Khabarpato logo

         

बहस

प्रधानमन्त्रीज्यू, महेश बस्नेतको अभिव्यक्तिचाहिँ ठीक छ ?

घनेन्द्र ओझा

घनेन्द्र ओझा

प्रधानमन्त्रीज्यू, महेश बस्नेतको अभिव्यक्तिचाहिँ ठीक छ ?

शुक्रबारको बाग्मती प्रदेशसभामा सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी ओलीमाथि आक्रोश पोख्दै आफू नाथुराम गोड्से बन्ने अभिव्यक्ति दिए । उनको उक्त अभिव्यक्तिप्रति उनकै पार्टी नेपाली कांग्रेस र अन्य दलहरू, नागरिक समाज धेरैतिरबाट आलोचना भइरहेको छ । 

प्रधानमन्त्री ओली स्वयं अध्यक्ष रहेको दल नेकपा एमालेले वैद्यलाई कारबाही गर्न माग गरिरहेको छ भने वैद्यकै दल कांग्रेसले वैद्यको उक्त अभिव्यक्तिलाई अलोकतान्त्रिक, अमर्यादित र अशोभनीय भन्दै माफी माग्न वैद्यलाई निर्देशन दिएको छ ।

वैद्यले प्रदेशसभामा प्रधानमन्त्री केपी ओलीले गलत कामकारबाही गरिरहेका र उनका काम र व्यवहारले देश डुब्ने आसयको अभिव्यक्ति दिने क्रममा बढी उत्तेजित बन्दै आफ्नो स्तर अनि संसद र आफ्नै मर्यादाको ख्याल नगरी प्रधानमन्त्री ओलीलाई कसैले मार्नुपर्ने र कसैले मार्न अघि नसरे आफैँले ओलीलाई मारिदिने आसय व्यक्त गरेका थिए । उनले ओलीका लागि आफू गोड्से अर्थात् महात्मा गान्धीका हत्यारा जस्तै बन्ने बताएका थिए ।

निश्चय पनि- कुनै पनि व्यक्तिको हत्या गर्नेजस्तो अक्षम्य र गम्भीर अपराधको अभिव्यक्ति कसैबाट पनि आउनु त्यसै पनि खतरनाक विषय हो ! अझ कानुन बनाउने, जनताका प्रतिनिधिबाटै, त्यो पनि संसद जस्तो गरिमामय र प्रबुद्ध, मुलुकका/प्रदेशका शासकहरू समेत रहने स्थलमा यस्तो गम्भीर आपत्तिजनक अभिव्यक्तिले सबैतिर तरंग ल्याउनु अस्वाभाविक होइन ।

मान्छे हो, गल्ती, कमजोरी मान्छेबाटै हुने हो । तर, यसो भन्दैमा कानुनले राष्ट्रपतिले स्वास्थ्यकर्मी पिटिँदा केही समयअघि भनेजस्तो 'भावनात्मक उत्तेजनामा आउनु स्वाभाविकै हो' भनेर हृदयका कुरा गर्नुहुँदैन । यसो गर्नाले समग्र सामाजिक मनोविज्ञानले कानुनलाई नै बेवास्ता गर्छ र अराजकता अनि अपराधले प्रश्रय पाउँछ ।

वैद्यले जे बोले संसदमा, त्यो निश्चित रूपमै अपराध प्रेरित अभिव्यक्ति हो । उनले प्रधानमन्त्रीमाथि यस्तो अभिव्यक्ति दिएकाले सार्वजनिक चासोको विषय बने पनि उक्त अभिव्यक्ति सर्वसाधारणप्रति भए पनि त्यो उत्तिकै आपत्तिजनक आपराधिक अभिव्यक्ति हो ।

वैद्य सामाजिक जीवनमा 'चर्चित' र 'लोकप्रिय' पनि हुन् । उनका बाग्मती जोगाउने, सफा गर्ने अभियान, पशुपतिमा रोगी र दुःखीप्रति उनले गरेको सेवा, शिक्षा क्षेत्रमा गरिरहेका नि:स्वार्थ सेवाका कारण नरोत्तम वैद्य 'समाजसेवा' र 'पर्यावरण संरक्षण'का पर्याय बनिरहेका हुन् ।

तथापि, व्यक्तिभित्रै रहेका 'देव' र 'दानव' प्रवृत्तिको प्रकटीकरण अप्रत्यासित रूपमा असमयमा प्रकट हुने गर्छ, जसले कहिले 'रत्नाकर' डाकुलाई महर्षि 'वाल्मीकि' बनाइदिन्छ भने कहिले 'शान्त', 'सोझा', 'दयावान्', 'समाजसेवी' नरोत्तमहरूलाई 'हत्यारा' वा 'गोड्से' बन्न प्रेरित गर्छ ।

