Khabarpato logo

         

बहस

केपी ओलीको 'जन्मकुण्डली'

घनेन्द्र ओझा

घनेन्द्र ओझा

केपी ओलीको 'जन्मकुण्डली'

नेपाली राजनीतिमा पछिल्लो समय सधैँजसो चर्चा र शक्तिको केन्द्रमै रहे केपी शर्मा ओली । विशेषगरी २०४७ सालपछि २ कम्युनिस्ट घटक माले र मार्क्सवादी मिलेर बनेको एमालेको राजनीतिको केन्द्रमा रहन अनेक दाउपेच र तिकडम गर्न बाँकी नराखेका ओली ३ जेठ २०५० को दासढुंगा दुर्घटनामा तत्कालीन पार्टी महासचिव मदनकुमार भण्डारीको मृत्युपश्चात एकाएक एमालेको राजनीतिको केन्द्रमा आउन सफल भए ।

खड्गप्रसाद उर्फ केपी ओली ‘झापा विद्रोह’का नाममा १४ वर्ष जेल बसे । त्यसो त कतिपय उनका समकालीनले ओली धर्मप्रसाद ढकालको हत्या अभियोगमा जेल परेका र पछि उनको अभियोगलाई राजनीतीकरण गरिएको पनि भन्छन् । उनी कुन ‘विद्रोह’का कारण जेल बसेका थिए भन्ने विषयमा उनकै समकालीनलाई सोध्नु उचित हो, यसर्थ यस लेखकले सुनेको र पढेको आधारमा उनी ‘झापा विद्रोह’कै कारण जेल बसेका हुन् ।

उनीसँगै जेल बसेकाहरूका अनुसार जेलमा बस्दा बाहिरी पुस्तकहरू अत्यन्त पढ्ने गर्थे ओली, जसका कारण उनमा सामान्य ज्ञान धेरै क्षेत्रको रह्यो । धर्म, संस्कृति, राजनीति, कूटनीति, अर्थशास्त्र, भूगोल आदिका बारे भेटेका सामग्री पढ्ने गर्थे रे ओली । र, ती पढेका सामग्रीबाट आफूलाई (कु)‘तर्क’का लागि चाहिने पंक्ति वा शब्द लिइहाल्थे, त्यसको आसयको गहिराइ र अर्थमा जाँदैनथे । 

उनको यही स्वभाव अहिले पनि त देखिन्छ- संसद जस्तो प्रबुद्ध र विज्ञहरू रहेको स्थलमा कोरोना कहरबारेको सांसदको प्रश्नमा उनको जबाफ सुन्नुभएन- ‘नेपालीको इम्युनिटी पावर बढी छ भनेर कसले भन्यो ? भनेर सोध्ने माननीयले सुन्नुस्, मैले भनेको हो त्यो, त्यति भन्न कुनै विज्ञता चाहिँदैन ।’ यो उनले कतै कसैले ‘भनिदिएको’ आधारमा विज्ञ भएर बोलिदिएका थिए । यस्ता ‘विज्ञता’ त उनीसँग कतिकति ! (सायद उनको यस्तै ‘विज्ञता’का कारण नै बडेबडे मै हुँ भन्ने ‘विद्वान्’हरूसमेत उनको हाईहाई गरिरहेका छन् अहिले !)

ओली बौद्धिक वा वैचारिक व्यक्ति थिएनन् तर उनले मदनकुमार भण्डारीले ल्याएको नेपाली कम्युनिस्टका लागि नौलो अवधारणा ‘जनताको बहुदलीय जनवाद’को अवधारणामा आफ्नोसमेत हिस्सा खोजिरहे । योचाहिँ उनको ‘चातुर्य’ भएको उनका निकटकाहरू बताउँछन् ।

ओली औपचारिक अध्ययनमा कुनै तहको प्रमाणपत्र नलिएका व्यक्ति हुन् तर उनले ४ वटा मानार्थ विद्यावारिधि उपाधि प्राप्त गरेका छन् । त्यसो त उनीसँग शास्त्रदेखि राजनीतिसम्मका धेरै प्राज्ञिक कुराहरूबारे ‘राम्रो’ ज्ञान छ । कोरोना महामारीको पछिल्लो अवस्थामा कोरोनाबाट बच्न उनले दिएका ‘ज्ञान’ र ‘वैद्यशास्त्रीय विधि’ले त उनमा चिकित्सकीय र आयुर्वेद विद्यासमेत प्रशस्त रहेको देखिन्छ र

उखान, टुक्का मिसाएर निकै चोटिलो व्यंग्य कसेर बोल्न सिपालु ओलीलाई नजिकबाट चिन्नेहरू र जेलमा सँगै बसेकाहरू भने ओलीलाई ‘गफको राजा’ पनि भन्ने गर्छन् । उनको यस्तो ‘वाकपटुु’ शैलीका कारण ओली पटक पटक आलोचित पनि बनिरहेका छन् । 

