नारीका विषयमा चर्चा हुँदा मुख्यतया दुईओटा सूक्ति अघि सार्ने गरिन्छ । शास्त्रप्रति सद्भाव भएको आदर्शवादी रहेछ ‘भने यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’ (जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ देवताहरू रमाउँछन्) भन्छ । यही एक श्लोकबाट उसले समग्र पूर्वीय दर्शन र चिन्तनलाई चिहाउन ऊ सफल हुन्छ । उसको नजरमा हाम्रा शास्त्रहरू नारीका सम्बन्धमा हदैसम्म उदार छन् । नारीलाई सम्मान गर्ने यस्तो परम्परा त कतै पनि देखिँदैन ।
अर्काे किसिमको प्रगतिवादी परेछ भने ‘ढोल, गवाँर, शूद्र, पशु, नारी, ये पाँचोेँ ताडनके अधिकारी’ भन्छ । यसैलाई आधार मानेर हाम्रो समग्र समाजको वर्गीय विश्लेषण गर्न त्यस्तो मान्छे अग्रसर भइदिन्छ । उसको कामै मनुस्मृति आदिको भत्र्सना गर्ने, नारीहरू पछि पर्नुको सम्पूर्ण दोष ब्राह्मणवादी पितृसत्ताले निर्माण गरेको सामन्ती सत्तालाई आरोप गर्ने र त्यसको बहानामा संस्कृत वाङ्मयलाई रद्दी साबित गर्ने ।
यसरी हाम्रो महिलावादी चिन्तन दुई किसिमका अतिवादबाट ग्रस्त छ । वास्तवमा इतिहास शक्ति संघर्षबाट निर्माण भएको हुन्छ । शाक्तिशाली वर्गले निमुखामाथि आफ्नो प्रभुत्व लाद्ने काम पहिला पनि गथ्र्यो, अहिले पनि गरिरहेकै छ । बरु शक्ति कुन चिजमा रहन्छ, त्यो महत्त्वपूर्ण कुरा हो । कुनै समयमा मातृगणमा पनि सत्ताको शक्ति थियो, बिस्तारै पुरुष शाक्तिशाली बने । जो शक्तिमा आयो, उसले आफूअनुकूलका अनुशासन र मर्यादा पनि बनायो । समाज विकासको चरणमा कहिले को कहिले को शक्तिशाली बन्नुलाई खासै नौलो मानिँदैन ।
तर, धेरै लामो समयदेखि नारीहरू उत्पीडनमा परेको कुरा त निर्मम सत्य हो । सतीप्रथाको मार खप्ने पनि नारी, छुवाछुतको झटारो सहने पनि नारी, बालविवाह, बहुविवाह, अनमेल विवाहको घानमा भुटिने पनि नारी, निर्णयाधिकारबाट बञ्चित भएर आफ्नै परिवारमा पनि दोस्रो दर्जामा बस्ने पनि नारी ।
यस्ता दर्जनौँ विभेदबाट हाम्रा समाजका मात्र नभएर सम्पूर्ण विश्वका नारी प्रताडित वा शोषित भएका छन् । त्यस कारण कुनै महिलाप्रतिको विभेद दोष कुनै जात, धर्म वा वाङ्मयविशेषलाई लागाउनु उपयुक्त होइन । तथ्यवादी भएर हेर्ने हो भनै त समाज विकासका चरणमा देखिने लक्षण हुन् । यसो भन्दैमा यसको विरोध नगरी बस्नु पनि अवैज्ञानिक हो । अन्याय र विरोध क्रिया र प्रतिक्रिया हुन्, यिनका बीचमा कार्य-कारण सम्बन्ध रहेको हुन्छ ।
नारी-पुरुष दुवै ब्रह्मत्वका आकांक्षी मान्ने वेदान्तले आत्मा र परमात्माबीचको भेद समाप्त भएर अनुभूत हुने भेदशून्यावस्थालाई ब्रह्मत्व प्राप्ति मान्छ । ब्रह्मत्व प्राप्ति पुरुषको मात्र अधिकार हो भनेको छैन
हामी समाज विकासको जुन बाटोबाट यहाँसम्म आइपुग्यौँ, त्यसलाई निष्पक्ष भावमा नियाल्ने हो कुनैकुनै गौँडोबाहेक अन्त नारीको सम्मान नै भएको पाउँछौँ । हामीले हिँडेर आएको विगतलाई नियाल्ने आँखीझ्याल भनेका इतिहास, पुराण, वेद आदि नै हुन् । नारीलाई पुरुषकी अर्धांगिनी मान्नु भनेको पुरुषलाई पनि नारीको अर्धांगी मान्नु नै त हो । जीवनका हरेक यात्रामा समभाव वा परिपूरक भावले अघि बढ्न सिकाउने वैदिक संहितालाई विभेदको मानक मान्नु अल्पचेत मात्र हो ।