कतिपयले नरोत्तमको उक्त अभिव्यक्तिलाई 'क्रियाको प्रतिक्रिया', 'भावनात्मक उत्तेजना' भनेका छन् । हाम्रा शासकहरूले देश र जनतालाई गरिरहेको व्यवहारप्रति उत्तेजित र आक्रोशित बनेर वैद्यले 'प्रतिक्रिया' स्वरूप मात्र उक्त अभिव्यक्ति दिएको उनीहरूको तर्क छ ।

जे जसरी भनून्, आखिर हत्याको अभिव्यक्तिको बचाउ उचित हुन सक्दैन ।

यसैबीच वैद्यले आफूले शुक्रबार बढी उत्तेजनामा आएर गलत बोलेको स्वीकार गर्दै माफी मागिसकेका छन् ! उनले कुनै फौजदारी अपराध नगरी फौजदारी अपराधको आसय मात्र व्यक्त गरेका हुन् र त्यसको कानुनी उपचार वा सजाय के हुन सक्छ, त्यो सम्बन्धित निकाय र सरोकारवालाको विषय हो । तर, उनले संसदमा जनप्रतिनिधिका हैसियतमा जे बोले, त्यो गलत बोले र त्यसमा माफी मात्रले उनी मुक्त हुन्छन् वा हुँदैनन्, त्यो पनि सरोकारवाला निकायको चासोको विषय हो । जहाँसम्म लाग्छ- संसदमा अभिव्यक्त सांसदका धारणा वा विचारलाई लिएर कुनै मुद्दा लाग्दैन र कारबाही हुँदैन । यो विशेषाधिकार संसदभित्र तथानाम बोल्न र सांसदबीच काटमार गर्न नभई संविधान, कानुन, नीति निर्माणका सवालमा हुने बहसका लागि आउने तर्कपूर्ण बहसका लागि व्यवस्था भएको हुनुपर्छ ।

महेश बस्नेतको 'काउन्टर'

हुनत हिजो नरोत्तमले सिधै संघीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई मारिदिने भनेपछि यो मुद्दा सुकेको वनमा आगो जसरी फैलियो । यस्ता अभिव्यक्ति त स्वयं हालका प्रधानमन्त्री ओलीले पनि विगतमा दिएका छन् । उनले आफ्नै दलका सहयात्रीलाई समेत 'शहीद भएका भए श्रद्धाञ्जलि दिने' जस्ता तुच्छ अभिव्यक्ति दिएका हुन् । यसो भन्नु पनि कसैको मृत्युको कामना गर्नु हो र यस्तो मनोवृत्ति पनि स्वयंमा आपराधिक हो ।

यसरी नै केही समयअघि ओली खेमाकै केही नेताले माधव नेपाल खेमाका नेतालाई 'लेडी डायनालाई जस्तै गरिदिने' अभिव्यक्ति दिएका थिए भने 'कोटेश्वर-सल्लाघारीको बाटोमा टिपर चलाएर दुर्घटनामा पार्नुपर्छ' भन्ने तथा आफ्नै जीवित सहकर्मीलाई सार्वजनिक कार्यक्रममा 'श्रद्धान्जलि' दिनेसम्मका तुच्छ र निकृष्ट अनि अमर्यादित अभिव्यक्ति स्वयं प्रधानमन्त्री र उनका निकटहरूबाट आइरहेकै हुन् ।

यसैबीच नरोत्तमको उक्त अभिव्यक्तिको 'काउन्टर'मा ओलीका भित्रिया विश्वासपात्र तथा रक्षा कवच (ढाल) मानिने पूर्वमन्त्रीसमेत रहेका संघीय सांसद महेश बस्नेतले सामाजिक संजालमा कडा प्रतिक्रिया जनाउँदै 'महात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षड्यन्त्र कांग्रेसले बनाएको हो त ?' भन्दै  प्रश्न गरेका छन् ।

उनले गान्धीका हत्यारा नाथुराम गोड्से बन्न तयार छु भनेर वैद्यले प्रदेशसभामा खुल्लम खुला बोलिरहेको भन्दै तुरुन्त पक्राउ गरेर कारबाही गर्न माग पनि गरेका छन् ।

