Khabarpato logo

         

बहस

निरन्तर साख गुमाउँदै ओली, उठाउने अवसर शून्य

घनेन्द्र ओझा

घनेन्द्र ओझा

निरन्तर साख गुमाउँदै ओली, उठाउने अवसर शून्य

नेपाली राजनीति पछिल्लो समय अन्योलपूर्ण भुमरीमा फसेको छ । गत आमनिर्वाचनमा नेपाली जनताले विश्वास र भरोसाका साथ स्थिर सरकारका लागि दिएको झण्डै दुई तिहाइ मतलाई जोगाउन नसकेर सत्तारुढ कम्युनिस्ट घटकहरूले आपसी लडाइँ र कुर्सीको लुछाचुँडीमा सत्तालाई अस्थिर बनाएपछि नेपाली राजनीति यस्तो भुमरीमा फसेको हो ।

३ वर्षअघि २ ठूला कम्युनिस्ट घटकहरू नेकपा एमाले र माओवादी केन्द्रले ‘एकता’को घोषणा गरेपछि नेपाली राजनीतिमा स्थिरता र मुलुकमा समृद्धिको अपेक्षा गरिएको थियो । तर, उक्त एकता पूर्ण हुन नपाउँदै चलेका आन्तरिक ‘खुराफात’ले नवसंयोजित भनिएको नेकपा र उसले नेतृत्व गरेको सरकारसमेत अस्थिरता र कलहको दलदलमा फसे । त्यसको नकारात्मक असर देशको विकास र समृद्धिमा त पर्‍यो नै, मुलुकमा अराजकता, भ्रष्टाचार र दुराचार पनि त्यसकै फेरोमा मौलाए ।

यसबीच सरकारमै सहभागी मन्त्रीहरू स्वयं करोडौँ रुपैयाँका अनेक भ्रष्टाचार काण्डमा मुछिए । सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोडको काण्डमा तत्कालीन संचारमन्त्री गोकुल बाँस्कोटा मुछिए भने ललिता निवास जग्गा प्रकरणमा नेकपाका महासचिवसमेत रहेका विष्णु पौडेल मुछिए ।

त्यसो त यसबीचमै रहस्यमय बनिरहेको किशोरी निर्मला पन्त बलात्कार र हत्या प्रकरणले सरकारको अनुहारमा पोतिदिएको कालो अझै सफा हुन सकेको छैन । सत्ताकै चलखेलका क्रममा युवा नेता तथा पूर्वमन्त्री महेश बस्नेत र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसमेत मुछिएको सांसद अपहरण काण्ड पनि यो सरकारका अनुहारमा लागेको कालो धब्बा नै हो ।

३३ किलो सुन प्रकरण, जसलाई 'गोरे काण्ड' भनेर पनि चिनिन्छ, त्यस काण्डको किनारा पनि लाग्न सकेको छैन, जुन काण्डले पनि ओलीको 'क्षमता'लाई गिज्याइरहेको छ ।

यसैबीच वैश्विक महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण मुलुकलाई एक प्रकारले बन्दी बनाइदियो । आर्थिक, सुामाजिक, शैक्षिकलगायतका हेरकजसो क्षेत्र कोरोनाका कारण ठप्प भए । दिनहुँजसो जनको मृत्यु नियति बनेर आयो ।

कोरोनाको रोकथाम र नियन्त्रणका लागि सरकारले न पूर्वतयारीमा ध्यान दियो, न त प्रभावकारी कार्य गर्न सक्यो । बरु कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओली ‘विज्ञता’ प्रदर्शन गर्न थाले- ‘गार्गल गर्नू, अम्बाका पात खानू, बेसारपानी खानू, कोरोना फु मन्तर हुन्छ’ भन्दै ।

हुँदाहुँदा संसदमा समेत प्रधानमन्त्री आफ्नो विज्ञताबारे ‘शानपूर्वक’ गफ दिन पछि परेनन्- नेपालीको रोग प्रतिरोधी क्षमता प्रचुर छ भन्दै ।

र, अहिले आएर पछुताउन त पछुताए आफ्ना विगतका ‘हावा’ तर्क सम्झिएर यद्यपि, त्यसमा माफी माग्नुपर्छ भन्ने उनलाई त थाहा हुने कुरै भएन किनकि प्रधानमन्त्री ओलीले आफ्नो गल्ती आजसम्म महसुस गरेर माफी मागेको रेकर्ड पाउन गाह्रो छ । उनका सहयोगी, सल्लाहकारले समेत उनलाई माफी मागेर ‘इमान’ देखाउन भन्न सकेनन् ।

यहीबीचमा अत्यावश्यक औषधि र स्वास्थ्य सामग्री खरिद प्रकरण जन्मियो- ओम्नी काण्डका नाममा । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालदेखि रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकालसम्म मुछिएको उक्त काण्डमा न छानबिन गरियो, न त कुनै 'दायित्वबोध ।'

