Khabarpato logo

         

कला/साहित्य

पिगाल यौन बजारमा रुमल्लिँदा

दामोदर पुडासैनी 'किशोर'

दामोदर पुडासैनी 'किशोर'

पिगाल यौन बजारमा रुमल्लिँदा

बर्संदै गरेको हिउँसँगै बिहानै ब्युँतियो ब्रसेल्स । ‘हिउँका भुवा शुभसङ्केत हुन्’, चन्दजीले भन्नुभयो । बिदाइमा जुट्नुभयो अम्बिकाजी, भण्डारीजी र चन्द दम्पती । एउटा परिचय र एउटा साइनो साटासाट गरेर छोडियो उहाँहरूलाई ।

वाटरलुबाट प्रस्थान गरेको १५ मिनटमै ट्राफिक जाममा फसियो । समयमै रेलवे स्टेशनमा नपुगिने हो कि भन्ने डर जब्बर बन्यो । ब्रसेल्सका कुनाकुनासँग मितेरी लगाइसकेका हाम्रो गाडीका चालक चतुर थिए । शहर छाडेर जङ्गलभित्रको बाटो रोजे । पुर्‍याए निश्चित समयमै रेल स्टेसन ।

बेल्जियमबाट फ्रान्सको राजधानी पेरिस जाँदै थियो रेल । रेलका डब्बाभित्रको न्यानोमा भर्खर कोरलिएका बच्चाले परेवाको ओथारा पाएझैँ लागिरहेथ्यो ।

बिहान ९ बजेर १० मिनेट जाँदा ब्रसेल्सको मिडी स्टेसनबाट रेल चढ्यौँ- पेरिसको नर्ड  स्टेसनका लागि । थालिज रेलवेको त्यस रेलबाट ब्रसेल्सदेखि पेरिससम्म १ घण्टा २५ मिनेटको यात्रा तय गर्न ७४.५० युरो भाडा भुक्तानी गरेर अघिल्लो दिन नै टिकट किनिसकेका थियौँ ।

रेल दौड्यो । दायाँबायाँ हरिया चौर, कृषि फार्म, जङ्गल र बस्तीहरू पार गर्दै सललल बगिरह्यो रेल । कतैकतै ऐँजेरु पलाएका रूखहरू देखिन्थे । रूखहरूले ऐँजेरु च्यापेका थिए । ऐँजेरु ऐँजेरु मात्र थिएन, रङ्गीन फूलहरू र मल्लिडो जत्रा ससाना फलहरू पनि लागेका थिए ।

जिन्दगीमा ऐँजेरु पलायो भने अपाङ्ग बन्न बेर लाग्दैन । ऐँजेरुमा पनि फूल फुलेको देखेर दुःखमा पनि मुस्कुराउनुपर्ने यथार्थ उज्यालियो ।

चौरमा हरियाली छ । खेतमा कतैकतै हिउँ छरिएका तरेलीहरू छन् । कुलेसाहरूमा रेखी बसेको छ- चामलको पिठो जस्तो । भुइँमा हरियो गलैँचा बिछ्याएजस्तो लाग्छ, आँखाको नापोले भ्याएसम्म । तर, हिउँले खाएर भर्खर बग्रेका रूखहरूमा पात छैन । धुुस्रोफुस्रो जमातबीच बाँचिरहेछ जङ्गल । पिपिराहरू मुखमुखमा च्यापेका जङ्गलहरू उत्साहित छन्, हिउँलाई हराएकामा उमङ्गित छन् ।

गाउँहरू देखिन्छन् । हाम्रा गाउँहरू जस्ता ढुंगाका बगर बनेका छैनन् गाउँहरू । राम्रा सडकहरूको अङ्कमालमा छन् । सफा र पर्याप्त जग्गाको माझमा उभिएका छन् गाउँहरू । गाउँहरू ढसमस्स देखिएका छैनन् ।

