Khabarpato logo

         

अन्य

पुस्तक सारांश: द वान थिङ (मात्र एक चिज)

स्मृति पूर्जा

स्मृति पूर्जा

पुस्तक सारांश: द वान थिङ (मात्र एक चिज)
किताबको नाम: मात्र एक चिज (द वान थिङ)
लेखक: ग्यारी केलर र जे पापासन
अनुवादक: स्मृति पुर्जा

तपाईं क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीलाई किन चिन्नुहुन्छ ? मात्र एक चिज– फुटबलका कारण । तपाईं मार्क जुकरबर्गलाई किन चिन्नुहुन्छ ? मात्र एक चिज– फेसबुकका कारण ।

विश्वव्यापी रूपमा सबैभन्दा बढी बिक्री भएको पुस्तक 'द वान थिङ'मा लेखकद्वय ग्यारी केलर र जे पापासन लेख्छन्, 'एउटा मानिस जिन्दगीमा सबै काममा उत्कृष्ट हुन असम्भव छ तर ऊ कुनै एक काममा उत्कृष्ट हुन अवश्य सक्छ । भनिन्छ– यदि हामी एकै समयमा दुईवटा खरायो समाउन दगुर्ने हो भने हामी एउटा मात्र खरायो पनि समाउन असमर्थ हुन्छौँ ।'

'द वान थिङ' पुस्तकमा केलर र पापासनले ती विभिन्न सिद्धान्त र व्यवहारका बारेमा लेखेका छन्, जसले एउटा मानिसलाई आफ्नो जिन्दगीको 'एक चिज' पत्ता लगाएर असफल मानिसको भीडबाट अलग हुन सिकाउँछ । आउनुहोस्, ती सफलताका रहस्यमाथि विचार तथा अमल गरौँ । 

१. द डोमिनो इफेक्ट

एउटा २ इन्चको डोमिनोसँग आफू भन्दा ५० प्रतिशत ठूलो डोमिनोलाई गिराउने तागत हुन्छ । ज्यामितीय अनुक्रममा राखेर २ इन्चको डोमिनोबाट गिराउन सुरु गर्ने हो भने २३औँ क्रममा गिर्ने डोमिनोको उचाइ एफिल टावरको उचाइजत्तिकै हुनेछ । त्यसैगरी ५७औँ क्रममा गिर्ने डोमिनो पृथ्वी र चन्द्रमाबीचको दूरी बराबरको हुनेछ । हामीले सही दिशामा प्रत्येक दिन सानोसानो कदम बढायौँ भने महत्त्वाकांक्षी लक्ष्य पनि हासिल गर्न सक्छौँ ।

उदाहरणका लागि हाम्रो लक्ष्य ५७औँ डोमिनो जस्तै खर्बपति हुने छ भने त्योभन्दा पहिला हामी २३औँ डोमिनो जस्तै करोडपति हुनुपर्छ । अझ सुरुवातमा २ इन्चको डोमिनो जस्तै हाम्रो आम्दानीबाट गरिएको बचत हजार रुपैयाँ उपयुक्त क्षेत्रमा लगानी गरिनुपर्छ ।

२. व्यस्त नहुनुहोस् 

जिन्दगी छोटो छ र समय कुदिरहेको छ । यही वास्तविकतामा रुमल्लिएर हामी प्रत्येक पल अनेक काममा व्यस्त रहन्छौँ तर एक पटक सोच्नुहोस् त ! के व्यस्त हुनु भनेको दक्ष र प्रभावकारी हुनु पनि हो त ? वास्तवमा गर्नुपर्ने कामको सूची अर्थात् 'टु डु लिस्ट' लामो हुनु भनेको एकै समयमा धेरै खरायोको पछि दगुर्नु मात्र हो । तपाईंको सामु जति धेरै कुरा हुन्छन्, तपाईं त्यति नै बढी अलमलमा पर्नुहुन्छ । त्यसैले 'टु डु लिस्ट'लाई 'सक्सेस लिस्ट'मा परिवर्तन गर्नुहोस् । थोरै काममा ध्यान केन्द्रित गर्नुहोस्, काम पूरा गर्ने अवधि कम राख्नुहोस् र एउटा काम पूरा गरेर मात्र दोस्रो काममा हात हाल्नुहोस् । अतः व्यस्त होइन, उत्पादक हुनुहोस् ।

