हुनत निकै अघिदेखि तत्कालीन (सर्वोच्चको फैसलापछि वर्तमान पनि) नेकपा एमालेमा विभिन्न खेमा छँदै थिए । २०४७ सालमा तत्कालीन माले र मार्क्सवादी एकता भएर बनेको एमालेमा २०५० सालमा दासढुंगा दुर्घटनामा तत्कालीन पार्टी महासचिव मदन भण्डारीको मृत्यु भएपछि प्रस्ट धार वा खेमा देखापरे ।
माले र मार्क्सवादीबीचको एकतालाई नै 'बाध्यात्मक' ठानिरहेका दुवै पक्षका केही नेताले एकताबीच 'एडजस्ट' हुन सकस भइरहेका बेला अचानक पार्टी महासचिवको मृत्युले ठूलै तरंग ल्यायो । तथापि, मनमोहन अधिकारी जस्ता त्यसबेलाका पाका र बुझ्झकी नेताहरू पनि सोही पार्टीमा रहनुले ऊबेलाका 'आलाकाँचा' ठिटाहरूलाई अभिभावकत्व दिँदै पार्टीलाई सहज रूपले गतिशील बनाउन सके ।
भलै, पार्टी नेतृत्व 'आलाकाँचा'मध्येकै माधवकुमार नेपालको काँधमा आइपर्यो, जसलाई नेपालले निस्फिक्री झन्डै डेढ दशक उपयोग गरे ।
हो, त्यही डेढ दशकको माधव नेपाल नेतृत्वको एमालेले गरेको संगठनकै जगमा आजको एमाले जीवित छ । र, त्यही जगलाई भत्काउन एमालेभित्रका 'जिम्मेवार' र आज 'अभिभावक' बनेका नेताहरू कम्मर कसेर लागेका छन् ।
विगत निर्वाचनमा दुई तिहाइ नजिक मत प्राप्त गरेका बामपन्थी दलहरू आफैँभित्र लडाइँ गरिरहेका छन्, पानी बारबारको अवस्थामा छन् । देश र जनताको हविगत के छ ? कसरी मुलुकलाई विकसित र जनतालाई समृद्ध बनाउने भन्नेतिर तिनको ध्यान छैन
माधवकुमार नेपालको ऊबेलाको आफूप्रतिको हेयभाव, कुदृष्टि र बेवास्ताको रनाहामा आज केपी ओली छन् । आफ्ना विरोधीलाई हदैसम्म पेल्न र लखेट्न तयार हुने स्वभावका माधव नेपालले ऊबेला आफू पार्टीको महासचिव हुँदा ओलीलगायत आलोचक खेमाका नेतालाई के गर्न बाँकी राखेका थिए र ?
हो, त्यही अर्थात माधव नेपालले नै स्थापित गरेको कार्यशैली, परंपरा र व्यवहारलाई ओलीले वर्तमानमा निरन्तरता दिएका हुन्, अनुसरण गरेका हुन् भन्छन् विश्लेषकहरू ।
सत्ता र शक्तिको 'उन्माद' हरेक शासकमा हुन्छ- चाहे देशको सत्तामा रहने हुन् वा पार्टीको । हो, त्यही सत्ता उन्मादका कारण हाम्रा राजनीतिक दलका नेतृत्वले पटकपटक दल र देशलाई डुबाइरहेका छन्, बर्बादीतिर धकेलिरहेका छन् ।
हिजो कांग्रेस र अन्य दलमा अनि आज एमालेमा देखिएको समस्या पनि यही हो । पार्टी नेतृत्वमा रहँदा संस्थापन खेमाले अर्को खेमालाई गरेको व्यवहारलाई 'गोमनका आँखामा दुश्मन'झैँ गरेर इखका रूपमा लिइरहने हाम्रा नेतृत्वको समस्या हो ।
यही समस्याका कारण हरेकजसो दलभित्र लफडा छ, झगडा छ, मतभेद र मनभेद छ ।
