Khabarpato logo

         

बहस

पछिल्ला 'जनवादी तमासा', राजनीतिक विकृति र संचार माध्यमको दायित्व

आकाश शर्मा

आकाश शर्मा

पछिल्ला 'जनवादी तमासा', राजनीतिक विकृति र संचार माध्यमको दायित्व

एकाबिहानै राजीनामा दिएकाको कदै केही तन्किएको थियो । आफू अल्मतमा परेकाले राजीनामा दिएर राम्रो राजनीतिक संस्कार बसाउन खोजे पनि भने कसैले । चिटिक्क परेका खाइलाग्दा जनवादी नेता समझदार, इमानदार र एउटा अग्ला राजनीतिज्ञ रहेछन् भन्ने चर्चा सुरु मात्र के भएको थियो, 'फेरि उनैलाई मुख्य बनाउने अरे, राजीनामा त एउटा नाटक मात्र थियो अरे, पद जोगाउन' भन्ने खबर मिडियामा ठेलमठेल गर्दै आउन थालिहाले । 

जति घाम ओरालो लाग्दै गए, उति बुद्धको जन्मभूमि रहेको लुम्बिनीबाट निकृष्ट सूचनाहरू आउँदै रहे । र, आखिरी समाचार थियो, 'प्रदेश प्रमुखलाई आफ्नै घरमा ल्याएर आफ्नै बेडरुममा शपथ खाए ।'

त्यस्तै, दलहरूबीचको आन्तरिक तनावमा घीउ थप्दै सरकारले आज सोमबार नेकपा (माओवादी केन्द्र)मा आवद्ध गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तलाई पदमुक्त गरेको छ । सोमबारकै मन्त्रिपरिषद् बैठकको सिफारिसमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त गरी राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथसमेत गराइएको छ ।  

यसरी खेलिएका खेलबाट खेल्नेहरू त उत्साहित होलान्, गतिलै कार्यसम्पादन गरेको आभास भएको हुन सक्छ । तर, बुझ्नुपर्ने कुरो प्रवृत्तिको हो । चाँडै विकसित हुने वृक्ष भए पनि प्रवृत्तिका जराहरू वरका जराभन्दा बलिया हुंँदारहेछन् । खराब प्रवृत्ति हुर्किइसकेको नेपाली राजनीतिमा तुच्छताको हद पार गरेका थुप्रै घटनाहरूमध्ये हिजोको लुम्बिनी घटना र अस्तिको गण्डकी मंचन प्रतिनिधि दृश्यहरू मात्र हुन् । 

देशको दोहन गरेर परिपक्व भएको भोगविलासी प्रवृत्तिको अपराधीकरण भइसकेको उल्लेखित घटनाहरूबाट सिद्ध त हुन्छ नै, साथै कोरोना महामारीको दुष्चक्रमा फस्दै गएको मुलुक र जनतामाथि खुलमखुला लुटको चक्र यसै रोकिने छैन भन्ने तथ्य पनि प्रष्टिएको छ । त्यसले बहुदलीय संसदीय व्यवस्थाको धज्जी उडाउँदै संघीयताले समृद्धि होइन, सुशासन होइन, फरक आवरणमा शोषण एवं सामन्तवादलाई नै अझ शसक्त तुल्याउँछ र परिणाम स्वरूप संसारका सबैभन्दा संकीर्ण, संकुचित तथा सस्ता क्रियाकलापमार्फत मुलुक र मुलुकबासीलाई अनन्तसम्म गुमराहमा राखी मुठ्ठीभर निम्नकोटीका ठुटे तानाशाहहरूको हालीमुहाली कायमै रहन सक्ने छर्लङ्ग हुन्छ ।

