कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा पर्यटन गतिविधि सहज हुन थालेको छ ।
कोरोना महामारीका कारण नेपाल सरकारले गरेको बन्दाबन्दीपछि हालसम्मकै सबैभन्दा धेरै विदेशी पर्यटक मार्च महिनामा नेपाल भित्रिएका छन् ।
अध्यागमन विभागले सार्वजनिक गरेको मार्च महिनाको तथ्याङ्कअनुसार १ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विभिन्न १३८ देशबाट १४ हजार ९७७ विदेशी नागरिक नेपाल भित्रिएका छन् । तीमध्ये ११ हजार २ जना पुरुष, ३ हजार ९६३ जना महिला र १२ जना अन्य नागरिक छन् ।
विभागको तथ्याङ्कअनुसार १ महिनामा सबैभन्दा धेरै भारतबाट ७ हजार ६५८ पर्यटक नेपाल भित्रिएका छन् । तीमध्ये ६ हजार १६९ जना पुरुष, १ हजार ४७७ जना महिला र १२ अन्य नागरिक छन् । यसैगरी चीनबाट १ हजार २०७ जना पर्यटक नेपाल भित्रिएका छन्, जसमा १ हजार २९ जना पुरुष र १७८ जना महिला छन् ।
१ महिनामा अमेरिकाबाट १ हजार ५६ पुरुष र ६४७ जना महिला गरी १ हजार ७०३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । विभागको तथ्याङ्कअनुसार गत जनवरीमा ८ हजार ८७४ जना र फेब्रुअरीमा ९ हजार १४६ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । गत फेब्रुअरीको तुलनामा मार्च महिनामा झण्डै ५ हजार जना बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
यसैगरी १ महिनामा ९ हजार ५८७ जना विदेशी पर्यटक स्वदेश फर्किएका छन्, जसमा ६ हजार ६६३ जना पुरुष, २ हजार ९१३ जना महिला र ११ जना अन्य नागरिक छन् ।
यस्तै, १ महिनामा ४९ हजार ५ जना नेपाली विदेश गएका छन्, जसमा ४० हजार ५६ जना पुरुष, ८ हजार ८४८ जना महिला र १ जना अन्य नागरिक छन् । १ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ७१ हजार २७० जना नेपाल भित्रिए भने ५८ हजार ५९२ जना बाहिरिएका छन् ।