नारी भनेको मातृशक्ति हो । जनयितृ हो । पृथ्वी हो । वात्सल्यको मूर्ति हो । सहनशीलताको समुद्र हो । प्राचीनकालका नारी दुर्गा, कालीका रूपमा शाक्तिशाली मात्र थिएनन्, सरस्वतीका रूपमा विद्वान् पनि थिए ।
नारी भनेको देवी हो । यस जगत्का हरेक तत्त्वमा नारीको त्यही दैवी गुण समाहित भएको कुरालाई दुर्गासप्तशतीका श्लोकले बारम्बार दोहोर्याएका छन् । चराचर जगत्का सम्पूर्ण पदार्थमा तिनै देवी शक्ति, निद्रा, कान्ति, क्षान्ति, दया, मोह आदि रूपले रहेकी हुन्छे । नदीको बग्ने शक्ति, जुनको उदाउने शक्ति, वायुको उड्ने शक्ति, प्राणीको जन्मिने मर्ने/शक्ति यी सबैमा नारीत्व अन्तर्निहित भएको हुन्छ । यसरी नारी शक्तलाई सृष्टिको गुह्यतम प्रक्रियासित अन्वय गरेर अगम्य तत्त्वका रूपमा प्रतिस्थापित गर्ने काम विभिन्न ग्रन्थहरूले गरेका छन् ।
महिषासुरसित ढुंगामुढा लिएर लड्ने, चण्डमुण्डलाई धुलो चटाउने, रक्तबीजलाई पिउने, शुम्भ-निशुम्भको पत्तासाफ गर्ने, देवताहरूले मुक्तकण्ठले स्तुति गर्ने देवीलाई मध्ययुगीन सामन्ती समाजले अबला बनायो, दासी बनायो, अछुत बनायो, पशु र ढोल बनायो । यो त प्राचीन सत्यलाई आफ्नो स्वार्थका कारण भुलेको र नयाँ चेतनाको दियो नदेखेको मध्ययुगको चरित्र नै हो । अहिले हामी एक्काइसौँ शताब्दीको वैज्ञानिक युगका सचेत मानिस हौँ भने सत्यासत्य र उचित-अनुचित विचार गर्नसक्नुपर्छ । आँखा चिम्लेर सबैलाई एउटै घानमा हालेर गाली गर्नु बुद्धिमत्ता कदापि हुन सक्दैन ।
दर्शनले पनि नारी र पुरुषमा विभेद गरेको छैन । वेदान्त दर्शनको मार्गलाई ब्रह्ममार्गका रूपमा बुझिन्छ । यसलाई सबैलाई कः अहम्बाट ब्रह्मास्मिको तहमा पुग्न प्रेरित गर्छ । ब्रह्मसत्ता भनेको कुनै पनि उपाधिबाट रहित भएर सात्विक वा चैतन्यावस्थामा पुग्नु हो । संसारलाई एकोहम् द्वितीयो नास्तिको अवस्थामा सोच्ने हुनाले त्यहाँ त नारी पुरुषभन्दा पूर्वको अवस्था एकै हुने नै भयो । नारी-पुरुष दुवै ब्रह्मत्वका आकांक्षी मान्ने वेदान्तले आत्मा र परमात्माबीचको भेद समाप्त भएर अनुभूत हुने भेदशून्यावस्थालाई ब्रह्मत्व प्राप्ति मान्छ । ब्रह्मत्व प्राप्ति पुरुषको मात्र अधिकार हो भनेको छैन ।
उमामहेश्वर, गौरीशंकर, लक्ष्मीनारायण आदिको उपस्थिति, इन्द्रको पुरुषार्थका कथासित पढिने दुर्गा, कालीका पराक्रम, अत्री, याज्ञवल्क्य आदिसित पढिने लोपामुद्रा, घोषा, गार्गी आदिको विद्वता, याज्ञिक कर्ममा पत्नीको अपरिहार्यता जस्ता सन्दर्भलाई हेर्ने हो भने मानवीय जीवनको प्राचीन पद्धतिमा लैंगिक विभेदका राँटाहरू देखिँदैनन् ।
निश्चित रूपमा हाम्रो व्यवहारमा सुधारको खाँचो छ । सुधारको खाँचो कहाँ छैन र ? राजनीतिमा, अर्थतन्त्रमा, संस्कृतिमा, प्रशासनमा, धर्ममा । मानिसको आजसम्मका जेजति प्रयास छन्, ती सबै सुधारका लागि हुन् हिजोको जीवनलाई सुधार गरेर नै मानिस आजको ठाउँमा अइपुगेको हो ।