नत्र, त्यसो होइनथ्यो भने पछिल्लो समय खासगरी हिजो आइतबारको सर्वोच्च संक्रमितको संख्या तथा विगत २४ घन्टाको कोरोना भाइरस संक्रमित ७ हजार ४४८ र मृतकको थप संख्या ३७  देखेर त्यसलाई रोकथाम एवं नियन्त्रण गर्नका लागि योजना बनाउन ध्यान केन्द्रित गर्नुपर्ने थियो । अरू प्रशस्त विषयहरू सरकार र यसका अंगहरूको सक्रियताका लागि प्रतीक्षारत थिए, छन् । यस्तो परिस्थितिमा तल्लो स्तरका चालबाजीहरूद्वारा सत्ता प्राप्त गर्न र लाज-घीन त्यागेर सत्तै जोगाउन खोज्नु कति उचित, कसरी अक्षमताका परिचायक होइनन् भन्ने प्रश्न उठेका छन् ।

उठेका छन्  प्रश्नहरू, 'कहिलेसम्म जालझेलयुक्त पाखण्डी क्रियाकलापलाई राजनीतिको नाउँ दिएर समाजसेवाको पर्याय राजनीतिलाई कलंकित गर्न छुट दिने ? कहिलेसम्म सामाजिक न्याय, जनताको आधारभूत सेवा सुविधाप्राप्त गर्ने वातावरणमाथि खुलेआम गरिएको बलात्कारको  साक्षी उनै पीडितले बस्नुपर्ने ? दुनियाँका आँखामा छारो हालेर आफ्नो ऐसारामको मात्र सोच्नेहरूकै अनुहार टुलुटुलु हेरेर मात्र बस्नुपर्ने कहिलेसम्म हो ?'

उत्तर खोज्दै छन् नेपाली जनता । उत्तर चाहियो रे, 'बिहान राजीनामा दिएर साँझ शपथ खाई कसलाई र किन झुक्क्याएको ? अविश्वासको प्रस्ताव छलेको हो कि जनताको विश्वास, संसदीय अभ्यास र राजनीतिक पद्धतिमाथि कुठाराघात गरेको हो ? अल्पमतमा पर्ने थाहा भइसकेपछि प्रदेश प्रमुखलाई आफ्नै भान्सामा घिसारेर ल्याएर जबर्जस्ती शपथ निल्नु सभ्य राजनीतिको कुन दाउपेचभित्र पर्छ ? के जनताले सधैँ मुकदर्शक भएर तिम्रो चर्तिकला हेर्न बाध्यता छ ?'

हातमा हँसिया बोकेका घाँसीहरू, गैँती बोकेका  सिकर्मीहरू, अन्य हतियार बोकेका राष्ट्रसेवकहरू, कलम बोकेका सिद्दशब्दधारीहरू, सबै वर्ग, जाति, धर्म एवं भाषामा आवद्ध नेपाली जनताले सोधका छन्, '…त्यस्ता तिनीहरू कसरी नेता भए ? के जनवाद भनेको, समाजवाद र नयाँ नेपालसम्म पुग्ने नौलो मार्ग भनेको यही हो ?'

तर, यी प्रश्नको जबाफ दिने को ? 

उत्तर कोही थाहा छ भन्दैन । गुनासाहरूसँग गुम्सिनुको विकल्प छैन । जनगुनासो सुन्नुपर्ने नै जनभावनाको दमन गर्नमा सक्रिय छ । कसैले गुनासो पोखिहाले पनि उही 'चिलका अगाडि चल्लाको गुनासो' जस्तै हुन्छ । फेरि, राजनीतिक, सामाजिक थिति परिवर्तन गर्न जनसाधारणको साधारण गुनासोले पुग्दैन । 'काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ' भन्दै मतिभ्रष्ट नेतृत्व लुम्बिनीमा यसरी नै र गण्डकीमा त्यसरी नै निर्लज्जतापूर्वक निजी दुनो जुनीभर सोझ्याइरहन्छन् । उनीहरू र पछि उस्तै प्रकृतिका तिनीहरूले जुनीभर त्यो कुर्सी, त्यो चुनाव क्षेत्र ओगटिरहन्छन् । 

