Khabarpato logo

         

फिचर/स्थानीय विकास

विरासत गुमाउँदै गएको कांग्रेस: ... तर सुध्रिँँदैैन

घनेन्द्र ओझा

घनेन्द्र ओझा

विरासत गुमाउँदै गएको कांग्रेस: ... तर सुध्रिँँदैैन

नेपाली राजनीतिमा पछिल्लो समय घोर अनिश्चितता, अन्योल र छटपटी बढेको छ । छँदा खाँदाको करिब दुई तिहाइ मतको कम्युनिस्ट सरकार सत्तारुढहरूबीचकै किचलोका कारण घिटीघिटी बनिरहेका बेला सर्वोच्च अदालतले एकीकरण गरेको भनिएका २ कम्युनिस्ट घटक एमाले र माओवादी केन्द्रलाई आआफ्नै घर आँगनमा फर्काइदिएपछि अहिले नेपाली राजनीतिको पारो एक्कासि बढेको हो ।

झन्डै ३ वर्ष अगाडि १० वर्ष सशस्त्र संघर्ष गरेर आएको माओवादी केन्द्र र अढाइ दशक सत्ता संवाद चाखेको एमालेबीच चुनावी गठबन्धनसँगै पार्टी एकताको तहसम्म पुग्यो । आमनिर्वाचनमा यी २ दलको गठबन्धनलाई जनताले प्रस्ट बहुमत दिएर ५ वर्षका लागि स्थिर सरकार बनाएर देशलाई समृद्ध, शान्त र विकसित बनाउने आसमा सत्तामा पठाए । तर, चर्कोएको माटोको भाँडो जस्ता यी दलले चर्किएको ठाउँ लुकाउँदै लेप लगाएर एकता भइसकेको भ्रम छाडिरहे आमजनमा ।

आखिर माटोको भाँडो स्थायी रूपमा जोडिने अवस्था थिएन, कुनै लेपले चर्किएको टाँस्न सकेन ।

प्रधानमन्त्री तथा तत्कालीन एमालेका अध्यक्ष (एकीकृत भनिएको नेकपाका समेत अध्यक्ष) केपी शर्मा ओलीलाई नचिनेर, उनको स्वभाव र प्रवृत्तिलाई नबुझेर हो वा शान्ति प्रक्रियामा आएपछिका दिनमा आफ्नै पार्टीभित्र भएका बिग्रह, विरोध, फुट र मतभेदलाई थेग्न नसकेर आफ्नो अस्तित्व रक्षार्थ हो- प्रचण्डले आफ्नो दशकौँको राजनीतिक विरासत र हजारौँको बलिदानीलाई तत्कालीन नेकपा एमाले र ओलीका काखमा बिसाइदिए ।

त्यो घटना निकै आश्चर्यको मात्र थिएन, नेपाली राजनीतिक आन्दोलनमा एकातर्फबाट हेर्दा देश र जनतालाई ठूलै धोका र कम्युनिस्ट आन्दोलनको पूर्णत: अवसान थियो भने अर्को पाटोबाट हेर्दा अराजकताको अन्त्य र शान्तिको आस पनि । किनभने सशस्त्र हिंसात्मक द्वन्द्वको धङधङीको पनि प्रचण्डहरूमा अन्त्य भएको थियो यससँगै ।

तथापि, जनचाहना र अपेक्षा अनि अनुमान सार्थक हुन सकेन 'नेकपा' एकीकरणले । अन्तत: सर्वोच्च अदालतको फैसलाले यी दुवै दललाई 'पुनर्मुसिको भव:'को अवस्थामै पुर्‍याइदियो ।