तँछाडमछाडको कालो राग तेर्सिएको छैन । हरिया आँकुरा र स्वादिला सिलसिलामा समुद्री शैली बोकेर बाँचेका छन् गाउँहरू ।

१० बजे बेल्जियम छाडेर फ्रान्स प्रवेश गरियो । सिमसिम पानी सुरु भयो फ्रान्सको किनारदेखि नै ।

रेलभित्र हामी ४ जनाको गफले हल्लाको रूप लिन्थ्यो घरिघरि । कर्णजी पछाडि बस्ने एक जना जापानी जस्तो लाग्ने सहयात्री बेलाबेलामा हाम्रो हल्लाले आँखा तान्थे । म कर्णजीलाई सजग गराउँथेँ । 'यो सारौटेहरू भेला भएको साँझको बाँसको झाङ होइन बुझ्नुभो ?', एक पटक त अलिक बेस्सरी नै भनेँ मैले उसलाई । 

मेरो बगलमा एउटी युवतीले पढिरहिन् पुस्तक, यात्राको अवधिभर । हाम्रो हल्लाको मतलब थिएन तिनको ध्यानमग्नतालाई ।

युरोपेलीहरू सकेसम्म अरूको कुरातिर ध्यान दिँदैनन् । बस, रेल वा विमानको यात्रामा पढिरहन सक्ने उनीहरूको बानी अनुकरणीय छ । अग्लाअग्ला कलात्मक शैलीका पुराना घरको छेउमा पुगेपछि पेरिसमा रेल रोकियो, १० बजेर ३० मिनेट जाँदा । 

पानी बर्सिरह्यो । चिसोले मुटु टोक्दै थियो । औँलाहरू कठ्याङ्ग्रिइरहे । रेलवे स्टेसनको प्लेटफार्मका ठाउँठाउँमा ठूलाठूला हिटरहरू बालिएका थिए । मान्छेहरू उभिएरै हात सेकेर अघि बढ्थे । हातहरू ततायौँ । मनमा राहतको संचार भयो ।

२ कारसहित हामीलाई कुरिरहनुभएका नेपाली राजदूतावास फ्रान्सका तृतीय सचिव श्री सागरप्रसाद फुयाँल झ्वाट्ट भेट्टिनुभयो, रेल स्टेसनको बाहिरपट्टि ।

कारहरू राजदूतावासतर्फ लागे । सयौँ वर्ष अगाडि बनेका पेरिस शहरका घरहरू भर्खर बनेका जस्ता सुन्दर देखिन्थे । सडकका दुवै किनारमा कारहरू पार्क गरिएका थिए । बीचमा गुडिरहेका थिए- ठूलासाना सवारी साधन ।

‘यो पाथ नामको सिनेमा हल हो । एकै पटक २५ देखि ३० वटासम्म सिनेमाको प्रदर्शन हुन्छ यहाँ’, दूतावासका कर्मचारी गामिनीले बताउनुभयो । पाथ सिनेमा हल पार गर्नेबित्तिकै ८ लेन र बीचमा रूखहरू रहेको ठूलो सडकमा प्रवेश गर्‍यौँ । 

पेरिसका प्रायः सबै घरमा ससाना बार्दलीहरू छन् । गुम्बजको आकारका झ्यालढोका छन् । टम्म मिलेका घरहरूको बीचमा हिँड्दा आफू हराउँला जस्तो लाग्ने । मान्छेहरू ओभरकोटयुक्त पहिरनमा । अहिले पो यस्तो । गर्मी समयमा त अर्धनग्नताको चरम सीमामा हिँड्छन् पेरिस निवासीहरू’, सागरजी पेरिसको यथार्थ प्रस्ट्याउँदै हुनुहुन्थ्यो ।

नेपाली दूतावासमा राजदूत प्रज्ज्वलशमशेर ज.ब.रा. र काउन्सेलर निरञ्जनमानसिंह बस्नेतसँग भेटघाट भयो । केहीबेर कुराकानी भएपछि कार्यालयगत काम गर्‍यौँ । काम छिटो सक्नु थियो । फुर्सद मिले घुम्नु थियो । बढीभन्दा बढी काम गर्‍यौँ । 