‘... अन्यथा जनताको आक्रोश प्रकट भएर यस्ता व्यक्तिलाई सडकमै प्रतिरोध गर्न सक्छन् । त्यस्तो अप्रिय घटना घट्नुभन्दा अगाडि सरकार सचेत हुनुपर्दछ । केपी ओलीलाई मार्ने योजना बनाइरहँदा याद गर, उहाँको लागि मर्न र मार्न तयार भएका हजारौँ समर्थक र शुभचिन्तक आफ्नो ज्यान दिन तयार छन्’, बस्नेतले लेखेका छन् ।

उनले मदन भण्डारीको रहस्यमय हत्याबाट प्रताडित जनसमुदाय र एमाले कार्यकर्ता आफ्नो नेताको रक्षा गर्न जे गर्न पनि तयार रहेको चेतावनीसमेत दिएका छन् ।

युवा नेता महेश बस्नेतको उक्त अभिव्यक्तिको शब्दमा र आसयमा जाऔँ- के बस्नेतको उक्त लेखाइमा चाहिँ छैन 'आपराधिक', 'अमर्यादित' अनि 'गैरकानुनी' अभिव्यक्ति र आसय ? उनले सोझै भनेका छन् त- 'केपी ओलीलाई मार्ने योजना बनाइरहँदा याद गर, उहाँको लागि मर्न र मार्न तयार भएका हजारौँ समर्थक र शुभचिन्तक आफ्नो ज्यान दिन तयार छन् ।'

यसको मतलब 'तिमीलाई पनि मार्न तयार छन् मेरा कार्यकर्ता' भनेको होइन ? के महेश बस्नेत राज्य हुन् ? कानुन र संविधान नै महेश बस्नेत हुन् ? उनले वा उनका कार्यकर्ता अर्थात् केपी ओलीका 'हजारौँ समर्थक र शुभचिन्तक'ले चाहिँ मार्दा पनि 'अपराध' वा 'हत्या' ठहर्दैन ? के उनको यो अभिव्यक्तिचाहिँ कानुनसम्मत छ ? उनको यो अभिव्यक्ति दण्ड/सजाययोग्य छैन ? कि ओलीका कार्यकर्ता/समर्थक वा उनका खेमाका नेता/कार्यकर्ता हुनुका कारण बस्नेत वा माथि उल्लेख गरिएका तुच्छ अभिव्यक्ति दिने स्वयं प्रधानमन्त्री ओली र उनका नेता/कार्यकर्ताले चाहिँ माफी माग्नु, गल्ती स्वीकार्नुपर्दैन ? वा यसनलाई चाहिँ नरोत्तमलाई लाग्ने कानुन लाग्दैन ? यी गम्भीर सवालको जबाफ पाउन गाह्रो छ बरु यस्ता प्रश्न उठाएबापत हुन सक्छ यो पंक्तिकारमाथि उल्टो प्रहार हुन सक्छ, कुनै पनि रूपमा ।

हिंसाको जगबाट उठेको राजनीति: जे सिके, त्यही गर्दै छन्

नेपालको सन्दर्भमा हेर्ने हो भने पनि परापूर्वकालदेखि नै नेपाली राजनीतिमा हिंसा, हत्या र आतंकको मात्रा बढी नै देखिन्छ । राजनीतिक सत्ता हत्याउन यहाँका राजा-रजौटाबीच, शासकहरू आफैँभित्र र भाइ-भारदारबीच हत्या र हिंसाको ठूलै राजनीति भएको पाइन्छ इतिहासमा । यो क्रम १९०३ सालमा जंगबहादुरले शासन सत्ता आफ्नो हातमा लिएर जहानियाँ राणाशासनको सुरुवात गरेपछि अझ व्यापक बन्यो । काकालाई भतिजले सिध्याउने, भाइलाई दाजुले, दाजुलाई भाइले हत्या गर्ने वा बन्धक बनाउने जस्ता कार्य सय वर्षभन्दा बढी समयसम्म चल्यो नेपालमा ।

राणाकालको अन्त्यतिर जनताको स्तरबाट राणाको निरंकुशताको विरोध र प्रजातन्त्रको माग बढ्न थाल्दा पनि हत्या र हिंसाको क्रम रोकिएन । राणाविरोधी ४ जनालाई मारियो भने कतिलाई जेलमा सडाइयो, कतिलाई देश निकाला गरियो । आफ्नो खाईपाई आएको सत्तामा धावा बोल्नेलाई निमिट्यान्न पार्ने विश्वको जुनकुनै मुलुकमा, जुनकुनै शासकको नियत हुन्छ, हुँदै आएको छ । यही कुरा नेपालका तत्कालीन शासकमा पनि देखियो ।