जन्म, राजनीतिक यात्रा, जेल जीवनदेखि प्रधानमन्त्रीसम्म

पूर्वी पहाडको तेह्रथुम जिल्लाको इवामा ११ फागुन २००८ मा जन्मिएका खड्गप्रसाद ओलीको पारिवारिक आर्थिक अवस्था निम्नस्तरको थियो । 

उनी डेढ वर्षको हुँदा आमाको निधन भएको थियो । उनी बालक हुँदै उनका बुबा मोहनप्रसाद बालबच्चा दिएर झापाको सुरुङ्गा झरे ।

कन्काइको बाढीले ओली परिवारको घर बगाइदिएपछि उनीहरू सुकुम्बासी बने । ओलीलाई केही समय ठूलोबुुबा र मावलका हजुरबुबाले पाले । 

किशोरावस्थामा ओली शहीद रामनाथ दाहालको घरमा काम गरेर विद्यालय जान थाले । उनले १० कक्षासम्मको औपचारिक शिक्षा झापामै लिए ।

रामनाथ दाहालका घरमा बसेर पढ्दै गर्दा विद्रोही रामनाथकै प्रेरणाले उनी सानै उमेरमा कम्युनिस्ट बने । गरिबीका कारण अरूको घरमा काम गरेर बसेका ओली २०२३ सालमा मार्क्सवादी अध्ययन दलको सदस्य बनेर कम्युनिस्ट राजनीतिमा आएका हुन् ।

राजनीतिक यात्रा

२०२३ सालमा मार्क्सवादी अध्ययन दलमा संगठित भई प्रशिक्षण प्राप्त गरेका ओलीले २०२५ सालदेखि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध विद्यार्थी फाँटको फ्र्याक्सन कमिटीमा आबद्ध भई नेतृत्व गरेका थिए ।

उनले २०२६ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए भने २०२६ सालमै तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको उपसचिवको जिम्मेवारी निर्वाह गरेका थिए ।

२०२७ वैशाखमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी र पूर्वकोसी प्रान्तीय कमिटी एकीकरण भयो । २०२८ वैशाखमा तत्कालीन पूर्वकोसी प्रान्तीय कमिटीबाट नेपाल कम्युनिस्ट पार्टी अलग भयो ।

ओलीले २०२९ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी झापा आन्दोलन कमिटीको प्रमुखका रूपमा जिम्मेवारी निर्वाह गरेका थिए । 

१४ वर्षे जेल जीवन

पहिलो पटक १६ फागुन २०२७ मा झापाबाट गिरफ्तार भएका थिए ओली । गिरफ्तारीपछि झापा पुलिस थानामा राखियो उनलाई ।

उनी पटक पटक समातिँदै र छाडिँदै गरे प्रहरीबाट । २०२७-२०३० सालका बीचमा १० पटकभन्दा बढी गिरफ्तारीमा परे ओली ।

झापा काण्ड अर्थात् किसान विद्रोहका समयमा झापाका जमिन्दार धर्मप्रसाद ढकालको हत्या भयो । त्यसपछि उठेको विद्रोहमा राज्यले धरपकड सुरु गर्‍यो ।

पछि २३ असोज २०३० देखि लामो समय अर्थात् झण्डै डेढ दशक जेल परे ओली । भारततिर भागेका ओली नेपाल फर्किनासाथ रौतहटको गौरमा पक्राउ परे । 

गौर थानामा २ दिन राखेपछि उनलाई वीरगंज जेल चलान गरियो । ८ मंसिर २०३० मा भद्रगोल जेल काठमाडौँमा ल्याइयो । र, त्यसको ३ दिनपछि ११ मंसिरमा सेन्ट्रल जेल गोलघरमा पुर्‍याइयो ।

११ मंसिर २०३० देखि १६ वैशाख २०३२ सम्म सेन्ट्रल जेल गोलघरमा रहेका ओलीलाई त्यसपछि गोलघरबाहिर निकालियो ।

२०३३ साउनमा नख्खु जेल चलान गरिएका ओलीलाई २०३३ मंसिरमा पुनः केन्द्रीय कारागार गोलघरमै लगियो । झण्डै साढे २ वर्ष उनी गोलघरमै बसे । २०३६ जेठमा मात्र उनलाई गोलघरबाहिर निकालियो ।

२०३७ चैतमा पुनः नख्खु जेल चलान गरियो भने ३ माघ २०३९ मा पोखरा जेल पुर्‍याइयो ।

२०४२ कात्तिकमा पोखराबाट स्याङ्जा जेलमा लगेर ८ मंसिर २०४३ मा हनुमान ढोका जेल चलान गरियो र १२ माघ २०४३ मा भद्रगोल जेल चलान गरियो ।

११ असार २०४४ मा भद्रगोल जेलबाट रिहा भए ओली ।

जेलबाट छुट्दा ओली निकै दुब्ला पातला देखिन्थे । जेलबाट छुटेपछि उनी पार्टीका साथीभाइसँग गाडी भाडा मागेर झापा फर्किएका थिए ।

