यस पटकको नयाँ प्रजातिको महामारी गत सालको जस्तो सामान्य छैन । ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा र बान्ता हुने, एकदम थकान हुने, निद्रा लागिरहने, छालामा बिमिरा आउने, आँखा रातो हुनेमध्ये केही लक्षण मिलेमा तुरुन्त पीसीआर टेस्ट गर्नुहोला । यस पटक परिवारमा एक जना संक्रमित भएमा सबै संक्रमित हुने अवस्था छ तसर्थ कुनै लक्षण देखिएमा आइसोलेसनमा बस्नुहोला ।
संक्रमणको शंका लागेमा तुरुन्त पीसीआर टेस्ट गर्नुहोला ।सहेर वा हेरौँ भनेर अलमल नगर्नुहोला । जति छिटो रोग पत्ता लाग्यो, त्यति छिटो उपचार पाउने अवस्था हुन्छ ।
- पीसीआर पोजिटिभ आएमा गत साल जस्तो सप्लिमेन्ट (भिटामिन वा इम्युन बुस्टर) खाएर ढुक्क नहुनुहोला । यस पटक छिटो कोभिड निमोनिया हुने भएकाले तुरुन्तै नजिकको कोभिड अस्पतालको फिभर क्लिनिकमा जानुहोला । त्यहाँ चिकित्सकले तपाईंलाई परीक्षण गरेर आवश्यकताअनुसार छातीको एक्स रे, रगतको जाँच तथा सिटी स्क्यान गर्ने सल्लाह दिनुहुन्छ । यदि तपाईंको अवस्था खराब छ भने उहाँहरूले औषधि वा भर्नाका लागि सल्लाह दिनुहुनेछ । उहाँहरूको सल्लाह अक्षरशः पालना गर्नुहोला ।
- लामो समय ज्वरो आयो, खोकी लाग्यो, सास फेर्न गाह्रो भयो, खाना खान गाह्रो भयो वा अक्सिजनको स्तर ९४ भन्दा तल भइरह्यो भने घरमा नबस्नुहोला । यो अवस्थामा तपाईंलाई छातीमा संक्रमण भएको बुझ्न सकिन्छ । जति छिटो अस्पताल पुग्यो, त्यति छिटो भर्ना हुन नपर्ने एवं सजिलोसँग निको हुने अवस्था हुन्छ ।
- गत साल संक्रमण भएका वा यो साल खोप लगाएका व्यक्तिलाई संक्रमण हुन सक्छ । प्रजाति फरक भएकाले गाह्रो हुन सक्छ । मैले खोप लगाएको छु वा पोहोरको एन्टिबोडीले काम गर्छ भनेर लापरबाही नगर्नुहोला । अप्ठ्यारो भए तुरुन्त अस्पताल जानुहोला ।
- बालबालिका तथा युवालाई केही हुँदैन भनेर घरमा नबस्नुहोला । यस पटक बालबालिका र युवाको संक्रमण दर, गम्भीर हुने दर तथा मृत्युदर गत सालको भन्दा धेरै छ ।
- अस्पताल जाने बेलासम्म घोप्टो परेर सुत्नुभयो भने अक्सिजनको स्तर केही बढ्छ तसर्थ पेटको बलमा घोप्टो परेर सुत्नुहोला ।
- अस्पताल प्याक छन् भनेर नआत्तिनुहोला । अस्पताल जाँदैमा सबै भर्ना हुनुपर्दैन । प्याक भएका अस्पतालले अस्पतालबाहिरसमेत अक्सिजन दिएर उपचार गरिरहेका छन् ।
- चिकित्सकको सल्लाहबिना आफँै अक्सिजन लगाएर घरमा नबस्नुहोला । अक्सिजन उपचार होइन । निमोनिया वा अन्य छातीको संक्रमणको औषधि चलाउँदै अक्सिजन लगाउनुपर्छ । अक्सिजनको मात्रा चिकित्सकको सल्लाहअनुसार मात्र थपघट गर्नुपर्छ ।
- औषधि उपचार प्रत्येक व्यक्तिको फरक हुन सक्छ । एक जनालाई निको भएको औषधिले अर्को व्यक्तिलाई निको नहुन सक्छ तसर्थ स्वास्थ्यकर्मीबाहेकका व्यक्तिले सिफारिस गरेको औषधि सेवन नगर्नुहोला । कुनै पनि औषधिले कोरोना च्वाट्ट निको हुने वा लाग्न नदिने कुरा गर्छ भने त्यो गलत हो ।
- प्रतिरोध क्षमता बढाउनका लागि जथाभावी आयुर्वेदिक औषधि नखानुहोला । सम्बन्धित चिकित्सक तथा स्वास्थ्यकर्मीको सिफारिसअनुसार मात्र आयुर्वेदिक औषधि सेवन गर्नुहोला । आयुर्वेदिक औषधिले कोभिड निको हुँदैन । तपाईंको स्टामिना बढाउँछ । यस्तो बेला सबै चिकित्सा पद्दतिको एकीकृत उपचार प्रभावकारी हुन्छ ।
- यस पटकको संक्रमण निकै छिटो फोक्सोमा असर गर्ने किसिमको छ । ४-६ घण्टामा निकै बढी असर गर्न सक्छ । तसर्थ, भोलि अस्पताल जाऊँला भनेर नबस्नुहोला । निको भएका संक्रमितका कुरा सुन्नुहोला ।
- कुनै पनि चिकित्सकले औषधि चलाएको बेला पनि भित्रभित्रै असर हुन सक्छ । यो भाइरल संक्रमण भएको हुँदा एन्टिबायोटिकको भर पर्नुहुँदैन । यस्तो अवस्थामा एक पटक छातीको एक्स रे वा सिटी स्क्यान गर्नु सुरक्षित हुन्छ ।
- अस्पतालमा गम्भीर बिरामीप्रति चिकित्सकको ध्यान बढी हुन्छ तसर्थ नआत्तिनुहोला ।
- उपचार पश्चात पीसीआर नेगेटिभ आए पनि कोभिडले तपाईंका विभिन्न अंगमा असर गरेको हुन सक्छ ।
- चिकित्सकको सल्लाहअनुसार यसको पनि उपचार गरेर स्वास्थ्यलाभ गर्नुपर्ने हुन्छ ।
.
सरकारले जारी गरेका सूचना, सतर्कता तथा जनस्वास्थ्यका मापदण्ड पालनाबाट हामी संक्रमणबाट बच्नेछौँ । कृपया पटक्कै लापरबाही नगर्नुहोला । हामीले आफू, परिवार तथा समाजलाई संक्रमण हुन नदिनका लागि सतर्क बनौँ । सतर्क भएमा हामी अस्पताल जानुपर्दैन । (डा. पाण्डेको फेसबुकबाट)