यो सन्दर्भ वर्तमानको राजनीतिक परिदृश्यका लागि मात्र ।

विषय प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको हो ।

कांग्रेस जहानियाँ राणाहरूको विरुद्ध सशस्त्र क्रान्ति गरेर, ३० वर्षे निर्दलीय र निरंकुश पंचायतविरुद्ध लडेर/भिडेर अनि २०६२/०६३ सालको दोस्रो जनआन्दोलनमा समेत महत्त्वाकांक्षी तानाशाही राजा ज्ञानेन्द्रसँग पनि लडाइँ जितेर आएको नेपाली राजनीतिको पुरानो पार्टी हो । कांग्रेससँग अनेकौँ राजनीतिक विरासत त छन् नै, सँगसँगै देश र जनताप्रतिका जिम्मेवारी, कर्तव्य र दायित्व पनि छन । किनभने कांग्रेस यस्तो पार्टी हो, जो राणाकालको अन्त्यसँगैदेखि नेपाली राजनीतिको सत्तामा रह्यो, जसले राणासँग सरकार चलायो (२००७), एकलौटी दुई तिहाइको सरकार चलायो (२०१५), एकलौटी एकमना सरकार पनि चलायो (२०४८-०५१), (२०५६) अनि बीचमा संयुक्त सरकारहरूको नेतृत्व पनि गर्‍यो ।

यी यावत अनुभव र अवसर पटकपटक पाइरह्यो कांग्रेसले तर सत्तामा रहेर वा प्रतिपक्षमै रहेर पनि कांग्रेसले देश र जनताका खातिर गर्‍योचाहिँ के त ? यो विषय खोतल्दा भने विरक्त लाग्छ ।

संघर्षमा रहुन्जेल जेजति अपेक्षा कांग्रेसप्रति आमजनको थियो, सत्तामा आएपछि त्यो सबै निराशामा बदलिने नियति पटकपटक दोहोरियो । उसो त सबैजसो राजनीतिक दलको अवस्था र जनअपेक्षाबीच तालमेल कहिल्यै देखिएको छैन ।

कांग्रेस लामो राजनीतिक संघर्षबाट आएको, जनजनमा भिजेको, सत्ता अभ्याससमेत निकै लामो समय गरेको पार्टी भएकाले पनि आमजनको कांग्रेसप्रतिको अपेक्षा र भरोसा बढी हुनु अस्वाभाविक पक्कै होइन । तर, कांग्रेसले भने यो तथ्य कहिल्यै बुझेन ।

स्थापनाकालदेखि नै आपसी लडाइँमा, जुँगाको भिडन्तमा, कुर्सीको तानातानमा तल्लीन कांग्रेस पछिल्लो समयसम्म पनि यिनै विषयमा रुमल्लिइरह्यो । बीपी-मात्रिकाबीच, बीपी-सुवर्णबीच हुँदै गिरिजा-गणेशमान-कृष्णप्रसादबीचका मतभेद र अहंयुद्ध गिरिजा-शेरबहादुर, शेरबहादुर-रामचन्द्रसम्म पुगेको छ भने यही अग्रजको बाटोमा पछिल्लो पुस्ताका गगन-गुरु-विश्व-एनपी-धनराजहरूसमेत जोडिएका छन् ।

देश र जनताकै अभिभावक बन्नुपर्ने कांग्रेसले सत्तामा रहँदा आसेपासे, आफन्त, तस्कर, दलालको पक्षपोषणलाई विकास र समृद्धि मानिरह्यो, जसका कारण प्रभावशाली र क्षमतावान नेताहरू खुमबहादुर खड्का, चिरन्जीवी वाग्ले, जयप्रकाश गुप्ताहरू भ्रष्टाचार काण्डमा जेल कोचिए र उनीहरूको राजनीतिक अनि नैतिक जीवनसमेत धरापमा पर्‍यो ।

मुलुकको विकास र समृद्धिको विषय कागजी योजनामा सीमित गरेर कांग्रेस आपसी लडाइँमा भिड्यो, विकासका योजना अलपत्र परे । देशका उद्योग/कलकारखाना बेच्यो (बेच्नु आवश्यक थियो कि थिएन, बहसको पाटो होला), नयाँ उद्योग/कलकारखाना खोल्न ध्यान दिएन । शिक्षा र स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको प्रवेश गरायो तर उपयुक्त विधि/नियमन र अनुगमनको अभावमा यी क्षेत्र पूरा माफियाका हातमा पुर्‍याइयो र आज सामान्य मानिसले गतिलो शिक्षा आफ्ना सन्तानलाई दिलाउन नसक्ने बनाइयो । राम्रो उपचार सामान्य मानिसको पहुँचभन्दा टाढा पुर्‍याइयो ।