जेलमुक्तपछि निरन्तर राजनीतिक जिम्मेवारीमा

११ असार २०४४ मा १४ वर्षे जेल जीवन बिताएर रिहा भएका ओली २ पुसमा धादिङको स्यादुलमा बसेको तत्कालीन नेकपा (माले)को बैठकबाट केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा आए ।

२०४६ सालमा तत्कालीन नेकपा (माले) लुम्बिनी अञ्चल प्रमुखको जिम्मेवारी पाएका ओली १ जेठ २०४७ मा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्ष बने ।

२०४९ सालदेखि २०७१ असार मसान्तसम्म नेकपा (एमाले) स्थायी कमिटी सदस्य रहेका ओली तत्कालीन एमालेका अध्यक्ष हुँदै नवसंयोजित (विगतका एमाले र माओवादी केन्द्र)नेपाल कम्युनिस्ट पार्टीका २ अध्यक्षमध्ये एक अध्यक्ष भए । यद्यपि, सर्वोच्च अदालतले नेकपा नामको दल अर्कैका नाममा पहिल्यै दर्ता कायम रहेको भन्दै एमाले र माओवादी केन्द्रलाई साविककै आआफ्ना दलमा फर्काइदिएपछि ओली अहिले एमालेका अध्यक्ष छन् ।

ओलीले राज्य तहमा वहन गरेका जिम्मेवारी

२०४८ सालमा सम्पन्न आमनिर्वाचनमा झापा क्षेत्र नम्बर- ६ बाट प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित भएका थिए ओली । २०५१ सालमा सम्पन्न मध्यावधि निर्वाचनमा पनि झापा क्षेत्र नम्बर- ६ बाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए उनी ।

१४ मंसिर २०५१ मा मनमोहन अधिकारीको नेतृत्वमा गठित नेपालको पहिलो कम्युनिस्ट सारकारमा गृहमन्त्रीको जिम्मेवारी वहन गरेका थिए ओलीले ।

२०५६ सालमा सम्पन्न आमनिर्वाचनमा झापा क्षेत्र नम्बर- २ र ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका ओली सोही बेला नेकपा (एमाले) संसदीय दलको उपनेता चयन भए ।

१९ जेठ २०५८ मा दरबार हत्याकाण्ड भएपछि राजगद्दीमा बसेका ज्ञानेन्द्र शाहले २०५९ असोजदेखि सूक्ष्म रूपमा सुरु गरेको लोकतन्त्रमाथिको प्रहार १९ माघ २०६१ मा आइपुग्दा निरङ्कुशतामा परिणत भयो । त्यसपश्चात सात दल र अघोषित रूपमा भूमिगत विद्रोही माओवादीसमेत राजा ज्ञानेन्द्रको निरङ्कुश कदमका विरुद्ध सडकमा निस्किए ।

गिरिजाप्रसाद कोइरालालगायतका वयोवृद्ध नेताहरूले लोकतन्त्र पुनस्र्थापनाका लागि सडकमा टाउको फुटाइरहँदा केपी ओली घरको चोटामा सुतेर भनिरहेका थिए, ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन, राजासँग निहुँ खोजेर जितिँदैन ।’ यसै कारण आज पनि ओलीलाई ती भाग्यमानी नेता ठानिन्छ, जो गणतन्त्रको खुला विरोध गरेर पनि गणतान्त्रिक शासन व्यवस्थामा ‘गणतान्त्रिक’ कम्युनिस्ट पार्टीका अध्यक्ष हुन पाएका छन् र अझ २-२ पटक गणतन्त्रात्मक व्यवस्थाका प्रधानमन्त्री पनि । 

उसो त, उनै ओली हुन्, जो संघीयताका उग्र विरोधी थिए कुनै बेला । यसकै कारण उनी विभिन्न जातीय÷क्षेत्रीय दलबाट निकै आलोचित पनि बने ।

गणतन्त्र आएसँगै २०६३ जेठमा गठित मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीका रूपमा जिम्मेवारी वहन गरेका ओली २०७० मंसिरमा सम्पन्न संविधानसभा निर्वाचनमा झापा क्षेत्र नम्बर- ७ बाट संविधानसभा सदस्यमा निर्वाचित भए ।

विभिन्न समयमा प्रतिनिधिसभा, मन्त्रिपरिषद् र संविधानसभाबाट गठित विभिन्न आयोग र समितिका जिम्मेवारीसमेत वहन गरेका थिए उनले ।

विभिन्न समयका आन्दोलनमा ओलीको भूमिका

२०२७ सालको झापा विद्रोहमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीभित्र हतियारबद्ध संघर्ष गर्ने वा शान्तिपूर्ण संघर्ष गर्ने भन्ने सवालको बहसमा उनले शान्तिपूर्ण संघर्षको माध्यमबाट नै परिवर्तन गर्न सकिन्छ भन्ने वैचारिक अडान राखेका थिए । तर, फरक मत राखेरै पनि पार्टीको निर्णय मान्दै उनी सशस्त्र संघर्षमा होमिएका थिए ।

