार्टी निहित हुनुपर्ने अधिकारहरु कुनै तानाशाहले झैँ आफूमा केन्द्रित गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल खेमाका नेताहरूमाथि अनुशासनको भनेर कारबाही थालेका छन् । उपाध्यक्ष भीम रावललाई पनि पार्टीको सबै जिम्मेवारीका साथै पार्टी सदस्यबाटै ६ महिना निलम्बन गरिएको छ ।

नेपाल खेमाले केही जिल्लामा समानान्तर कमिटीसमेत  बनाउँदै पार्टीको मूलधारलाई चुनौती दिँदै आएको थियो । यस प्रकारको गतिविधिले उक्त खेमाको पनि ओलीको पार्टी छोड्ने मनसाय रहेको संकेत गर्छ । पार्टी र पार्टी एकताको उधुम माया लागेर नभएर ओलीले पार्टीको अधिकार निरंकुश ढंगले आफ्ना हातमा लिएको हुनाले तलदेखि माथिसम्म सांसदलगायत आफ्ना खेमाका जनप्रतिनिधिको पद अध्यक्ष ओलीले खाइदिने डरले मात्र उक्त खेमा ओलीको टर्रो बोली र व्यवहार चबाउँदै टाँसिन आएको सबैलाई थाहा छ । उल्लेखित लोभले ग्रसित नभएका भए एमाले पार्टीबाट अलग भएर माओवादी केन्द्रसँग सहकार्य गरी ओलीलाई एक्ल्याउन सक्थे । ५० वर्षभन्दा बढी आफ्नो सक्रियतामा विकसित भएको पार्टी एमालेका नेता, कार्यकर्ता समक्ष आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै पुनः संगठित गरी अगाडि बढेका भए नेता नेपालको त्यति लामो राजनीतिक लगानीको इज्जत रहन्थ्यो । 

यो कार्यकालमा ओलीलाई कुर्सी छोडाउन कठिन छ । किनभने नेपाल-खनाल खेमाका सांसदको पद पार्टी कारबाहीमा परेर खारेज भए पनि जनता समाजवादी ओलीसँग जोडिउन्जेल ओली टसमस हुनेवाला छैनन् । कि त घरबारी नै दाउमा राखेर ठूलै पोको कोसेली बोकेर समाजवादीको शरणमा जानुपर्‍यो वा चुप लागेर आगामी चुनावसम्म आफ्नो नयाँ पार्टीलाई सुदृढ गर्दै पर्खिनुपर्‍‍‍यो । ओलीले यसो गरे, उसो गरे भनेर नेपालका वरिष्ठ क्रान्तिकारी राजनीतिज्ञले रुन्चे अनुहार बोकेर भौँतारिन सुहाउँदैन । साँच्चै ओलीले राष्ट्र सिध्याउन खोज्दै छन्, कुनै ठूलै राष्ट्रहितविपरीत हुने खालको उथलपुथल  ल्याउने योजनाको आफूलाई जानकारी भएर पीडाबोधले छट्पटी भएको हो भने त्यस्तो कुरा जन समक्ष प्रष्ट रूपमा राख्नुपर्‍‍‍यो । इतिहासमा स्थापित उदाहरण छन्, सुई गरेर सुसेल्दा लाखौँ नेपाली जनता सडकमा जम्मा हुन सक्छन्, सिंहदरबार, बालुवाटार, दरबार सबै एकसाथ घेराउ गरेर जस्तै शासकलाई हुत्याउन सक्छन् । २५० वर्षे शाह वंशीय संस्था रिसको झोँकमा उखेलेर फाल्न सक्ने नेपाली जनता (प्रतिनिधि)ले कलिला तानाशाह ओलीलाई तह लगाउन उत्रो मिहिनेत गर्नु नपर्ला । तर, भन्नुपर्‍‍‍यो नि, ओली, नेपाल र रावलहरूका लागि मात्र होइन, देशैका लागि घातक छन् । उपाध्यक्ष रावलले भनेझैँ । तर, प्रष्ट भन्न सक्नुपर्‍यो, भन्नुपर्‍‍‍यो- उनको फलानासँग 'होली वाइन'को रिलेसन छ, अर्कासँग अर्को खालको गहिरो रिस्ता छ, यहाँ उनको अवैधानिक नाताको संजाल छ- त्यसैले उनी खराब छन् । नेपाली जनता ओली त के, इदि अमिन र हिटलर जस्तालाई पनि निचोर्न सक्षम छन्- गोर्खाली हुन् । 

बिनातुकको कुरा गरेर, रोइकराइ गरेर परपीडनद्वारा आनन्द प्राप्त गर्ने प्रवृत्तिका केपी ओलीलाई अधिक आनन्दित तुल्याउनु र आफ्नै छाला चाउरी पार्नुबाहेक हुनेवाला केही छैन । त्यत्रा बढा नेताले समग्र मुलुकका समस्यामा केन्द्रित हुनपर्नेमा ससाना कुराको शोक मनाएर समय खेर फाल्नुले अक्षमताको गन्तव्यलाई दर्शाउँछ । उही 'देश न शेष, आफ्नो दुनो सोझ्या पासा' भन्ने धारणा भए नेपाली जनताको नेताको रुन्चे हविगत देखेर लजाउनुपर्ने हुन्छ । २०२६ सालदेखि हालसम्म ५० वर्ष सक्रिय राजनीति गरेका माधवकुमार नेपाललाई जाबो एउटा पदको लोभले बिचलित गर्‍यो भने सर्वसाधारणले के सोच्ने ? यसर्थ, आफ्नो नेतृत्व क्षमता देखाउंँदै आरोप प्रत्यारोप छाडेर सशक्त कदम अघि बढाउनु बुद्धिमानी होला । गाली र प्रतिगाली त रक्तबीज जस्ता आवेगहरू हुन्, तिनलाई 'एक्सन'ले मात्र नियन्त्रण गर्न सक्छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

थाहा नपाउँदै लोकतान्त्रिक राजनीतिको नशा सुरुभएछ-कक्षा ६ पढ्दा ।सायद मैले पढेको विद्य…

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

सरकारी कामकाजका सिलसिलामा कर्मचारी र सेवाग्राहीका बीच घुसको लेनदेन भएको दाबीका सा…

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

विश्व खाद्य मुद्रास्फीति भनिने नयाँ महामारीको चपेटामा छ । विगत २ वर्षयता कोभिड- १९ म…

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

डा. लक्ष्मीप्रसाद खतिवडा डाटाको कुरा गर्दा कम्प्युटर प्रणालीमा गणितीय ढाँचा (फर्म्याट)मा…