पछि जति नै सक्षम व्यक्तिहरू त्यहाँ जन्मिएर हुर्किए पनि तिनीहरूले लखेटिहाल्छन्, उनीहरूको कुर्सीमा वा कुर्सीका वरिपरि कसैले आँखा लाएको थाहा पाए उसलाई आत्मिक, नैतिक वा सके भौतिक रूपमा नै सिध्याउन तल्लिन हुन्छन् । न कुनै सिद्धान्तमा अडिएका छन्, न छ कुनै सामूहिक हितको विचार वा संकल्प । न कोही मित्र छ, न शत्रु । आज मारामार गरिहाल्लान् जस्ता अँगालो हालेर पिउँदै हुन्छन् । 

त्यसैले भयो यो बहुदलीय संसदीय व्यवस्थाको रूपान्तरण छाडातन्त्रमा । तसर्थ, यो छाडा गुटतन्त्रको जरामा कुण्डली मारेर आधा शताब्दीदेखि बसिरहेका ठुटे महाराजहरूबाट खोसेर सक्षम व्यक्तिहरूले तालाचाबी आफ्नो हातमा नलिएसम्म सधैँ यहाँ पछिल्ला केही काण्ड जस्तै, संविधान काण्ड, नेकपा विभाजन काण्ड, शाही काण्ड, छल काण्ड र आसन्न संघीय संसदको विशेष अधिवेशन काण्डलगायत यस्तैयस्तै अनेक काण्डहरू देख्ने अवसर मिलिरहनेछ । 

यस्ता काण्डहरूलाई निरुत्साहित गर्न, सचेत गराउँदै आवश्यक परे भण्डाफोर गर्न, सकेसम्म राज्यका सबै अंगसम्म पुग्न सक्ने आमसंचार जगतको भूमिका हुनुपर्ने हो । तर, गुटतन्त्रमा झाङ्गिएका संचार माध्यमहरूले 'भूत'को कथा वाचनबाहेक खासै केही गर्न सकेका देखिएन । बहुदलीय व्यवस्थाको खोल ओडेर गुटवादी भ्रष्ट क्रियाकलाप भइरहेको देख्दा पनि व्यवस्थामाथि औँलो ठड्याउन नसक्नुका पछाडि संचार माध्यमहरू समक्ष कुनै बाधा होला तर राष्ट्र र जनताभन्दा महत्त्वपूर्ण त त्यो बाधा पक्कै नहोला । 

त्यसैले अबको परिवर्तनका लागि, सामन्तवाद प्रेरित मसिना मानसिकताका राजनीतिक नेतृत्वयुक्त यो बिषाक्त व्यवस्थालाई शान्तिपूर्ण रूपमा फराकिलो मानसिकतायुक्त नेतृत्वसहितको २ दलीय व्यवस्थाले प्रतिस्थापन गर्न व्यवस्थित ढंगले वकालत गर्दै वास्तविक परिवर्तनतर्फ दिशानिर्देश गर्न सक्ने एक्लो शक्ति फगत संचार जगत देखिएको छ । संचार माध्यमले 'सुगा रटाई'भन्दा केही माथि उठेर सभ्य एवं रचनात्मक रूपमा उचित व्यवस्थाका लागि यथाशक्य दिशानिर्देश गर्दै राष्ट्र निर्माणमा सक्रियतापूर्वक लाग्ने समय आएजस्तो छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

थाहा नपाउँदै लोकतान्त्रिक राजनीतिको नशा सुरुभएछ-कक्षा ६ पढ्दा ।सायद मैले पढेको विद्य…

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

सरकारी कामकाजका सिलसिलामा कर्मचारी र सेवाग्राहीका बीच घुसको लेनदेन भएको दाबीका सा…

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

विश्व खाद्य मुद्रास्फीति भनिने नयाँ महामारीको चपेटामा छ । विगत २ वर्षयता कोभिड- १९ म…

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

डा. लक्ष्मीप्रसाद खतिवडा डाटाको कुरा गर्दा कम्प्युटर प्रणालीमा गणितीय ढाँचा (फर्म्याट)मा…