२०३० सालदेखि २०४४ सालको जेल जीवनको लामो अन्तरालमा विभिन्न माध्यमद्वारा पार्टी जीवन संचालन र संघर्षका कार्यक्रमबारे उनले लिखित पत्रका माध्यमद्वारा सुझावहरू पठाउने गरेका थिए ।

२०४६ सालमा सम्पन्न जनआन्दोलनमा संयुक्त वाममोर्चाका तर्फबाट लुम्बिनी अञ्चलको मोर्चा सम्हालेका ओली २०४९ सालमा सम्पन्न नेकपा (एमाले)को पाँचौँ राष्ट्रिय माहाधिवेशनबाट पारित ‘जनताको बहुदलीय जनवादी कार्यक्रम’ निर्माणका सिलसिलमा तत्कालीन पार्टी महासचिव मदन भण्डारीलाई उक्त कार्यक्रम तयार गर्न सहयोगी रहेका बताइन्छ । (ओली स्वयंले पनि उक्त दस्ताबेज निर्माणको जस लिने बारबार प्रयास गरिरहेका हुन् ।)

२०५९ सालमा भएको नेकपा (एमाले)को सातौँ राष्ट्रिय महाधिवेशनमा कम्युनिस्ट पार्टीको लोकतान्त्रिकीकरणका सवालमा उनले प्रस्तुत गरेको वैचारिक कार्यक्रमिक प्रस्ताव नेपालका सबै कम्युनिस्ट पार्टीहरूको चासोको विषय बनेको छ ।

एमालेलाई बहुपदीय प्रणालीमा लैजानुपर्छ भनेर उनले २०५९ सालमा भएको सातौँ महाधिवेशनमा प्रस्ताव गरे । कम्युनिस्ट पार्टीको लोकतान्त्रीकरणका सवालमा उनले प्रस्तुत गरेको त्यो कार्यक्रम पास हुन सकेन । पछि २०६५ सालमा ओलीको सोही कार्यक्रम पारित भयो र एमालेमा बहुपदीय प्रणाली सुरु भयो । 

एमालेको पाँचौँ महाधिवेशनमा मदन भण्डारीको नेतृत्व र उनको बहुदलीय जनवादलाई साथ दिएका ओली पार्टी विभाजनका बेला नेकपा मालेविरुद्ध कडा रूपमा प्रस्तुत भएका थिए । उनले महाकाली सन्धिको बचाउमा उभिएर भारतप्रति नरम नीति लिएका कारण भारतपरस्त भनेर ओलीको पार्टीभित्रै र बाहिरबाट पनि व्यापक आलोचना भएको थियो । तत्कालीन मालेले त एमालेका गल्तीहरूको सूचीमै ओलीको महाकाली सन्धिको विषय पनि उठाएको थियो ।

त्यही महाकाली सन्धिको दाग मेटाउन ओलीले आजसम्म सकेका छैनन् । उनको ‘राष्ट्रवाद’को पिङ जतिजति मच्चिन्छ, उतिउति आमजनले महाकाली सन्धिका कारण ओलीले गरेको ‘राष्ट्रघात’लाई सम्झिन्छन् । र, त अहिले पनि उनलाई ‘भारतविरोधी भारतका हितैषी’ भन्ने ‘आरोप’ लागिरहन्छ ।

बुटवलमा सम्पन्न आठौँ महाधिवेशनमा ओली पार्टी अध्यक्षका उम्मेदवार थिए तर उनी झलनाथ खनालसँग हारे । त्यसबेला ओलीले झलनाथ पक्षलाई माओवादी परस्त भएको आरोप लगाएका थिए । 

आठौँ महाधिवेशनमा माधव नेपालसँग मिलेका ओली नवौँ महाधिवेशनमा भने माधव नेपाललाई हराएर अध्यक्ष बने । पार्टीको अध्यक्ष बनेपछि ओलीले माओवादी केन्द्रसँग एकता गरेर सबल र ठूलो कम्युनिस्ट पार्टी नेकपा निर्माण गर्ने काममा सफलता हात पारे । (तर, नेकपा बनेको केही समयभित्रै २ अध्यक्ष ओली र प्रचण्डबीचको जुँगाको लडाइँ तीब्र बन्यो । अन्ततः सर्वोच्चले दुवैका अहंलाई ठेगान लगाउँदै साविककै पार्टीमा फर्काइदियो ।)

कुनैबेला उग्र माओवादीविरोधी मानिने ओली माओवादी जनयुद्धबाट उठेका उनै प्रचण्डसँग अंकमाल गरेर ठूलो पार्टीका अध्यक्ष र दुुई तिहाई बहुमतको सरकारका प्रधानमन्त्री बनेका थिए ।