उसो त, ऊबेलाका क्रान्तिकारी वा विद्रोहीहरूले पनि अंजुलिमा पानी बोकेर राणाको विरोध गरेका थिएनन् । सशस्त्र द्वन्द्व नै थियो विद्रोहीहरूको पनि । र, स्वाभाविक रूपमै त्यो शान्तिपूर्ण नभएर हिंसात्मक हुने नै भयो । 

समग्रमा, राजनीतिसँग हिंसा र हत्या अन्योन्याश्रित हुँदै आएको छ, विगतदेखि नै । समाज विकासको क्रमसँग जोडेर हेर्दा सामन्तवादी युगबाट विश्वमा बढी हत्या, हिंसाको राजनीतिले प्रश्रय पाएको देखिन्छ । यो क्रमको अन्त्य वर्तमान विश्व राजनीतिमा देखिँदैन बरु झनै बढिरहेको छ ।

त्यसयताका हरेकजसो नेपाली राजनीतिक परिवर्तन हिंसा, हत्या र आतंककै जगमा भएका छन् । ७ दशकदेखिका नेपाली राजनीतिका ‘मसिहा’ दलहरू कम्युनिस्ट (नेकपा हुँदै माले, मार्क्सवादी, एमाले भएर नेकपा अनि फेरि एमाले-माओवादी केन्द्र नै रहेको) र कांग्रेसले विगतमा राणाकालदेखि पंचायतसम्म हतियाररहित होइन, हतियारसहित अर्थात् सशस्त्र क्रान्ति नै गरेका हुन् । 

वास्तवमा भन्ने हो भने नेपाली राजनीतिमा हतियार बोक्न सिकाउने वा सुरुवात गर्ने आफूलाई ठूलै प्रजातन्त्रवादी, उदारवादी र शान्तिवादी ठान्ने नेपाली कांग्रेस नै हो । उसले राणाकालमा त हतियार उठायो नै, पछि पंचायत फाल्न पनि हतियार उठायो । सरकारी ढुकुटी लुटपाटको शृंखलाको सुरुवात पनि कांग्रेसबाटै भयो । २०३० सालको विमान अपहरण यसको गतिलो उदाहरण थियो ।

२०२० सालको दशकमै झापा विद्रोहका नाममा ‘सामन्तका टाउका गिँड्ने’ सीपी मैनाली, राधाकृष्ण मैनालीहरू अझै नेपाली राजनीतिमा बाँचिरहेकै पाइन्छ । तत्कालीन कम्युनिस्ट पार्टीहरू नेकपा मार्क्सवादी र मार्क्सवादी-लेनिनवादीको पृष्ठभूमि पनि हत्या र हिंसाभन्दा परको देखिँदैन । यही क्रममा कांग्रेस-कम्युनिस्ट दुवैतर्फका केही ‘शहीद’ बने भने कति निर्वासित र बन्दी बने ।

२०५० सालपछिको नेपाली राजनीति त झनै १० वर्ष लामो हिंसा, हत्या र आतंकको जर्जर अवस्थाबाट गुज्रियो । तत्कालीन नेकपा माओवादीले सुरु गरेको सशस्त्र, उसकै शब्दमा, ‘जनयुद्ध’ले मुलुक एक दशक लामो हिंसात्मक द्वन्द्वमा फस्यो, जसका कारण ध्वस्त भएको भौतिक संरचना, जनतामा उत्पन्न ‘ट्रमा’, सामाजिक-सांस्कृतिक र आर्थिक दुरवस्थालाई उकास्न अझै लामो समय लाग्ने देखिन्छ । यसबीचमा हजारौँ मानिसले ज्यान गुमाए, त्यसको क्षतिपूर्ति त असंभव नै छ ।

यहीबीच दरबार हत्याकाण्ड भयो, जुन अझै रहस्यको गर्भमै छ । कतिपयले राजनीतिक हिसाबले उक्त हत्याकाण्डको विश्लेषण गर्दै आएका छन् भने कतिले बाह्य शक्तिको ‘चलखेल’का रूपमा हेरिरहेका छन् । यद्यपि, त्यसपछिको नेपाली राजनीतिले अर्कै मोड लिएको भने अवश्य हो ।

