Khabarpato logo

         

बहस

गण्डकी प्रदेशसभामा नौटंकी: बहुदलीय संसदीय व्यवस्थाको घोर उपहास

आकाश शर्मा

आकाश शर्मा

गण्डकी प्रदेशसभामा नौटंकी: बहुदलीय संसदीय व्यवस्थाको घोर उपहास

संघीय सरकार प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकारका विरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । गुरुङ नेतृत्वको सरकारका विरुद्ध परेको उक्त अविश्वासको प्रस्तावमाथि मतदान हुने दिन हिजो बुधबार गण्डकी प्रदेशसभामा विभिन्न खाले नौटंकीको मञ्चन गरेको देखियो, जुन दृश्यहरू प्रजातान्त्रिक संसदीय व्यवस्थाको सुदृढीकरणका लागि, बहुदलीय प्रजातान्त्रिक व्यवस्थामार्फत राष्ट्र विकास र सम्मृद्धिको दिशामा अघि बढ्न सक्ने अपेक्षालाई धुलिसात पार्नेगरी र नेपाली राजनीतिलाई 'फोहोरी खेल'को रूपमा चित्रण गरिँदै आइएकामा उक्त धारणालाई पुष्टि गर्ने गरी संसदीय राजनीतिक परिपाटीको खुलेआम रूपमा धज्जी उडाइएको छ ।

उल्लेखित ३ दलद्वारा बोलाइएको उक्त विशेष अधिवेशनको मंगलबारको दोस्रो बैठक सत्तारुढ नेकपा (एमाले)कै सांसदहरूले प्रदेशसभा सदस्यहरूको स्वाब संकलन गर्न माग गर्दै अवरुद्ध गरेका थिए । सत्तारुढ पार्टीका सांसदहरूको उक्त मागबमोजिम मंगलबार नै प्रदेशसभा सदस्यहरूको स्वाब संकलन गरिएको थियो । अविश्वासको प्रस्तावमाथि छलफल गरिसकेर बुधबार मतदान गर्ने कार्यक्रम राखिएको थियो । 

स्वाब परीक्षणको बुधबार बिहान आएको रिपोर्टमा  सांसदहरू राजीव पहारी, प्रभा कोइराला र मनकुमारी गुरुङसमेत ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तथापि, संक्रमित भएकाले पनि मतदान गर्न पाउने निर्णय गरिएका कारण अविश्वासको प्रस्ताव दर्ता गर्ने दलहरू ढुक्क देखिन्थे । त्यसपछि दिउँसो १ बजे सुरु भएको प्रदेशसभा बैठकमा अविश्वासको प्रस्तावमाथि छलफल सुरु भयो ।

अविश्वासको प्रस्तावको पक्षमा बहुमत पुग्ने र परिणाम स्वरूप गुरुङ नेतृत्वको सरकार ढल्ने बुझेर सत्ता पक्ष नेकपा (एमाले) प्रस्तावको छलफलमा बोल्न सहभागी हुने १८ जनाको लामो सूची पेस गरेको थियो । यसबाट मतदान हुने समय पर धकेलिने र त्यसबीचमा अनौठो घट्न/घटाउन सकिने आँकलन गरिएको हुन सक्छ ।

तर, बुधबार सत्तारुढ एमालेका सांसदहरूले बोल्ने क्रम जारी रहेकै बखत बोल्ने सूचीमा समाविष्ट रहेका इन्द्रधारा विष्ट र महेन्द्र थकालीले बोल्ने सूचीबाट नाम हटाउन चाहेको सभामुखले उल्लेख गरे । मतदानलाई पछाडि धकेल्न डेढ दर्जन सांसदको सूची प्रस्तुत गरेको एमालेले बोल्नका लागि सूचीवद्ध सांसदहरूको नाउँ फिर्ता लिन लागेको थाहा पाएपछि अविश्वासको प्रस्ताव ल्याएका ३ दलका नेता एवं सांसदहरू चकित भएका थिए ।

