जो वाइडेनको १९ खर्बको कोभिड राहत प्याकेज पारित
अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रस्ताव गरेको १९ खर्ब डलर बराबरको कोभिड राहत प्याकेज अमेरिकी संसदबाट पारित भएको छ ।
महामारीका कारण आर्थिक रूपमा प्रभावित अमेरिकी परिवारलाई सहयोग गर्ने मनोसायसहित बाइडेनले राष्ट्रपति नियुक्त हुनासाथ यो प्रस्ताव पेस गरेका थिए । बुधबार भएको मतदानमा प्रस्तावको पक्षमा बहुमत प्राप्त भएको हो ।
सिनेटबाट पारित भइसकेकाले अब यसलाई कानुनमा परिणत गर्न बाइडेनको हस्ताक्षर मात्र आवश्यक पर्नेछ । यो कोभिड प्याकेज पारित हुनुलाई बाइडेनको ठूलो उपलब्धि मानिएको छ । ह्वाइट हाउसका प्रवक्ता जेन साकीका अनुसार राष्ट्रपति बाइडेनले आगामी शुक्रबार नै यसमा हस्ताक्षर गर्नेछन् ।
प्रस्तावमा अधिकांश अमेरिकी नागरिकहरुलाई सिधै १ हजार ४०० डलर बराबरको पैसा प्रदान गरिने भनिएको छ । बेरोजगारी भत्तालाई पनि वृद्धि गरी प्रतिहप्ता ३०० डलर पुर्याइएको छ ।
स्कुल खुलाउनका लागि १३० अर्ब डलरको कोष, कोभिड–१९ को परीक्षण तथा अनुसन्धानका लागि ४९ अर्ब र खोप वितरणमा १४ अर्ब डलर खर्च गरिने भनिएको छ । अघिल्लो प्रस्तावमा न्यूनतम पारिश्रमिकलाई पनि ७.२५ डलरबाट बढाएर प्रतिघण्टा १५ डलर बनाउने भनिएको थियो । यो प्रस्ताव भने सिनेटबाट पारित भएन ।