राजदूतकी धर्मपत्नी सिन्धु राणासँग भेटघाट भयो । उहाँहरू दुवै जनाको व्यवहारमा सरल, मिलनसार र सहयोगी स्वभाव झल्किने । सिन्धु राणा नाट्य सम्राट् बालकृष्ण समकी नातिनी पर्नुहुन्छ । उहाँका ‘अत्तरको फूल झरेर जान्छ माया त मर्दैन’, ‘भो मायाको कुरै नगर’ जस्ता धेरै गीतहरू चर्चित भई ८ वटा एल्बममा अङ्कित भइसकेका छन् । 

खाना खाने क्रममा उहाँसँग गीत, सङ्गीत र साहित्यबारे धेरै कुराकानी भए । राजदूत पनि राम्रो गीतकार हुनुहुँदो रहेछ, राष्ट्रिय भावनाका गीतकार । मैले केही हाइकुहरू सुनाएँ । खाना थपीथपी खुवाइरहनुभयो राजदूत दम्पत्तीले ।

‘तपार्इं त साह्रै मीठो लेख्नुहुँदो रहेछ, हामी पनि नेपाल फर्केपछि संस्थागत रूपमै अरू थप काम गर्नुपर्छ है साहित्य र सङ्गीतको क्षेत्रमा', गीतकार सिन्धु राणा हामी बाहिर निस्किने वबलामा बोल्नुभयो ।

सजेलिजे भन्ने स्थानमा विजयद्वारको निर्माण गरे फ्रान्सेलीहरूले । त्यो 'आर्क द ट्रिम्फ' नामले पनि चिनिन्छ । सत्रौँ शताब्दीमा नेपोलियनले निर्माण गराएको यस स्मारकलाई पहिलो र दोस्रो विश्वयुद्धपछि अरू आकर्षक बनाइयो । फ्रान्सका ज्ञात तथा अज्ञात शहीदहरूको स्मारक पनि हो यो । विजयद्वारको अगाडि र पछाडि युद्धका बाध्यता र युद्धबाट विजय झल्किने मूर्तिकला अङ्कित छन् । 

एउटा मूर्तिमा युवक हतियार उठाएर युद्धमा जान खोज्दै छ । बच्चा बोकेकी उसकी पत्नी र उसका बाबु-आमा युद्धमा जान रोक्दै छन् । तर, युवक बढिरहन्छ युद्धमा र विजय हासिल गर्छ । ‘युद्ध रहर होइन, बाध्यता हो । युद्धमा प्रवेश गर्नेले हटेर होइन, डटेर सामना गर्नुपर्छ’ भन्ने भाव झल्किन्छ फ्रान्सको विजयद्वाबाट ।

हामी अङ्ग, प्रत्यङ्ग खोतल्न खोज्दै थियौँ । बादलले पेरिसलाई ढाकिरहेको थियो । सिमसिम बर्सिन्थ्यो घरिघरि । मलाई असार-साउनमा धुन्चे वरिपरि वा पाँचमानेको डाँडाबाट तारकेश्वर जाँदा कुहिरोभित्र हिडिरहेझैँ लाग्दै थियो ।

हामी पेरिसको उच्च विन्दु मोँमार्त पुग्दा कुहिरोभित्रै मान्छेहरू कुइरीमण्डल रूपमा भेला भएका थिए । वसन्ती बगैँचाका फूलझैँ भरर्र भेला भएका थिए युवा र युवती । जाडो सही नसक्नु खालको थियो । असङ्ख्य युवतीहरू अर्धनग्न रूपमा पनि उपस्थित भएका थिए ।