नयाँ राजा ज्ञानेन्द्रले आफ्नो शासकीय अहं लाद्ने महत्त्वाकांक्षा देखाएसँगै जब भूमिगत सशस्त्र युद्ध गरिरहेको माओवाद र संसदवादीहरू राजाको कदमविरुद्ध एक भएर जाने अघोषित सहमतिमा पुगे, तब पनि जनआन्दोलनका क्रममा १९ जनाले बलिदानी दिए ।

यो लोकतन्त्र (पछि गणतन्त्र) प्राप्तिपछि पनि रोकिएन । अनेक जात, क्षेत्र, लिंग, वर्गका नाममा देशभर हिंसात्मक आन्दोलन भए । शक्ति र सत्ताका लागि (नाम अधिकारको लिए पनि) विद्रोह, हिंसा र आन्दोलन देशैभर चर्कियो । तराईका विभिन्न ठाउँमा दर्जनौँ मानिस मारिए, जसको खोजीनीति अहिले भइरहेको छ । एक जना संघीय सांसद रेशम चौधरी हाल जेलमा छन् भने अर्का सांसद अफताब आलम अहिले अनुसन्धानका क्रममा थुनामा छन् । उता, अन्य सांसद र नेताहरूबारे पनि त्यसबेलाका हिंसा र हत्याका घटनाको संलग्नताबारे चर्को आवाज उठिरहेको छ । हुँदाहुँदा बहालवाला मन्त्रीहरूसमेत यस्ता अनेक हिंसा र हत्याका घटनामा संलग्न भएको पुष्टि हुँदै जाने खतरा बढेको देखिन्छ ।

समग्रमा, राजनीतिसँग हिंसा र हत्या अन्योन्याश्रित हुँदै आएको छ, विगतदेखि नै । नेपाली राजनीतिमा पनि अहिले पनि विभिन्न असन्तुष्ट स्वार्थ समूहहरू सशस्त्र हिंसात्मक द्वन्द्वमा सरिक छन् । उनीहरूको व्यवस्थापन गर्न वा उनीहरूलाई सन्तुष्ट गराउने दिशामा राज्य लाग्नुको सट्टा राज्य आफैँ प्रतिकारमा उत्रिएर अझ हिंसा र हत्याको राजनीतिलाई प्रश्रय दिइरहेको छ ।

र, नेपाली राजनीतिमा जो जुन दलले यसबीचमा सत्ता सम्हालिरहेका छन् वा शासन गरिरहेका छन्, ती हरेकजसोको पृष्ठभूमि हत्या, हिंसा नै हो । हत्या, हिंसाको पृष्ठभूमिबाट आएकाहरू शान्तिप्रिय हुन्छन्, अहिंसावादी हुन्छन् भन्नु अर्को भ्रम हो । र, आफूलाई दूधले नुहाएको ठान्ने उनीहरूको अहं उनीहरूको उठान कसरी भयो र अहिलेको उनीहरूको सोच र व्यवहार के कस्तो छ भन्ने विश्लेषण गरे धुलिसात् हुन्छ ।

यही क्रममा कहिलेकाहीँ झुक्किएर वा नियतवस नै पनि कुनै राजनीतिक नेता वा राजनीतिक कार्यकर्ताका बोली, वचन र व्यवहारबाट यस्ता हिंसात्मक कुरा बाहिर आउने गरेका छन् । यो हाम्रै अग्रजले हिजो गरेको कृत्यको असर हो भने अपराधवृत्ति र अपराध अनि हिंसाको चाह, धम्की वा कार्य अघिल्लो पुस्ताले देखाएको र सिकाएको खतरनाक दृश्य अनि हिँडाएको बर्बादीको बाटो हो । यसर्थ, नरोत्तम वैद्य वा महेश बस्नेतहरूका अभिव्यक्ति र व्यवहार कुनै आश्चर्य होइनन् हामीकहाँ- अग्रजका पदचापका आवाज मात्र हुन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

थाहा नपाउँदै लोकतान्त्रिक राजनीतिको नशा सुरुभएछ-कक्षा ६ पढ्दा ।सायद मैले पढेको विद्य…

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

सरकारी कामकाजका सिलसिलामा कर्मचारी र सेवाग्राहीका बीच घुसको लेनदेन भएको दाबीका सा…

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

विश्व खाद्य मुद्रास्फीति भनिने नयाँ महामारीको चपेटामा छ । विगत २ वर्षयता कोभिड- १९ म…

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

डा. लक्ष्मीप्रसाद खतिवडा डाटाको कुरा गर्दा कम्प्युटर प्रणालीमा गणितीय ढाँचा (फर्म्याट)मा…