झण्डै ६ महिनापछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र असन्तुष्ट खेमाका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायतबीच अहिले पार्टी कार्यालय धुम्बाराहीमा भेटवार्ता चलिरहेको छ ।
यी २ खेमाबीच जुँगाको लडाइँले निकै लामो समय लिएको छ । झण्डै ३ वर्षअघि तत्कालीन नेकपा माओवादी केन्द्र र एमालेबीच पार्टी एकीकरणको घोषणापछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेपाल, खनाल र रावलहरू केपी ओलीका विरुद्ध एकातिर थिए । पार्टीभित्रको सत्ता संघर्षमा लामो समय खर्च गरेका उनीहरूले झण्डै दुई तिहाइको बामपन्थी सरकारलाई नै अस्तव्यस्त बनाइरहेका छन् । यसैबीच केही दिनअघि मात्र नेकपा नामको विवादमा सर्वोच्च अदालतले ऋषि कट्टेलका नाममा पहिल्यै दर्ता कायम रहेको फैसला गर्दै यी २ दललाई साविककै एमाले र माओवादी केन्द्रमा फर्काइदिएपछि एमालेभित्रको राजनीति भने झनै पेचिलो बन्दै गएको थियो ।
असन्तुष्ट नेपाल-खनाल खेमाका झण्डै ४० जना सांसदले असहयोग गरेमा वा सत्ता साझेदार माओवादी केन्द्रले ओलीलाई दिएको समर्थन फिर्ता गरेमा बामपन्थी सरकार ढल्ने निश्चित हुँदा ओली माधव नेपाल र झलनाथ खनाल खेमालाई कसै गरी फकाएर सत्ता टिकाउने दाउमा रहेका विश्लेषण हुन थालेको छ ।
जनताले स्थिर शासनका लागि ५ वर्षलाई मत दिएर पठाएका बामपन्थी नेतृत्वको आन्तरिक अहंयुक्त लफडाका कारण मुलुक नै अस्थिरता र अराजकताको भासमा फसिरहेका बेला यस्तो अवस्थाबाट कसरी मुक्त हुने भन्ने विषयमा नेतृत्वको सोच पुगेको देखिँदैन । अझै पनि उनीहरू आफ्नै निहित स्वार्थको डम्फु बजाएर तमासा गरिरहेका आमजनको गुनासो कायम छ ।
यही बेला आज संवाद र उल्झनको समाधानको प्रयास स्वरूप एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले असन्तुष्ट खेमाका नेतालाई बोलाएर संवाद र सहकार्यको प्रस्ताव गर्न गरेको प्रयासलाई भने सकारात्मक रूपमा हेरिएको छ ।
तर, ओलीको ललिपप कति मीठो हुनेछ खनाल-नेपाल खेमाका लागि भन्ने कुरा भने हेर्न बाँकी छ ।
विश्लेषकहरूका अनुमानमा ओलीले नेपाल-खनाल खेमालाई राम्रै र मीठै ललिपप देखाउनेछन् । स्रोतहरू भन्छन्, ‘माधव नेपाललाई पार्टीभित्र कार्यकारी दिने र आफू अभिभावकीय भूमिकामा रहने ओलीको योजना छ ।’ तर, यो आँकलनमाथि अर्को पक्षले प्रश्न उठाएको छ- छँदा खाँदाको दुवै हातको लड्डु छाडेर शक्तिविहीन भएर ओली बस्न सक्लान् र !
यदि यसो भइहालेमा पनि अर्को समस्या पाटीभित्र कायमै रहनेछ, त्यो हो खनाल, रावललगायतका नेताको व्यवस्थापन ।
नेपाल वा खनाल वा रावल कसैले मात्र ओलीले दिएको ललिपप खाएर मस्तीले बस्न सक्ने अवस्था नेपाल खेमामा पनि छैन । घनश्याम भुसाल, योगेश भट्टराईलगायतका बौद्धिक र युवा भनिने अनि अबको पार्टीको संसार आफैँले थेग्न सक्ने चर्का तर्क गर्दै आएका नेताहरूको उचित व्यवस्थापन पनि ओली, नेपाल, खनालका लागि चुनौतीपूर्ण हुनेछ ।
हुनत नेपाल-खनाल खेमाको असन्तुष्टि कुनै सैद्धान्तिक नभएर पदीय देखिन्छ । पार्टीका पूर्वनेतृत्वसमेत रहेका नेपाल-खनालले ओली पार्टी सत्तामा आएपछि अनुभूत गरेको हेपाइ र हीनताबोधको परिणाम नै हिजोको एकीकृत भनिएको नेकपा र आजको पुनर्मुसिको भवः नियतिमा रहेको एमालेभित्रको लडाइँ हो भन्ने विश्लेषण पनि गलत ठहर्दैन ।
उसो त सत्ता वा शक्तिमा रहनेहरूको स्वाभाविक चरित्र हुन्छ कि पेलेर जाऊँ, निरंकुश बनूँ र सकेसम्म लामो समय शक्ति र सत्ता टिकाऊँ । विगतमा झण्डै डेढ दशक एमालेको नेतृत्व गरेका माधवकुमार नेपालले पनि ओलीमाथि त्यसबेला उस्तै व्यवहार गरेकै हुन् । त्यसकै बदलाभाव ओलीमा पछिल्लो समय देखिएको हुन सक्ने पनि विश्लेषण हुने गरेको छ ।
तथापि, वर्तमान समय राजनीतिक, आर्थिकलगायत सामाजिक र राष्ट्रिय जीवनका यावत् पक्षमा अस्थिरता र समस्या आइरहेको समय हो । यसबेलै विश्वव्यापी महामारी कोरोनाको प्रकोपका कारण मुलुकको आर्थिक, शैक्षिकलगायत क्षेत्र डामाडोल बनेको छ । उत्पादनका क्षेत्र थिलथिलो बनेका छन् । जनता अनेकौँ समस्या र त्रास झेल्न बाध्य छन् । यही बेला सत्तारुढ दलभित्रको किचलोले स्थिर मानिएको सरकार ढलमल हुने र ढल्ने खतराबाट जोगाउन सर्वप्रथम त्यही दलको अग्रसरता आवश्यक थियो, छ ।
यस कारण आज एमालेका २ खेमाबीच भइरहेको वार्ता सकारात्मक बन्नु र सफल भई मुलुकलाई स्थिरता, विकास र समृद्धिको बाटोमा लैजान दुवै खेमाबीच सहकार्य हुनु जरुरी छ ।
तथापि, माथि भनिएझैँ एकअर्काका व्यक्तिगत हितलाई मात्र हेरेर सत्ता र पद टिकाउने नियतले मात्र कुनै सम्झौता भएमा त्यो दीर्घकालीन हुन सक्दैन । पार्टीभित्रका दुवै खेमाका नेतालाई सन्तुष्ट बनाउने गरीको मिलनबिन्दु आजको बैठकले खोज्न जरुरी छ ।