त्यसपछि एमालेले छिटो मतदान गराउन खोज्नुको कारण पहिल्याउदै जाँदा बैठकमा आउन ढिला हुने जानकारी गराएका जनमोर्चाका सांसद खिमविक्रम शाहीको खोजी भयो । उनको फोन स्वीच अफ भइसकेको बुझेपछि केही सांसदहरू नै उनलाई खोज्दै पोखरा जिरो किलोमिटर नजिकै रहेको उनको डेरामै पुगेका थिए । त्यहाँ पुग्दा शाहीका घरभेटीले शाही मंगलबारदेखि नै कोठामा नआएको जानकारी गराएका थिए ।

उता, बुधबारको बैठकमा उपस्थित माओवादी केन्द्रका सांसद दीपक कोइराला बैठक चलिरहेकै बेला बाहिर निस्किएका थिए । उनलाई फोन सम्पर्क गर्न खोजियो तर सम्पर्क हुन सकेन । सांसद कोइराला बाहिरिएको र उनीसँग संपर्क हुन नसकेको सूचना माओवादी केन्द्रका तर्फबाट सभामुख बनेका सभामुख अधिकारीसम्म पुग्यो र उनले तत्काल २० मिनेटका लागि संसद बैठक स्थगित गरिदिए । केही समयपछि झन्डै एकै पटक २ वटा सूचना आए- एउटा 'सांसद शाही कोरोना संक्रमण भएर आईसीयूमा भर्ना भएको' र अर्को 'अर्को सूचना नभएसम्सका लागि प्रदेशसभा बैठक स्थगित गरेको' सूचना ।

सांसद शाही कोरोना संक्रमित भएर अस्पताल भर्ना भएको समाचारले 'खेल'को भेउ नपाएका धेरैलाई चकित तुल्यायो । बुधबार बिहानै सबै सांसदको कोरोना परीक्षणको रिपोर्ट आइसकेको र तीमध्ये ३ जना सांसद्को मात्र पोजिटिभ आएकामा सांसद शाहीलाई कसरी र कहाँबाट कोरोना संक्रमण पुष्टि भयो र आईसीयूमा भर्ना हुन पुगे भन्ने कुरा चर्चा एवं खोजीको विषय बन्यो ।

त्यसपछि अस्पतालले शाहीको तस्बीर र कोरोना पोजिटिभ भएको रिपोर्ट सार्वजनिक गर्दै उक्त स्वाब फेवा सिटी अस्पतालबाट आएको उल्लेख गरेको छ । रिपोर्ट पोखरा न्यूरोडको निजी ल्याब लाइफ केयर डाइग्नोस्टिकको छ । तर, स्मरण रहोस, प्रदेशसभामार्फत मंगलबार दिउँसै सबै जनाको स्वाब लिएर क्षेत्रीय प्रयोगशाला पठाइएको थियो ।

सांसद शाहीले प्रदेशसभामा स्वाब दिएर निस्किनेबित्तिकै तुरुन्त फेवामा गएर किन स्वाब दिए होला ? प्रदेशसभाबाट दिएको स्वाबको रिपोर्ट नेगेटिभ र उताबाट दिएको स्वाबको रिपोर्ट पोजिटिभ कसरी ? के फेवाबाट लिइएको स्वाब अर्कैको, नामचाहिँ शाहीको हो ? यी प्रश्नहरूको उत्तर जति घुमाएर ल्याए पनि त्यही हो- सत्ताको घृणित खेल । जनमोर्चाकै नेता तथा सांसदले पनि 'शाहीकाण्ड'लाई 'सेटिङ'को उपमा दिएका छन् ।