'ओली राष्ट्रवाद'को बिकाउ प्रचारका लागि अर्को 'फण्डा' फाले प्रधानमन्त्री ओलीले- नयाँ नक्साको । नक्सा सार्वजनिक भएपछि 'हाईहाई' भएका ओलीको उक्त 'फण्डा' पनि उदाङ्गियो, जब पाठ्यपुस्तकमा नयाँ नक्सा राख्न सकेनन् । बरु केही समयमै एउटा भारतीय 'प्रोपोगण्डा' टेलिभिजन च्यानललाई अन्तर्वार्ता दिए ओलीले । उक्त अन्तर्वार्ता लिने 'पत्रकार'लाई सगरमाथासम्मको यात्राको प्रबन्ध मिलाइदिएर सगरमाथामा भारतीय दाबीका लागि माहोल बनाइदिए । यसबाट उनको 'राष्ट्रवादी' छबिमा पुनः दाग लाग्यो । यस्ता काण्ड त दर्जनौँ भए यसबीचमा ओली पार्टी नेतृत्व र सत्तामा आएपछि । यी केही प्रतिनिधि काण्ड मात्र हुन् ।

दागैदागले बिरूप बन्दै गएको ओलीको राजनीतिक अनुहार पछिल्लो समय पार्टी विभाजनका दिशामा अघि बढेपछि झनै नराम्ररी बिग्रिएको छ । उनी पार्टी र सरकारमा जुनकुनै हालतमा अडिइरहने सोचमा छन् । यसका लागि पार्टीका लामो समय लगानी गरेका, नेतृत्व गरेका माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरूलाई कारबाही गरेर होस् वा अपमानित र हतोत्साहित गरेरै भए पनि 'बढार्ने' नीतिमा छन् ।

तर, उनको यस्तो 'कूटिल' नीतिलाई केही दिनअघि सर्वोच्च अदालतले 'हावा खुवाइदिएको' छ- असन्तुष्ट माधव खेमालाई पन्छाएर बनाएको महाधिवेशन आयोजक कमिटीलाई अवैध फैसला गरेर ।

उसो त, 'ओली अहं'मा पछिल्लो समय पटक पटक धक्का लागिरहेको छ । यसै साता मात्र ओलीमाथि ४ वटा 'भयानक' प्रहार भए । सर्वोच्चले महाधिवेशन आयोजक कमिटीलाई अवैध भएको फैसलासँगै कर्णाली प्रदेशका फ्लोर क्रस गरेका ४ जना सांसदको पुनर्वहाली अनि जनता समाजवादी पार्टीको महन्थ-राजेन्द्र खेमालाई सरकारमा ल्याएर कुर्सी जोगाउने नियतका साथ जारी नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशले ओलीको अहंमा ठूलै धक्का हाने । 

यससँगै आफ्नो पक्षका मुख्यमन्त्री रहेको गण्डकी प्रदेश सरकार ढलेर विपक्षी गठबन्धनका हातमा पुग्यो । उता, लुम्बिनी प्रदेश सरकार पनि 'काइते' पाराले मात्र टिकिरहेको छ, जुनसुकै बेला ढल्ने अवस्थामा छ ।

यी सबै तथ्य उल्लेख गर्नुको कारण हो- ओलीको गिर्दो साख र खस्कँदो लोकप्रियताबारेको चिन्ता ।

केपी ओलीको राजनीतिक उठानका बारेमा अघिल्ला लेखहरूमा (केपी ओलीको 'जन्मकुण्डली') चर्चा गरिसकेको छु । उनको पछिल्लो समयको 'लोकप्रियता' र 'हाईहाई'को फेहरिस्त पनि उल्लेख भइसकेकै छ । 

'अप्रत्यासित' अवसरका कारण नेकपा एमालेमा 'हावी' हुँदै पार्टी अध्यक्ष र २/२ पटक कार्यकारी प्रधानमन्त्री बनिसकेका ओली २०७२ सालमा भारतले गरेको नाकाबन्दीका कारण निकै सद्भाव र सम्मान पाएका ओली दोस्रो पटक प्रधानमन्त्री बनेपछि भने क्रमशः 'नाङ्गिँदै' गए र त्यो क्रम निरन्तर छ । अझ वर्तमानमा ओलीको सत्तामा 'टिकाउ'को रहस्यबारे भारतकै 'आशीर्वाद' र 'छत्रछाया' रहेको आँकलन बढिरहनुले ओलीलाई झनै शंकाको घेरामा तानेको छ ।

राजनीतिक जीवनमा यस्ता उतारचढाव आउनुलाई सामान्य नै ठानिन्छ तथापि केही सन्दर्भ र घटना यस्ता हुन्छन्, जसले धेरै गतिला र 'महान्' ठानिएका नेतृत्वहरूको राजनीतिक जीवन उत्तरार्द्धमा पुगेर निकै ध्वस्त बनेको छ । नेपाली राजनीतिमै केही त्यस्ता पात्र छन्, जो कुनै समय 'आदर्श' थिए, पछि कसैले नाम नलिनेमा पुगे ।

