संसद पुनःस्थापनासँगै जन्मिएको नयाँ राजनीतिक परिवेशमा सबैभन्दा पुरानो दल नेपाली कांग्रेसको आवश्यक भूमिका र उसले चाल्न सक्ने सम्भावित कदमका बारेमा राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजीहरू भइरहेका छन् । संसदमा प्रमुख प्रतिपक्षीको हैसियतमा रहेको कांग्रेस पछिल्लो ३ वर्ष कुम्भकर्ण निद्रामा थियो । सरकार, सदन र आफ्नै संगठनको बेवास्ता गरेर गैरजिम्मेवार ढंगले सुतेको कांग्रेस ३ वर्षपछि सत्ताको गन्ध आउनासाथ जुरुक्क उठेको थियो ।
अहिले एमाले-माओवादी मिश्रित नेकपाको अप्रत्यासित विग्रहले बहुमतको केपी ओली सरकार गठबन्धन सरकारमा परिणत भएपछि संसदमा बहुमत पुर्याउन र आफूअनुकूल सरकार निर्माण गर्न हैसियतप्राप्त सबै दलहरू क्रियाशील रहेको अवस्था छ ।
यस्तो परिस्थितिमा पुनःस्थापित संसदमा ६३ सांसद संख्यासहित दोस्रो ठूलो दलको रूपमा रहेको नेपाली कांग्रेसले पनि कताकता गुलेलीमा मट्याङ्ग्रा चढाउँदै छ । आफ्नो आगामी स्पष्ट कार्यदिशा तय गर्न नसकेको कांग्रेसले धमिलो पानीमा माछा मार्न आतुर हुनुको साटो अब अरू ढिलो नगरीकन पुरानो र अनुभवी पार्टीको हैसियतले देशको समग्र राजनीतिक अन्योललाई दीगो मार्गनिर्देश गर्ने गरी प्रभावकारी मार्ग चित्र कोर्न ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता छ ।
बामपन्थीहरूले सैद्धान्तिक विचलनबाट सिर्जित अन्योलबाट पार पाई देश हाँक्न नसक्ने तथ्य करिब पुष्टि भइसकेको यस अवस्थामा प्रचलित विधि र पद्धतिको ठोस मूल्यांकन गरी आवश्यक परे आफ्नो पार्टीको सिद्धान्त र शासकीय स्वरूपसमेतमा समयानुकूल परिमार्जन गरी देशलाई दिशा दिने कामको नेतृत्व गर्ने जिम्मेवारी अब नेपाली कांग्रेसको काँधमा आएको छ ।
कांग्रेसले आफ्नो पार्टीको मात्र स्वार्थ सिद्ध गर्ने उद्देश्य परित्याग गरी आगामी गठजोडको सत्ता चाट्न लालायित हुने हो भने देशको समग्र अवस्था अझ दशकौँ पछाडि धकेलिने निश्चित छ । किनभने २०१५ सालको जनमतको संरक्षण गर्न नसक्दा ३० वर्ष पछिपरेको र २०४६ सालको परिवर्तनको व्यवस्थापन गर्न नसकेका कारण माओवादी हिंसा, व्यापारिक एवं भ्रष्ट राजनीतिक मानसिकतायुक्त अस्तव्यस्त शासन, गुटतन्त्रको वर्चस्वलगायत कांग्रेसकै अक्षमता, अदूरदर्शिता र आन्तरिक गुटगत अवसरवादीताद्वारा सिंचित बेथितिजन्य वातावरणले मुलुकलाई थप ३० वर्ष पछि हुत्याइसकेको जगजाहेरै छ । यसर्थ आफूले गरेको फोहोर आफैँले नसोरे, सफा नगरे जुनसुकै पन्थी, क्रान्तिकारी र प्रगतिशील आए पनि त्यही कांग्रेसले उत्सर्जन गरेको फोहोरको थुप्रोमा लट्पटिने, लडिबुडी गर्ने, त्यही दुर्गन्ध पिउने काम मात्र हुँदोरहेछ ।
त्यसको सरसफाईको नेतृत्व गर्न तत्पर हुने भन्दा त्यसलाई अझ बढी छरपस्ट बनाउने रहेछन् भन्ने महसुस गरी मुलुकलाई अग्रगमनमा घिस्याउनका निमित्त सशक्त र निस्वार्थ पहल गर्ने जिम्मा र राष्ट्रिय एकताका लागि सबै पक्षलाई राष्ट्रहितको एकल लक्ष्यको छत्रछायामा गोलबन्द गराई कानुनी राजतर्फ अग्रसर गराउने दायित्वलाई शिरोधार्य गर्दै आमूल परिवर्तनको दिशामा अग्रसर हुने एउटा अवसर समयले फेरि कांग्रेसको हातमा सुम्पिएको छ ।