युवा संघका संस्थापक अध्यक्षदेखि प्रधानमन्त्रीसम्म

युवा संघको संस्थापक अध्यक्ष र झापामा ४ महिना पार्टी सचिव हुनेबाहेक पार्टीभत्र र बाहिर कहिल्यै पनि पहिलो नेतृत्वमा जान नपाएका ओलीले केही वर्षको बीचमै धेरै कुरा प्राप्त गरे ।

यसबीचमा ओली संसदीय दलको नेता निर्वाचत भए । त्यसलगत्तै पार्टीको अध्यक्ष निर्वाचित भए । अहिले आएर दोस्रो पटक मुलुककै कार्यकारी प्रमुख प्रधानमन्त्री पदमा छन् । उता, माओवादी केन्द्रसँग नवसंयोजित नेकपाका एक अध्यक्ष पनि उनै थिए ।

एउटा गरिब र विपन्न नेपाली गाउँले परिवारमा जन्मिएर अनेक हण्डर खाँदै, बालकमै जीविकाका लागि अर्काकामा मजदुरी गर्दै ‘निरंकुशताविरोधी आन्दोलनमा लाग्दा’ डेढ दशक जेल जीवन बिताएका ओली नेपाली राजनीतिको पछिल्लो खण्डका ‘स्वप्नशील’ र ‘हास्यचेत’ भएका ‘रमाइला’ नेता मानिन्छन् ।

जेलका किस्सा

केपी ओली १४ वर्ष जेल बसे । ‘राजनीतिक विद्रोह’का कारण जेल बसेका ओलीसँगै आरके मैनाली, मोदनाथ प्रश्रित, मोहनचन्द्र अधिकारीहरू पनि थिए । 

ओलीले औपचारिक शिक्षा लिन पाएनन् तथापि उनी अत्यन्त ‘छट्टु’ र ‘चतुर’ भएका उनीसँगै जेल बसेका र उनलाई युवाकालदेखि नै चिनेकाहरू बताउँछन् । 

जेल बस्दासमेत उनको छट्टुपन र चतुर्‍याइँ उस्तै थियो रे ! ओलीको जेल जीवनका केही किस्सा छन्, जुन उनीसँगै जेल बसेका केही व्यक्तिले यो लेखकसँग भनेका हुन् ।

किस्सा- १ 

ओली, मोदनाथ र आरके गोलघरमा थिए । जेलमा मासु सधैँ खान नपाइने । कहिलेकाहीँ पाइने मासुमा पनि अरूले झोल हालेर खाने तर ओलीको ‘स्वादे जिब्रो’लाई फ्राई गरेकै मासु चाहिने ।

किस्सा- २

ओली चुरोटका अम्मली । जेलमै रहँदा उनलाई क्षयरोग लाग्यो । त्यसबेलाको क्षयरोग ‘महाकाल’ मानिन्थ्यो । निकै कमजोर र जीर्ण भएका कुनताका ख्याउटे ओली सिकिस्त थिए ।

आरके मैनाली, मोदनाथ प्रश्रितलगायत घाम तापेर मुडामा बसिरहेका थिए जेलमा । निस्लोट बिरामी थिए ओली ।

कोही साथीले सोधे, ‘के खान मन छ ?’

ओलीले आँखा नखोली सिकिस्त स्वरूपमै भने, ‘दिँदैनौ !’

साथीले भने, ‘भन न त के खान मन छ ?’

ओलीले फेरि भने, ‘दिँदैनौ !’

साथीहरूले फेरि सोधे, ‘के खान मन छ भन, दिन्छौँ ।’

ओलीले भने, ‘सिगरेट खान मन छ, हरहर भा’को छ ।’

साथीहरूले सोचे- ‘यस्तो अन्तिम जस्तो हालतमा छ, खान मन लागेको चिज दिनुपर्छ ।’

२ खिल्ली फिल्टर चुरोट ल्याएर दिए । ओलीले सल्काएर यसरी स्वाटस्वाट ताने कि एउटा पछि पुनः अर्को सल्काए ।

सिकिस्त भएर आँखा नहेरी बसिरहेका ओलीले सिगरेट तानेपछि जुरुक्क टाउको उठाए र भने, ‘अलिअलि सास आउला जस्तो पो भयो त !’

त्यसलगत्तै मुडाबाट छेउमा बसेका आरके मैनालीतिर फर्किए ओली अनि उठेर आरकेको पिठ्युँमा धाप मार्दै भने, ‘आरकेजी, के पो भन्दै हुनुहुन्थ्यो रे ?’
(ओलीको ‘कपटीपन’को उदाहरण दिँदा उनका ‘होस्टेल’ (उनीहरू जेललाई होस्टेल भन्थे)का साथीहरू यही घटना सम्झिने गर्छन् ।)

किस्सा- ३

ओली चुरोटका अम्मली, जुन माथि पनि भनियो । जेलमा अरू पातमा बेरेको बिँडी खाने । महँगो फिल्टर चुरोट खाने पैसा पनि हुँदैनथ्यो । 