यस्ता अनेकौँ तथ्य छन कांग्रेसका 'बेबकुफी'का, जुन फेहरिस्त बनाउँदा लामै हुन्छ ।

उसो त देउवाले आफ्नै पार्टीभित्रको व्यवस्थापनसमेत सही ढंगले, समयमै र निष्पक्षतापूर्वक गर्न सकेका छैनन् । देउवामा रहेको क्षेत्रीयतावाद, नातावाद र कृपावादको स्वभाव केपी ओलीको स्वभावसँग धेरै हदसम्म मिल्ने गरेको टिप्पणी पनि यदाकदा सुनिन्छ । यही समान स्वभाव र गुणका कारण पनि ओली-देउवा अघोषित स्वार्थपूर्ण गठबन्धन र भागबण्डा रहेको छ भन्ने पनि खबर र टिप्पणीहरू आइरहन्छन्

अब आऔँ वर्तमानमा ।

वर्तमानमा नेपाली राजनीतिको दशा र दिशा अन्योलग्रस्त छ । यस अवस्थामा बाह्य र भित्री स्वार्थ समूह र अनेक शक्तिको चलखेल स्वाभाविक हो । धमिलो पानीमा जाल थाप्नेहरू यसै पनि बढ्छन् नै । यो तथ्यबाट सबै दल जानकार छन तथापि सत्ता र शक्तिको लोभका कारण उनीहरू त्यही धमिलो पानीमा रमाउँछन् ।

अहिले सर्वोच्चको फैसलापछिको राजनीतिक तरलतामा देशभित्रकै विभिन्न शक्तिहरू रुमल्लिइरहेका छन् । सत्ताको नेतृत्व गरेका केपी शर्मा ओली आफ्नै दल (गठबन्धन)बाट टाढिएपछि मधेसकेन्द्रित र अन्य दलसँग घाँटी जोड्ने कसरतमा छन भने यही मौकामा ओलीलाई तुच्छ टिप्पणीसहित सत्ताबाट ओलीलाई लखेट्नुपर्ने बताउँदै आएका जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईसमेत बालुवाटारतिर छिरेका खबर आइरहेका छन् ।

यो सत्ता र शक्तिको स्वादले गराएको हो भन्नेमा दुई मत छैन ।

अबका दिनमा यदि बाबुराम ओलीका कट्टर समर्थक र अनुयायी बनेमा अस्वाभाविक मान्नुपर्ने पनि छैन ।

यहीबेला प्रमुख प्रतिपक्ष कांग्रेस पनि बुदुना माछाको लोभमा धमिलो पानीमा जाल थापिरहेको समाचार बाहिरिएका छन् ।

यदि कांग्रेसले सत्ताको लोभमा यहीबेला सत्तामा सहभागिता जनाएमा त्यो कांग्रेसका निम्ति इतिहासकै अक्षम्य भूल हुने टिप्पणी पनि भइरहेका छन् ।

यस्तो टिप्पणी सही किन पनि हो भने, गत निर्वाचनमा आमजनले कांग्रेसलाई ५ वर्ष रचनात्मक प्रतिपक्षको भूमिकामा रहन भनेका हुन् । एमाले-माओवादी केन्द्र गठबन्धनलाई शासनाधिकार सुम्पिएका हुन् । यसर्थ कांग्रेसको यसबीचको भूमिका सिर्जनशील आलोचकका रूपमा हुनुपर्ने हो । तर, यो अवधिमा कांग्रेस प्रमुख प्रतिपक्षका रूपमा नरहेर प्रधानमन्त्री ओलीका हरकर्तुत र गलत कामकारबाहीको फड्के किनाराको साक्षीका रूपमा रह्यो ।

ओलीले कार्यकारी प्रधानमन्त्रीका रूपमा अहं र दम्भपूर्वक गरेका धेरैजसो कामकारबाहीको आलोचना गर्न, विरोध जनाउन र त्यस्ता कामकारबाही रोक्न प्रमुख प्रतिपक्ष कांग्रेस हरेक पटक चुक्यो/चुकिरहेको छ ।