नेपाली कांग्रेसको विधान, २०१७ को प्रस्तावनामा, '...राष्ट्रियता र लोकतन्त्रको संरक्षण गर्दै लोकतान्त्रिक समाजवादको आदर्शअनुरूप ...नेपाललाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रूपमा स्थापित गरी राजनीतिक, सामाजिक र आर्थिक विकास गर्ने उद्देश्यले ... यो विधान संशोधनसहित लागू गरिएको छ' लेखिएको छ । राष्ट्रियता र लोकतन्त्रको राम्रो परिभाषा नगरी ईश्वर कहिल्यै नदेखेको कुनै धर्मभिरुले 'ईश्वरको रक्षा गर्छु' भनेझैँ पाखण्डी ढंगले बिछ्यौनामा सुकुला हुँदै मनोगत विचरण गरेका भरमा राष्ट्रियता र लोकतन्त्रको रक्षा गर्छौं भन्नु विगत तीस वर्ष रक्षा गरेको देख्नेहरूले नपत्याउलान् ।
अनगिन्ती संगठन र तिनका समितिका गठन र (बे)काम, कर्तव्य र अधिकारले भरिएको ८० पृष्ठ लामो उक्त विधानलाई ५ पृष्ठमा समेट्न सक्ने गरी सांगठनिक सुधार गरी युगको माग र पार्टी स्थापना कालको आदर्शबमोजिम वास्तविक लोकतान्त्रिक समाजवादको जग बसाउनका निमित्त, यो गुटतन्त्रको जरो उखेलेर फाल्नका लागि वैचारिक ध्रुवीकरणको नेतृत्व कांग्रेसले लिनुपर्ने भएको छ ।
घुमिफिरी कांग्रेसकै सैद्धान्तिक मार्गमा आइपुगेकाहरू सबैले कांग्रेस आफैँ अलमल्ल परेको देखेर, कांग्रेस आफैँले लोकतन्त्र र समाजवादको मार्गचित्र नबुझेको देखेर, कांग्रेस आफैँले लोकतन्त्रको धज्जी उडाउँदै गुटतन्त्रको सहर्ष अभ्यास गरेको देखेर, कांग्रेस आफैँले राष्ट्र र जनहितविपरीत व्यक्ति र गुटहितकारी फोहोरी व्यापारिक राजनीतिक खेल खेलेको देखेर त्यसैको निर्बाध र निसंकोच अनुसरण गर्दै आएका छन् ।
के हो लोकतन्त्र ? स्वतन्त्रता र स्वच्छन्दता एउटै हुन् ? समाजवाद को मर्म के हो ? के सिद्धान्तको मर्म नै नबुझी, बुझिसकेपछि त्यसको उद्देश्य पूर्तिका लागि कुनै मार्गचित्र नै नबनाई, मार्गचित्र बनेपछि सोबमोजिम इमान्दारीपूर्वक त्यसलाई कार्यरूप नदिई लोकतान्त्रिक र समाजवादी सिद्धान्तको प्रतिमा स्थापित गरेर पुज्दैमा राष्ट्र निर्माणको लक्ष्य पूरा हुन्छ ? यदि हुँदैन भने, हजारौँ शहीदको बलिदानलाई आफ्ना भान्साको ओदानमा नसेकाउने हो भने, त्यही पुरानो फोहोरी नियमअनुसार सत्ताको खेलमा अलमलिएर समय खेर फाल्नु भन्दा सर्वप्रथम आफ्नो पार्टीको भित्र/बाहिर धोइ/पखाली/काँटछाँट गरी सानो, छरितो र तन्दुरुस्त बनाएर व्यापक राजनीतिक ध्रुवीकरणको नेतृत्व कांग्रेसले गर्नुपर्छ ।
२००७ सालको परिवर्तनका लागि अग्रपंक्तिमा हिँडेको, २०४६ सालमा बामपन्थीसमेतलाई लोकतान्त्रिक मार्गमा समाहित गर्न सफल भएको, २०६२/०६३ सालमा आशावादी नेपाली जनताको विशाल जनसमर्थनप्राप्त आन्दोलनको अगुवा र गणतन्त्रात्मक संविधान निर्माणको समेत पथ-प्रदर्शकको भूमिका निभाएको अनुभवको सदुपयोग गर्दै देशको भविष्यको रेखा कोर्न क्रियाशील होस् नेपाली कांग्रेस, भन्ने आमजनचाहनाको सम्मान होस् । त्यसैमा सबैको भलाइ छ ।