धेरैजसो युवा र युवती परेवाका जोडी भएर पुगेका थिए । चुच्चो-चुच्चो जुधाउँथे । एकले अर्कोलाई मुसार्थे र कैद गर्दै थिए क्यामेरामा ती अविस्मरणीय क्षणहरूलाई । मोँमार्त ठ्याक्कै स्वयम्भू जस्तै बसेको थियो । ‘यो त स्वयम्भू हो नि’, जनार्दनजीले दाँज्नुभयो । ‘हो हगि ! साँच्चै स्वयम्भू जस्तो’, सागर फुयाँलजीको सहमति । 

स्वयम्भूबाट काठमाडौँ नियालेझैँ मोँमार्तबाट पेरिस शहर नियालियो । हल्का हुस्सु पेरिस शहरलाई चुम्बन गरिरहेको थियो, त्यहीँ उपस्थित युवा र युवतीहरूझैँ । हामीले आँखा गाढीगाढी चारैतिर नियाल्यौँ । सेन नदीलाई पटुकी बनाएर बाँधिरहेको छ पेरिस । 

७-८ तल्ला तर सबैतिर एकनास टम्म मिलेका घरहरूले पेरिस बेग्लै पहिचानले युक्त बनिरहन्छ । त्यसबाहेक ६५ तल्लासम्मका घरहरू बीचबीचमा नारदका टुप्पी बनिरहेका थिए । संसारको सातौँ आश्चर्यमध्ये एक इफेल टावर आकाश छेडिरहेको थियो र मान्छेलाई उन्नतिको शिखरमा चढ्न आमन्त्रण गरिरहेको थियो । 

सेन नदीमाथि अलेक्जेन्ड्रिया जस्तो विश्वकै सुन्दर पुलमध्ये एक मात्र होइन, असङ्ख्य पुलहरू झुन्डिइरहेका थिए- सुन्दर माला जस्ता बनेर । शहरभित्र मान्छेका सागरलाई लिपिबद्ध रूपमा वारपार गराउन सयौँ आकाशे पुलहरू थिए । सडकहरू अष्टनाग जोल्ठिएजस्तो मिलाएर जोल्ठिइरहेका थिए । ट्राम, रेल, बस, कार सबै शालीनतासाथ कुदिरहेका देखिन्थे मोँमार्तबाट ।

मोँमार्तको उच्च विन्दुमा एउटा विशाल र अग्लो गिर्जाघर छ । गिर्जाघरभित्र असङ्ख्य इशाहरू प्रार्थना गर्दै थिए । मास्तिरको भित्ता (सिलिङ) र भित्री भित्ताहरूमा प्रभुको जीवनगाथा अङ्कित थिए । माथिको भित्ता (सिलिङ)मा राता रत्नहरू मिलाएर लालित्यपूर्ण चक्रको निर्माण गरिएको छ । 

त्यसलाई जीजस क्राइस्टको हृदय मानिँदै आएको छ । त्यसैले त्यस गिर्जाघरलाई ‘पवित्र हृदय’ वा साक्रे केयर भन्ने नाम दिइएको छ । भित्तामा मात्र होइन, शिराहरूमा पनि कलात्मक चित्रकारिताको अब्बल नमुना प्रस्तुत भएको छ । भक्तहरू प्रार्थना गर्दै थिए पुलकित बनेर । 'मोँमार्तमा इस्लामिहरूझैँ स्वयम्भूमा बौद्धमार्गीहरू ॐ माने पेमे हुम् जप्दै होलान् यतिखेर’, मलाई लाग्यो । आखिर सबैको कामना एउटै- सत्य र शान्ति ।

मोमार्त गिर्जाघरबाट अलिकति दायाँतिर बद्दा प्लास दु तेर्यमा क्यानभासको ताँती भेट्टियो । क्यानभास ठिक्क पारेर चित्रका लागि आमन्त्रण गरिरहेका थिए चित्रकारहरू । 