उता, प्रधानमन्त्री ओली भने खोक्रो राष्ट्रवादको फुइँमा राज्यकोषको दुरूपयोग गर्ने र मुलुकलाई अनिर्णयको बन्दी बनाउने दिशामा निरन्तर अग्रसर छन् ।

यसबीचमा ओली प्रवृत्तिको उनकै दलभित्रसमेत त्यति ठूलो विरोध र आलोचना अनि आन्दोलन हुँदा पनि प्रतिपक्ष कांग्रेस भने 'नेकपा'कै असन्तुष्टहरूको विरोध, आलोचना र आन्दोलन हेरेर आफ्ना हात/खुट्टा/मुख बाँधेर/बन्द गरेर बसिरह्यो ।

लोकतन्त्रमा प्रतिपक्षको व्यवस्था गरिनुका केही अर्थपूर्ण कारण छन । जस्तो कि- सरकार निरंकुश नहोस्,  गलत र संविधानविरोधी, जनहित र देशहितविरुद्ध कुनै काम सरकारबाट नहोस्, सरकारलाई गलत कामकारबाही हुनबाट प्रतिपक्षले रचनात्मक आलोचना वा विरोध गरेर रोकोस् आदि । तर, हामीकहाँ विगतमा हरेक दलले प्रतिपक्षमा रहँदा संसदमा तोडफोड, सडकमा आगजनी त विधंशलाई प्रतिपक्षको खास भूमिका ठाने । त्यसले देशको धनजनको नोक्सानी मात्र गर्‍यो भने विकास र समृद्धिको यात्रामा गहिरो चोट लाग्यो ।

अहिले आएर नेपाली कांग्रेस अत्यन्त कमजोर र मृतप्राय: प्रतिपक्षको हैसियतमा देखियो । हरेक क्षेत्रमा बढेको अस्थिरता, अनियमितता, अराजकता र भ्रष्टाचारलाई रोक्न वा नियन्त्रण गर्न न कांग्रेस अघि सर्‍यो, न त सरकारलाई यसका लागि जिम्मेवार बनाउन नै कुनै भूमिका खेल्यो ।

कतिपयले त भन्ने पनि गरेका छन- शेरबहादुर देउवा अर्थात् प्रमुख प्रतिपक्षका नेता प्रधानमन्त्री केपी शर्मा ओलीका छायाबाहेक केही बन्न सकेनन् । दृश्य हेर्दा र देउवाको व्यवहार हेर्दा यो आलोचना गलत ठहर्दैन पनि ।

उसो त देउवाले आफ्नै पार्टीभित्रको व्यवस्थापनसमेत सही ढंगले, समयमै र निष्पक्षतापूर्वक गर्न सकेका छैनन् । देउवामा रहेको क्षेत्रीयतावाद, नातावाद र कृपावादको स्वभाव केपी ओलीको स्वभावसँग धेरै हदसम्म मिल्ने गरेको टिप्पणी पनि यदाकदा सुनिन्छ । यही समान स्वभाव र गुणका कारण पनि ओली-देउवा अघोषित स्वार्थपूर्ण गठबन्धन र भागबण्डा रहेको छ भन्ने पनि खबर र टिप्पणीहरू आइरहन्छन् ।

मुलुकको इतिहासकै गम्भीर मोडमा पुगेको वर्तमान राजनीतिलाई सही मार्गमा ल्याउन पुरानो र अनुभवी राजनीतिक दलको हैसियतले कांग्रेसका सामु महत्त्वपूर्ण जिम्मेवारी आएको छ । यसबेला कांग्रेस जनमतविपरीत सत्तामा जान हतारिनुहुँदैन बरु अब २ वर्ष पनि बाँकी नरहेको आमनिर्वाचनलाई लक्षित गरेर आफ्ना कमीकमजोरीबारे गम्भीर समीक्षा गर्दै संगठन निर्माण, विस्तार, प्रशिक्षण र आफ्ना योजना वितरणमा ध्यान र व्यवहार केन्द्रित गर्नुमा कांग्रेसको हित छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…