ओलीलाई चुरोट खानुपर्ने तर पातमा बेरेको बिँडी नखाने । ओलीका लागि मात्र ‘होस्टेल’को क्यान्टिनबाट ३ वटा फिल्टर चुरोट ल्याइदिनुपर्ने ।

(ओलीको ‘सामन्ती’ चरित्रबारे कुरा गर्दा माथिको ‘मासु प्रसंग’ र यो चुरोट प्रसंग पनि सम्झिन्छन् उनका जेल बसाइका समकालीनहरू ।)

किस्सा- ४

लामो समय जेलमा बसे पनि ओलीलाई चिन्नेहरू अत्यन्त कम थिए । ओली राजनीतिक रूपमा त्यति धेरै चर्चामा नरहेका कारण पनि ओलीको नाम सुन्नेहरू २०५० सालसम्म पनि कमै थिए । तत्कालीन एमाले महासचिव मदन भण्डारीको दासढुंगा दुर्घटनामा परी मृत्यु भएपछि एमालेले उक्त घटनाको छानबिन समितिको संयोजक ओलीलाई बनाइदिएपछि उनी एकाएक चर्चामा आउन थालेका हुन् बाहिरी दुनियाँमा ।

सन्दर्भ जेलकै ।

जेलमा घघडान कम्युनिस्ट ‘क्रान्तिकारी’हरू थिए- मोहनचन्द्र अधिकारी, मोदनाथ प्रश्रित, आरके मैनालीलगायत ।

पार्टी, आन्दोलन आदिका विषयमा कुरा गर्नेहरू मोहनचन्द्रसँग गर्थे । मोहनचन्द्र झोँकी स्वभावका । तर, कम्युनिस्ट क्रान्तिकारी भन्दा त्यसबेला सम्झिने थोरै नाममा मोहनचन्द्र पर्थे ।

मोहनचन्द्र कसैसँग कुरा गरिरहेका बेला उनको छेउमा गएर जेलकै कोही साथी बस्थे र मोहनचन्द्रले के भन्छन् भनेर सुन्थे । बोल्दाबोल्दै मोहनचन्द्र फनक्क ती छेउका साथीतिर फर्किन्थे र भन्थे, ‘कुमाईंको दूत !’

भन्नुको अर्थ ती छेउमा आएर मोहनचन्द्रको कुरा सुन्ने साथी केपी ओलीका निकट मित्र थिए र मोहनचन्द्रले केके बोल्छन् भनेर उनलाई सुन्न ओलीले पठाएका थिए । मोहनचन्द्र भने ओलीलाई पटक्कै मनपराउँदैनथे ।

ओलीका केही विशेषता

जब ओली ‘चर्चा’मा आउन थाले, उनी एमालेभित्र ‘स्थायी प्रतिपक्ष’ जस्ता बने । उसो त, तत्कालीन महासचिव माधवकुमार नेपालको ‘पेलान’बाट उकुसमुकुस बनेका ओलीलाई ‘प्रतिपक्ष’ बन्नुको विकल्पसमेत थिएन । तथापि, ओली यसबीचमै त्यसबेलाका निकै गतिला भनिएका सीपी मैनाली, आरके मैनाली, भरतमोहन अधिकारीहरूलाई समेत छायामा पार्न सफल भए । आफ्नै नातागोतासमेत पर्ने मैनाली दाजुभाइलाई पाखा लगाएर एमालेमा हस्तक्षेपकारी भूमिकामा आउन सफल भए ओली । 

ओलीका यी केही अचम्मका विशेषता छन्, जसका कारण उनी सधैँजसो सत्ता र पार्टीको केन्द्रमै रहेका हुन्छन् ।

ओलीलाई पार्टी वा देशभन्दा माथि आफ्ना आसेपासे वा निकटतमहरू लाग्छ । उनी निकटका र आफ्ना समर्थकहरूलाई कहिल्यै चिढ्याउँदैनन् र आफूबाट कहिल्यै टाढा हुन पनि दिँदैनन् ।

केपी ओलीको प्रधानमन्त्रीमा दोस्रो इनिङप्रति आमजनको अपेक्षा बढी नै थियो । निकै भरोसा पनि थियो उनीमाथि । उनले दिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा र ‘भ्रष्टाचारमा शून्य सहनशीलता’को ‘आदर्श’का कारण धेरैले ओलीलाई विकासप्रेमी र जनप्रेमी पनि भन्न थालेका थिए ।

यसैबीच वैश्विक महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण केपी ओलीको छविमा दाग लाग्ने अवस्था आयो । केही पहिले ‘मानसपुत्र’ समान ठानेका तत्कालीन संचारमन्त्री गोकुल बाँस्कोटाले ओलीको पिठ्युँ ७० करोड रुपैयाँको ‘सुसु’ले भिजाइदिए । त्यससँगै ओम्नी नामको कम्पनीमार्फत् गरिएको औषधि र स्वास्थ्य उपकरण खरिद सम्झौतामा आँखा चिम्लिदिएकै भरमा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल, रक्षामन्त्री ईश्वर पोख्रेलदेखि तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालसम्म मुछिए ।