विश्वप्रसिद्ध चित्र ‘मोनालिसा’का कलाकार लियोनार्दो दा भिन्ची त्यस ठाउँमै कला साधना गर्थे । त्यसैले सबै कलाकार र अरू साधारणका लागि पनि पुजनीय ठाउँ बनेको थियो त्यो । मान्छेहरूलाई अघिल्तिर राखेर उनीहरूको चित्र ठ्याक्कै बनाइदिने कलाकारहरूको भीड थियो । आआफ्ना चित्र बोकेर आफ्नो गन्तव्यतर्फ लाग्नेहरूको कमी थिएन । 

जर्मनीकी एउटी युवतीले भर्खरै तयार भएको आफ्नो तस्बीर देखाउँदै मलाई भनी, 'यो चित्रमा के म ठ्याक्कै उत्रेकी छैन त ?'

मलाई धरमर भइरहेको थियो- साँच्चै युवती बोलिरहेकबि थिइन् वा उनको चित्र ?

‘तिमी अब यस चित्रमा सरिसकेकी छ्यौ’, मेरो भनाइले तिनमा उत्तेजना फैलियो । तिनी बोलिन्, 'साँच्चै हो ? त्यसो हो भने म चित्रकारलाई ५ युरो थपी पुरस्कार दिन्छु ।'

‘पोत्रे मेस्ये ?’,  झन्डै अङ्ग्रेजी सिनेमाकी सुन्दरी केट हड्सनझैँ लाग्ने तरुनी कुची र कट्टी दुवै हल्लाउँदै मेरो सामु उभिइन् । म 'पर्दैन' भन्दै अघि बढेँ । पल्लोपट्टि जोगीका जस्ता जगल्टा र दाह्री-जुँगा पालेको विटल ड्रमर रिङ्गो स्टाट जस्तै लाग्ने एउटा अधबैँसेको अघिल्तिर अङ्ग्रेजी चलचित्रकी नायिका एन्जेलिना जोली र सुपर मोडल केट मोस जस्ता अनुहार भएका २ युवतीहरू मुस्कान छरिरहेका थिए । अधबैँसे उनीहरूका नाक, कान, आँखा, कपाल, निधार सबैतिर आँखा टाँस्दै चित्रमा उनीहरूलाई सारिरहेको थियो ।

चित्र बनाउने र बनाइमाग्नेहरूको भेला नै थियो त्यहाँ । कोही झ्याङप्वाल भएको अमेरिका जिन्स कपडामा रङैरङले पोतिएका कपडा पहिरिएर प्राकृतिक अमूर्त चित्र पहिरिएको आभास दिइरहेका थिए । कोही कफी पिउँदै आफ्नो चित्र कोराउन मग्न थिए ।

सागरजीले मोँमार्त नजिक टाती नामको बजारमा उपयुक्त दाममा सामान पाइने कुरा बताउनुभयो । कुनै पनि नयाँ स्थानमा पुग्ने र सामान किन्ने अवसर गुमाएमा फेरि मौका पाउन गाह्रो पर्छ । त्यसैले यो मौका नगुमाउन १ घण्टा बितायौँ टाटीमा । केही अत्तर किन्यौँ । फ्रान्स भनेपछि अत्तरको देश, वाइनको देश, इफेलको देश, परीहरूको देश र फूलहरूको देश । अत्तर किन्ने रहर नै पुगेको थिएन । हतार भएकाले छिट्टै बाहिरियौँ ।

टाटीबाट निवासतर्फ फर्कंदा साँझ परिसकेको थियो । पिगाल शहरको बीचबाट फर्कंदै थियौँ हामी । सडक पेटीमा र घरका ढोकामा चम्किला शृङ्गार गरेका युवतीहरू ग्राहकको खोजीमा देखिन्थे । ‘यो यौन बजार हो’, हाम्रा चालक गामिनीले बताउनुभयो । पिगाल पेरिसको यौन बजारको रूपमा चिनिन्छ । मुला रुज, लिडो जस्ता विश्वप्रसिद्ध नाइट क्लबहरू पनि पिगालमै रहेका छन् । 