३. सबै चीज उत्तिकै महत्त्वपूर्ण हुँदैनन्

समानताको विषयमा धेरै चर्चा र बहस गरिएको पाइन्छ तर तपाईं मान्नुहोस् या नमान्नुहोस्, यो एक गलत धारणा हो, जसले हाम्रो अमूल्य समयलाई थाहै नदिई चोरिरहेको हुन्छ । यदि तपाईंले सबै चिजलाई बराबर महत्त्व र समय दिनुभयो भने तपाईं सबै चिजमा औसत मात्र रहनुहुन्छ ।

उदाहरणका लागि सबै चिजलाई उत्तिकै महत्त्व दिने हो भने विराट कोहली ब्याटिङको सम्बन्धमा बादशाह नभएर उनी औसत ब्याट्स्म्यान, औसत बलर तथा औसत विकेट किपर रहन्थे । त्यसैले प्रत्येक दिनको अधिक समय त्यही काम गर्नुहोस्, जुन तपाईंका लागि सबभन्दा महत्त्वपूर्ण छ । कम महत्त्वपूर्ण कामलाई कम समय दिनुहोस्, कुनै काम अरूबाट गराउनुहोस् र महत्त्वहीन कामलाई पूर्ण रूपमा हटाउनुहोस् ।

४. द प्यारेटो प्रिन्सिपल (८०/२० नियम)

यस सिद्धान्तलाई बुझ्न एउटा उदाहरण लिऊँ: तपाईं आफ्नो मोबाइलमा भएका एप्लिकेसनहरूमध्ये तपाईं ८० प्रतिशत समय मात्र २० प्रतिशत एप्लिकेसनहरू प्रयोग गर्नुहुन्छ । यो नियम प्रायः सबै कुरामा लागू हुन्छ । तपाईंका साथीहरूमध्ये मात्र २० प्रतिशतले तपाईंलाई ८० प्रतिशत समय सहायता गर्छन् । तपाईंले कुनै कार्यको योजनामा लगाएको मात्र २० प्रतिशत मिहिनेतले ८० प्रतिशत नतिजालाई सफल बनाउन मद्दत गर्छ । त्यसैले कुनै कार्य सुरुवात गर्नुअघि त्यस कार्यको सबभन्दा महत्त्वपूर्ण २० प्रतिशत काम पत्ता लगाएर त्यसलाई ८० प्रतिशत समय र ध्यान दिनुहोस् । 

५. एउटा प्रश्न

भनिन्छ– उत्तर तब मात्र सही पाइन्छ, जब सही प्रश्न सोधिन्छ । लेखकद्वय केलर र पापासन मानिसले प्रत्येक बिहान आफूले आफैलाई एउटा प्रश्न सोधून् भन्ने सुझाव दिन्छन्, त्यो प्रश्न यस प्रकार छ– 'आज म कुन एक काम गरूँ, जुन गरेपछि अरू काम गर्न सहज हुन्छ वा सबै काम अनावश्यक हुन्छन् ?' 

यस पुस्तक 'द वान थिङ'को सारलाई एक हरफमा यसरी बुझ्न सकिन्छ– ठूलो सपना देख्नुहोस्, सानो कदमबाट यात्रा सुरु गर्नुहोस्, सही दिशामा निरन्तर प्रयास गर्नुहोस्, 'ब्यालेन्स्ड लाइफ'को भ्रममा नपर्नुहोस् र मात्र एक चिजमा समय, ध्यान, ऊर्जा र दौलत केन्द्रित गर्नुहोस्, जसले सबैभन्दा बढी महत्त्व राख्छ र तपाईंको जिन्दगीलाई सार्थक बनाउँछ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

It's Enough! Stop it and Start a New Way

It's Enough! Stop it and Start a New Way

Sticking on the Prime Minister's chair, KP Sharma Oli has been playing with…

निर्वाचन आयोगले ठाकुर खेमासँग माग्यो लिखित जबाफ

निर्वाचन आयोगले ठाकुर खेमासँग माग्यो लिखित जबाफ

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर-राजेन्द्र महतो खेमासँग लि…

लमजुङमा गएको भूकम्पबाट २४१ घरमा क्षति, परकम्प जारी

लमजुङमा गएको भूकम्पबाट २४१ घरमा क्षति, परकम्प जारी

लमजुङको भुलभुलेलाई केन्द्रबिन्दु बनाएर हिजो बिहान गएको भूकम्पको बिगत २४ घण्टामा ८६ प…

पेट्रोल/डिजेललगायत इन्धनको मूल्य बढ्यो

पेट्रोल/डिजेललगायत इन्धनको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि गरेको छ । उल्लेख…