अरू पार्टी फुटाउने, आफू मस्ती गर्ने रणनीतिमा समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई कोरोना कहरका बीच पूर्वआईजीपीसमेतको ‘सहयोग’ लिएर ‘ससम्मान’ काठमाडौँ मात्र के ल्याएका थिए, ओलीमाथि ‘सांसद अपहरण’ आरोप लाग्यो ।

चर्चित ‘ललिता निवास’ जग्गा प्रकरणको छानबिन ओलीकै पहलमा भयो तर आफ्नै महासचिव विष्णु पौडेललगायत पूर्वशीर्ष नेतासमेत जोडिएको उक्त प्रकरणलाई बाहिर ल्याएपछि थाहा भयो- आफ्ना महत्त्वपूर्ण नेता नै त्यसमा मुछिएका रहेछन् । विवाद चुलिएपछि ओली आफैँ चुपचाप बस्ने अवस्थामा पुगे उक्त प्रकरणमा । यो प्रकरणले पनि ओलीको अनुहारमा हिलो छ्यापिदियो ।

ओलीको अर्को विशेषता हो- आफ्ना मान्छे जस्तोसुकै अवस्थामा, जस्तासुकै काण्डमा मुछिए पनि तीप्रति सद्भाव राखिरहन्छन्, प्रेम गरिरहन्छन्, साथ दिइरहन्छन्, च्यापिरहन्छन् ओली ।

यसको उदाहरणका रूपमा पूर्वमन्त्री गोकुल बाँस्कोटालाई आफ्नै घरको रुँगालु राखिरहनु, उनीमाथि छानबिनको सशक्तता नदेखिनु, ओम्नी प्रकरणका आरोपीलाई प्रमुख सल्लाहकारको जागिर दिइरहनु र अर्का २ मन्त्रीलाई च्यापिरहनुलाई लिन सकिन्छ । 

ओली निकट नेता तथा उनीसँग लामो समय जेलमा व्यतीत गरेकाहरूले भन्ने गरेका छन्, ‘केपी ओलीले नेपाली राजनीतिमा जेजे भोग्नुपर्ने हो, भोगिसकेका छन्, जेजे पाउनु वा नपाउनु पनि पर्ने हो, ती पनि पाइसकेका छन् । अब ओलीलाई लिनु-दिनु नै के छ र !’

उनको स्वभावले दिँदै नदिने पार्टीको अध्यक्ष र स्वभाव अनि व्यवहार र सोचले समेत नदिने प्रधानमन्त्रीसमेत उनले पाइसकेका छन् ।

‘राष्ट्रवाद’को मखुण्डो र ‘राजनेता’को पगरी

२०७२ असोजमा नयाँ संविधान जारी भएपछि पहिलो पटक प्रधानमन्त्री बनेका ओली पछिल्लो समय आफ्नो हितविरुद्ध, आफ्नो सुझाव बेवास्ता गर्दै संविधान जारी गरेकामा रुष्ट भारतले लगाएको नाकाबन्दीपछि भारतसँग ‘अडान’ र ‘टक्कर’ लिने ‘राष्ट्रवादी’ नेताका रूपमा ‘चर्चित’ बने । यससँगै उनलाई उनको कोटरीको एउटा हिस्साले ‘राजनेता’को पगरी नै गुथाइदियो, यद्यपि, राजनेताको वास्तविक अर्थ तिनलाई थाहै नहोस् ।

उनको उक्त चर्चालाई ‘लोकप्रियता’मा रूपान्तर गर्ने सुनौलो अवसर २ तिहाईको सरकार बनेसँगै आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा आएको थियो । तर, आन्तरिक वा बाह्य कारण उनी त्यसमा ‘खरो’ उत्रिन सकेनन् बरु सरकार बनेको आधा समयमै मन्त्रिपरिषद् फेरबदल गर्न बाध्य बने, जुन क्रम आजका मितिसम्म जारी छ किनकि ओलीलाई कुर्सी जोगाउनु छ, सत्ता टिकाउनु छ । यसका लागि उनले जुनकुनै हर्कत र जस्तासुकै सम्झौता जोकोहीसँग गर्न पछि परेका छैनन् । 

पछिल्लो समय नेकपालाई सर्वोच्च अदालतले पूर्ववत् २ वटा पार्टी एमाले र माओवादी केन्द्रमा फर्काइदिएपछि हिजो नाकाबन्दीका बेला सीमानाकामा बसेर भारततिरबाट नेपालमा ढुंगा हान्ने महन्थ ठाकुर-राजेन्द्र महतोहरूलाई काखी च्यापेर सत्ता जोगाउने खेल त खेले नै, त्यसका लागि राष्ट्रका निम्ति नै अहित हुन सक्ने नागरिकतासम्बन्धी अध्यादेशसमेत जारी गराए । भलै, हिजो मात्र अदालतले उक्त अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
 