चुरोटको सर्को फुइँफुइँ फ्याँकिरहेका युवतीहरूका समूहहरू देखिन्थे सडक पेटीमा । राता बत्तीहरूले शहर रातो र तातो बनिसकेको थियो । चिसो परिवेशमा तातेर भौँतारिनेहरू ओहोरदोहोर गरिरहेका थिए । हामी भने अघि बढ्यौँ- मुला रुजलाई दायाँ पारेर सजिलिजेस्थित विजयद्वारको अघिल्तिर रहेको विश्वप्रसिद्ध सेफोरा  नामको अत्तर बजारमा ।

सेफोराको ढोकाबाट भित्र प्रवेश गर्नुअगावै वरिपरि सडक र पेटीमै मगमग अत्तर वास आइरहेथ्यो । आफूले किन्न चाहेको अत्तर शरीरमा छर्केर परीक्षण गर्ने चलन भएकाले सेफोरा पूरै अत्तरमय थियो । विश्वभरका सोखिन र धनीमानी मान्छेहरू आआफूलाई मनपर्ने र नयाँ शैलीका अत्तर किनिरहेका थिए । एउटा मूर्ति जस्तो आकारको सिसीमा राखिएको अत्तरमा आँखा पुगे मेरा । 

यूरो १५४५ (नेपाली रूपैयाँ झण्डै १ लाख ५० हजारभन्दा बढी) मूल्य पर्ने अत्तर रहेछ त्यो । साह्रै महँगा अत्तर सजिएका थिए तर किन्नेहरूको कमी थिएन । कतैकतै नङ सजाउने, अनुहार र शरीरलाई आकर्षक बनाउने (ब्युटी पार्लर)को काम खुला रूपले भइरहेको थियो अत्तर बजारको माझमा । उज्यालो प्रकाशले विश्वभरबाट ओइरिएका परीहरूको अनुहार चम्किरहेथ्यो । प्रकाश, पर्फयुम र परीको समागमले सेफोरामा स्वर्गको स्यानो झलक फैलिरहेको थियो ।

राती ९ बजे रात्रिभोज खाने निम्ता थियो राजदूत महोदयकहाँ । नेपाली सेनाका प्रधानसेनापतिसमेत बनिसक्नुभएकाले पनि होला राजदूत प्रज्ज्वलशमशेर ज.ब.रा. र उहाँकी धर्मपत्नीमा समयप्रतिको सचेतता असाध्यै देखिन्थ्यो । रात्रिभोजमा राजदूतले सैनिक जीवनका सुख-दुःखपूर्ण गाथा सुनाउनुभयो, नेपालीको एउटै जात नेपाली मात्र हो भन्नुभयो र भन्नुभयो, 'जहाँ रहे र जहाँ बसे पनि नेपाल कसरी माथि लैजाने भन्ने काममा दत्तचित्त बनौँ ।'

उहाँकी धर्मपत्नी सिन्धु राणाका गीतहरू सुन्यौँ, प्रेम भावका, राष्ट्रिय भावका र आध्यात्मिक भावनाका । त्यहाँ भोज थियो, साथमा भाषणको झल्को पनि । मिलनसारिता थियो र थियो आदेश र गर्जनका सैनिक शानमानका सुइराहरू ।

काउन्सेलर निरञ्जनमानसिंह बस्नेतको निवासमा रात बिताउनु थियो । इफेल टावरको फेदमै थियो उहाँको निवास । इफेल टावर रातमा झन् सुनौलो, झन् झलझलाकार सुत्ने कोठाबाट इफेल टावरको सौन्दर्य पिएँ । सौन्दर्यको उचाइ चढेँ । इफेलको सौन्दर्य जति पिए पनि प्यास मेटिएन । झलझलाकार बत्तीमा सजिएको इफेललाई चुम्बन गर्दै करीब ५०० फिट दूरीबाट र तयारी गर्दै छुृ विश्रामको । रातको १२ बजे इफेलको उचाइ अरू बढेझैँ लाग्यो ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…