तर, कसैले भने आफ्नो गिरेको साखलाई पुनरुत्थान गर्ने अवसर पनि पाएका छन्- जीवनको उत्तरार्द्धमा आएर । यस्तै एक पात्र थिए गिरिजाप्रसाद कोइराला । 'जण्ड' र 'एकोहोरो' स्वभावका कोइरालाले 'अहं'का कारण छँदाखाँदाको स्पष्ट बहुमतको सरकार ढालेर मध्यावधिमा जाकेपछि कांग्रेसको र मुलुकको पनि हविगत सुरु भयो । त्यसकै कारण गिरिजाप्रसाद कोइरालाको समग्र साख निकै तल झर्‍यो । 'मर्दाका मलामी'समेत नपाउने अवस्थामा पुगे कोइराला ।

तर, कोइरालाको खप्पर बलियो भएरै होला- त्यहीबीचमा दरबार हत्याकाण्ड भयो । राजा वीरेन्द्रको वंशनासपछि अधिराजकुमार ज्ञानेन्द्र शाह राजा बने । बाबु राजा महेन्द्रकै स्वभाव र महत्त्वाकांक्षा भएका ज्ञानेन्द्रले क्रमशः प्रत्यक्ष शासन चलाउने महत्त्वाकांक्षा देखाएपछि कोइरालाले आफ्नो विगतको 'नालायकी' र 'बेबकुफी' पखाल्ने अवसर पाए ।

अन्तत: कांग्रेस र कोइरालासमेतले परिकल्पना नगरेको र कुनै नीतिमै नभएको 'गणतन्त्र', 'संघीयता' र 'धर्म निरपेक्षता'मा डोहोरिएर कोइराला दोस्रो जनआन्दोलनका 'नायक' बने । त्यसै घटनाले 'छिछि', 'दूरदूर' बन्दै गएका कोइराला मर्नेबेलामा हाईहाई मात्र बनेनन्, प्रशस्त मलामीसमेत कमाए ।

यो सन्दर्भ पनि केपी ओलीको 'लोकप्रियता'मा ह्रासबारेको चिन्ताका लागि उल्लेख गरिएको हो ।

दोस्रो जनआन्दोलनका बेला गणतन्त्रविरोधी अभिव्यक्ति 'बयलगाडा चढेर अमेरिका पुगिँदैन, राजासँग निहुँ खोजेर जितिँदैन'लाई त २ पटक गणतन्त्रकै प्रधानमन्त्री भएर आंशिक रूपमा पखाले तर ओलीका सामु अब कोइरालाको जस्तो समग्रमा आफूलाई पखाल्ने वा दोषमुक्त बनाउने अवसरको संभावना शून्यप्राय: छ । भइरहेको साखलाई जोगाउने मात्र होइन, उनकै शब्दमा 'अरिङ्गाल'हरूले भन्दै आएका 'राजनेता' बन्ने सुवर्ण अवसरसमेत ओलीले 'क्यास' गर्न सकेनन् ।

राजनेताको अर्थ, महत्त्व र महत्ताबारे ओली स्वयंचाहिँ जानकार छैनन् भन्ने लाग्दैन तर उनले आफ्नो हैसियत 'राजनेता'को छैन भन्ने महसुस गरे सायद र नै उनी सामान्य राजनीतिक कार्यकर्ताकै रूपमा मात्र प्रस्तुत भइरहे यसबीचमा । 

कुटिल चाल, व्यवहारमा खुराफात, छुच्याइँ, अपमानजनक आक्रोश, अस्थिर र उत्तेजित अभिव्यक्ति अनि जण्ड, अराजक र प्रतिक्रियावादी सोच र कामकारबाहीका कारण आज खड्गप्रसाद शर्मा ओलीले नेपालको इतिहासमै महान् बन्ने अवसर गुमाइसकेका छन् । अब उमेर, शारीरिक अवस्था, राजनीतिक परिवेश आदि धेरै कारणले केपी ओलीले गिरिजाप्रसाद कोइरालाले जीवनको उत्तरार्द्धमा पुनर्प्राप्ति गरेको जसरी आफ्नो साख र सम्मान प्राप्त गर्ने संभावना पनि शून्य बनेको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

थाहा नपाउँदै लोकतान्त्रिक राजनीतिको नशा सुरुभएछ-कक्षा ६ पढ्दा ।सायद मैले पढेको विद्य…

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

सरकारी कामकाजका सिलसिलामा कर्मचारी र सेवाग्राहीका बीच घुसको लेनदेन भएको दाबीका सा…

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

विश्व खाद्य मुद्रास्फीति भनिने नयाँ महामारीको चपेटामा छ । विगत २ वर्षयता कोभिड- १९ म…

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

डा. लक्ष्मीप्रसाद खतिवडा डाटाको कुरा गर्दा कम्प्युटर प्रणालीमा गणितीय ढाँचा (फर्म्याट)मा…