६० सदस्य रहेको गण्डकी प्रदेशसभामा कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जसपाको जम्मा मत ३१ रहेको हुँदा ठिक्क बहुमत पुग्ने थियो । यसर्थ गुरुङ सत्ता मतदानपछि बुधबार नै ढल्ने पक्का जस्तै थियो । यसरी सांसद शाहीलाई कृत्रिम बिरामी बनाई, कोरोना महामारीको उपयोग एवं अस्पताल तथा परीक्षण केन्द्रहरूको समेत दुरूपयोग गर्दै आईसीयूमा भर्ना गरेर एमालेले मुख्यमन्त्री गुरुङको सत्ता टिकाउन खोजेको स्पष्ट देखिन्छ । 

अघिसम्म मतदान कार्यलाई पछि धकेल्न कम्मर कसेर लागेको एमालेले 'शाही योजना' कार्यान्वयन हुनेबित्तिकै 'यू-टर्न' लिएर यथाशीघ्र मतदान गराउन खोजेको थियो । तर, सभामुख अधिकारीले सभा स्थगित गरिदिएर एमालेको योजना विफल तुल्याइदिएका थिए । 

२० मिनेट बैठक स्थगित गरेका सभामुखले जनमोर्चाकी सांसद पियारीको निवेदनका आधारमा अनिश्चितकालका लागि संसद स्थगित गरिदिएका थिए । संसद स्थगित गरेलगत्तै कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने भनिएको थियो । तर, सत्तारुढ दल एमालेले केही मिनेट ढिला गरेपछि कार्य व्यवस्था बैठक बोलाएका सभामुख अधिकारी आफैँ गायब भइदिए । सभामुखको उक्त कदमप्रति सत्तारुढ दल एमाले रुष्ट बनेको बताइन्छ ।

नौटंकीको अर्को चरणमा अविश्वासको प्रस्तावमा मतदान गर्ने बेला बिनाजानकारी सम्पर्कविहीन भएर सरकार जोगाइदिएका जनमोर्चाका सांसद खिमविक्रम शाहीलाई भेट्न मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित मन्त्रीहरू चरक अस्पताल पुगेका थिए । बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको मर्ममा प्रहार गर्ने खालका यो घटना एउटा प्रतिनिधि घटना मात्र हो । २०४६ सालको प्रजातन्त्र प्राप्तिपछिको बहुदलीय व्यवस्थाको अभ्यासका क्रममा सांसद किनबेचलगायत यस्ता मनग्य दूषित राजनीतिक कार्यकलापहरू सुनिइँदै आएकै हुन् । 

अस्ति पर्दा पछाडि हुँदै आएकामा आज बाहिरै देखियो । पछाडि भए पनि अगाडि भए पनि विकृति विकृति नै हो । बहुदलको नाममा यस प्रकारको विकृति जरिइसकेको र नेपाली राजनीति अत्यन्त अस्थिर, अविश्वसनीय, असान्दर्भिक एवं समयको मागको प्रतिकूल चलिरहेको  परिप्रेक्ष्यमा सुहाउँदो राजनीतिक सिद्धान्त, अनुकूल शासकीय स्वरूप तथा कुशल, विस्वासिलो, इमान्दार र यो विकृत परिपाटीलाई तह लाउन सक्ने योग्य नेतृत्व खोजेको छ मुलुकले । नत्र यो र यस्तै व्यवस्थाघाती, राष्ट्रघाती नौटंकीहरू अनन्तकालसम्म जारी रहनेमा कुनै शंका छैन ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

थाहा नपाउँदै लोकतान्त्रिक राजनीतिको नशा सुरुभएछ-कक्षा ६ पढ्दा ।सायद मैले पढेको विद्य…

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

सरकारी कामकाजका सिलसिलामा कर्मचारी र सेवाग्राहीका बीच घुसको लेनदेन भएको दाबीका सा…

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

विश्व खाद्य मुद्रास्फीति भनिने नयाँ महामारीको चपेटामा छ । विगत २ वर्षयता कोभिड- १९ म…

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

डा. लक्ष्मीप्रसाद खतिवडा डाटाको कुरा गर्दा कम्प्युटर प्रणालीमा गणितीय ढाँचा (फर्म्याट)मा…