आफ्नो खेमाको भोलि र पर्सि आयोजना हुने राष्ट्रिय भेलाको तयारीलाई बताए पनि वास्तविक कारण ओलीको व्यवहार, बेवास्ता र पछिल्ला कदम नै हुन् । अझ थप कारण त धेरैले अनुमान गरिसकेकै छन्- वर्तमान राष्ट्रपति संवैधानिक हिसाबले 'रबर स्ट्याम्प', व्यावहारिक हिसाबले पार्टी अध्यक्ष ओलीको 'पपेट'कै हैसियतमा छन्
यसैबीच आज विगत निर्वाचनमा दुई तिहाइ नजिक मत प्राप्त गरेका बामपन्थी दलहरू आफैँभित्र लडाइँ गरिरहेका छन्, पानी बारबारको अवस्थामा छन् । देश र जनताको हविगत के छ ? कसरी मुलुकलाई विकसित र जनतालाई समृद्ध बनाउने भन्नेतिर तिनको ध्यान छैन ।
यही मेसोमा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई सत्ताच्युत गर्न र सके पार्टी नेतृत्वबाटै हटाउन नेपाल-खनाल खेमा दत्तचित्त भएर लागेको छ । विगतमा पार्टी नेतृत्व गरिसकेका नेपाल-खनालले सरकारको नेतृत्वसमेत गरिसकेका छन् । उनीहरूलाई प्रस्ट थाहा छ पार्टीभित्रको र सरकारको सत्ता के हो भनेर । तर, ओली उनीहरूलाई सत्ता सुम्पिन तयार छैनन् । तयार होऊन् पनि कसरी, जबकि ओली आफैँमा नेपाल-खनालभन्दा धेरै गुणा चलाक, धूर्त र खतरनाक खेलाडी हुन् ।
यस्तो बेलामा संवादबाट पार्टीभित्रको समस्या हल गर्ने भनेर लामो समयको वार्ताशून्यताको अवस्था भंग गर्दै हिजो ओलीले नेपाल-खनाल खेमालाई बोलाए । लामै वार्ता भयो तर सफल हुन सकेन । ओली-अहंका सामु नेपाल-खनाल 'म्याउँम्याउँ' निरीह साबित भयो ।
ओली आफ्ना निर्णयलाई 'पत्थरका अक्षर' ठान्छन्, उनी उचालिसकेको हतियार बिसाउनभन्दा आफ्नै खुट्टा छिनाउन खुसी मान्छन् । हिजोको असन्तुष्ट खेमासँगको बैठकमा पनि ओलीले त्यस्तै गरे । २८ फागुनको नेपाल-खनाल खेमाविरोधी ओलीले गरेका निर्णय फिर्ता गर्न नेपाल-खनाल खेमाले राखेको माग ओलीले 'रद्दीको टोकरी'मा फालिदिए ।
त्यसपछि ओलीप्रति झनै आक्रामक र तीब्र बनेको नेपाल-खनाल खेमा आज अध्यक्ष ओलीले आयोजना गरेको चियापानमा त सहभागी भएन नै, राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा समेत गएन ।
यसको कारण आफ्नो खेमाको भोलि र पर्सि आयोजना हुने राष्ट्रिय भेलाको तयारीलाई बताए पनि वास्तविक कारण ओलीको व्यवहार, बेवास्ता र पछिल्ला कदम नै हुन् । अझ थप कारण त धेरैले अनुमान गरिसकेकै छन्- वर्तमान राष्ट्रपति संवैधानिक हिसाबले 'रबर स्ट्याम्प', व्यावहारिक हिसाबले पार्टी अध्यक्ष ओलीको 'पपेट'कै हैसियतमा छन् । उनले जे जस्तो बैठक वा परामर्श गरे पनि वा अन्य दलका नेताले जेजस्ता सुझाव र सल्लाह दिए पनि अन्तत: कार्यान्वयन हुने अध्यक्ष ओलीकै निर्णय र निर्देशन हुन् ।