उसो त, नेपालका कुनै पनि शासक (राजा, महाराजा, राणा वा अन्य कुनै प्रधानमन्त्रीहरू नै) भारतसँग ‘टक्कर’ गरेर छिनभर टिकेका उदाहरण छैनन् । तर, ओली नाकाबन्दीकालमा भारतसँग त्यत्रो ‘पौँठेजोरी खेलेर’, पछिलो प्रधानमन्त्रीत्वकालमा भारतका लागि नै चुनौती दिने ‘नयाँ नक्सा’ सार्वजनिक गरेर पनि सत्तामा निरन्तर छन् । त्यति मात्र होइन, आफ्नै पार्टीबाट समेत असहयोग हुँदा पनि, अल्पमतमा रहँदा पनि उनी ‘शेर’ शैलीमा कुर्सीमा विराजमान छन् ।

यसले त आमजनमा आशंका थपिदिएको छ- भारतसँग टक्कर लिएर पनि र आफ्नै दलको असहयोग हुँदा पनि ओली कसरी यति ‘शक्तिशाली’ ढंगले कुर्सीमा टाँसिइरहन सकेका हुन् ?

केही विश्लेषकहरूका मतमा ओली बाहिर जे बोल्छन्, भित्र अर्कै गर्छन् । ओलीको नियत र निशाना सामान्य मानिसले देखेजस्तो हुँदैन । यसर्थ उनी बाहिर आमजनलाई ‘राष्ट्रवाद’को भुलभुलैयामा राख्छन् र गोप्य सम्झौता गरेर टिक्छन् । कतै यस्तै कुनै राष्ट्रघाती सम्झौता भारतसँग गरेर त ओली सत्तामा टिकिरहेका छैनन् ? भन्ने आशंका अहिले आमजनमा व्याप्त छ ।

समृद्धि र विकासको सपना देखाउन सिपालु ओलीले नेपाली समाजलाई पछिल्लो समय विकास र समृद्धिका लागि उत्साहित बनाएका भने अवश्य हुन् । सपना देख्नै नजान्नेहरूका लागि सपनाका चाङ लगाइदिनु पनि त्यस्ता मान्छेलाई सपनाको पछि दगुराउनु हो, जसले एक दिन अवश्य समृद्धि र विकास हासिल हुने नै छ भन्ने आससम्म गर्न पाउँदासमेत हामी नेपाली दंग पर्नुपरेको छ । 

पछिल्ला दिनमा आफ्नै पार्टीभित्र विवाद र मतभेद समाधान गर्नसमेत नसकेका, प्रधानमन्त्रीको कुर्सी जोगाउन गर्नुपर्ने, नपर्ने, संविधानविरोधी, अलोकतान्त्रिक सबै खालका हर्कत गर्न बाध्य बने खड्गप्रसाद ओली उर्फ केपी शर्मा ओली । पार्टीभित्रको किचलो मिलाउन नसकेर ‘बरु कुर्सी भाँच्छु, अरूलाई यी कुर्सीमा बस्न दिन्नँ’ भन्ने ढिट भएका ओलीले २ पटक प्रतिनिधिसभा विघटन गरेका छन् । पहिलो पटकको विघटनलाई सर्वोच्चले बदर गरिदिएको छ भने पुनर्स्थापित प्रतिनिधिसभा पुनः विघटन गरेर अहिले त्यसबारे सर्वोच्चमा सुनुवाइ चलिरहेको छ ।

ओली अबका दिनमा भने संकटोन्मुख बन्दै गएका छन्, जसको संकेत २७ जेठका सर्वोच्च अदालतका ३ वटा आदेश, कर्णाली प्रदेशमा फ्लोर क्रस गरेका ४ जना सांसदको पुनर्वहाली, नागरिकता अध्यादेश कार्यान्वयन नगर्न दिइएको अन्तरिम आदेश र ओलीले गठन गरेको एमालेको महाधिवेशन आयोजक कमिटीलाई अवैधानिक ठहरका निर्णयहरुले दिएका छन् । उसो त, ओलीका विश्वास पात्र र निकट मानिएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई विश्वासको मत प्राप्त नभएर गुरुङको पद जानुले पनि ओलीका संकट सुरु भएका देखाउने विश्लेषण हुन थालेको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

थाहा नपाउँदै लोकतान्त्रिक राजनीतिको नशा सुरुभएछ-कक्षा ६ पढ्दा ।सायद मैले पढेको विद्य…

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

सरकारी कामकाजका सिलसिलामा कर्मचारी र सेवाग्राहीका बीच घुसको लेनदेन भएको दाबीका सा…

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

विश्व खाद्य मुद्रास्फीति भनिने नयाँ महामारीको चपेटामा छ । विगत २ वर्षयता कोभिड- १९ म…

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

डा. लक्ष्मीप्रसाद खतिवडा डाटाको कुरा गर्दा कम्प्युटर प्रणालीमा गणितीय ढाँचा (फर्म्याट)मा…