Khabarpato logo

         

कला/साहित्य

‘हिमालका आवाज’ कवितासङ्ग्रहका कवितामा पर्यावरणबोध

उषा आचार्य

उषा आचार्य

‘हिमालका आवाज’ कवितासङ्ग्रहका कवितामा पर्यावरणबोध

दामोदर पुडासैनी ‘किशोर’द्वारा रचित ‘हिमालका आवाज’ शृङ्खलाबद्ध कविताको सङ्ग्रह हो । पुडासैनीले यस सङ्ग्रहमा सङ्कलित ५० वटा कविताको विषयवस्तुका रूपमा हिमाल र त्यसको अनुभूतिलाई बनाएर पृथकपृथक भावको संयोजन गरेका छन् । 

‘हिमालका आवाज’ कवितासङ्ग्रहका कविताले हिमाली पर्यावरण, मानवसँग त्यसको सम्बन्ध र पर्यावरणीय सङ्कटको स्थितिलाई सजीव रूपमा चित्रण गरेका छन् । पृथ्वीमा रहेका जीवजन्तु, कीटपतङ्ग, भौतिक वस्तुबाट निर्मित पारिस्थितिक प्रणाली नै पर्यावरण हो । मानिसले आफ्ना आवश्यकता र महत्त्वकाङ्क्षा पूरा गर्ने सन्दर्भमा पर्यावरणमा गडबढी ल्याइरहेको हुन्छ । वैज्ञानिकतातर्फ गतिशील मानिसका स्वार्थका कारण जीवजन्तु, बोटबिरुवा तथा प्रकृतिमाथि शोषण भइरहेको देखिन्छ । यसरी प्राकृतिक चक्रमाथि अनैतिक क्रियाकलाप गर्नुहुँदैन, पृथ्वीमा रहेका मानवेत्तर जीव तथा प्रकृतिको अधिकार हनन गर्नुहुँदैन भन्ने ज्ञान हुनु नै पर्यावरणबोध हो । 

समकालीन नेपाली साहित्यमा मानिसका क्रियाकलापले पर्यावरणमा पारेको प्रभावका साथै पर्यावरणीय अनुकूलनमा हानि पुर्‍याउन नहुने विचार प्रस्तुत हुँदै आएका छन् । दामोदर पुडासैनी ‘किशोर’को यस कवितासङ्ग्रहका कवितामा हिमाल आरोहण गरी आफूलाई विजयी ठान्नेहरूले हिमालमाथि कुकृत्य गर्न नहुने भाव अभिव्यक्त छ । यी कवितामा हिमालले मानवीय कारणबाट विभिन्न प्रकोपको सङ्कट झेल्नुपरेको स्थितिको चित्रणका साथै हिमाली जीवजन्तु सङ्कटमा पर्दै गएको स्थिति चित्रित छ । 

प्रस्तुत सङ्ग्रहका कवितामा प्राकृतिक, ऐतिहासिक र निजी बिम्बको प्रयोग गरी हिमालको सङ्घर्षलाई मानवजीवनको सङ्घर्षसँग तादात्म्य सम्बन्ध स्थापित गर्न खोजिए पनि तात्पर्यार्थमा यो हिमाल र हिमाली पर्यावरणमा केन्द्रित छ । प्रस्तुत आलेखमा पर्यावरणीय चेतनाको सैद्धान्तिक अवधारणा प्रस्तुत गर्दै उक्त कवितासङ्ग्रहका कवितामा हिमाल र मानवबीचको सम्बन्धका साथै मानवका कारण हिमाली पर्यावरणमा पर्न गएको सङ्कटको विश्लेषण गरिएको छ । 

सैद्धान्तिक अवधारणा

पर्यावरणीय समालोचना अन्तर्विषयक समालोचना पद्धति हो । यसले पृथ्वीमा रहेका प्रकृति, जीवजन्तु, कीटपतङ्ग जस्ता तत्त्वको अधिकारको कुरा गर्छ । मानिसका स्वार्थी क्रियाकलापका कारण पृथ्वीको पर्यावरणीय चक्रमा परेको नकारात्मक प्रभावलाई यसले अध्ययनको मूल विषय बनाएको हुन्छ । जीवविज्ञान र विकासवाद जस्ता वैज्ञानिक सिद्धान्तमा आधारित यस सिद्धान्तको सङ्केत सन् १९६० को दशकमा भए पनि पाश्चात्य साहित्यको यसको स्थापना सन् १९९० को दशकमा भएको देखिन्छ । बीसौँ शताब्दीको अन्त्यमा विकसित पर्यावरणीय समालोचना विज्ञानका आधारमा साहित्यको मूल्याङ्कन गर्ने समालोचना सिद्धान्त मानिन्छ । विज्ञानको विकास र मानवीय क्रियाकलाप पृथ्वीको पर्यावरणमा कसरी घातक सिद्ध भएका छन् भन्ने कुराको अध्ययन यसअन्तर्गत गरिन्छ । 

पर्यावरणीय समालोचनाले मूल रूपमा पर्यावरणलाई ध्यानमा राखी मानवीय समाज, संस्कृतिसँग वातावरणको सम्बन्ध, प्रभाव चित्रण गरिएका साहित्यिक कृतिको अध्ययन गर्छ । खासमा यस सिद्धान्तले पर्यावरणको सुन्दरताको वर्णन नगरी जैविक विविधताको ह्रास, जाति–प्रजाति र वनस्पतिमाथि परेको सङ्कट, मानिसका अनैतिक कार्यबाट निम्तिएको प्राकृतिक प्रकोप, ओजन तहको क्षय जस्ता पक्षको अध्ययनमा चासो राख्छ । 

पर्यावरणीय समालोचनाले मानवीय पक्षको नभई मानवेत्तर जगत्को र त्यसमा पनि मानिसका क्रियाकलापले पारेको प्रभावको अध्ययन गर्छ । यसले कुनै पनि कृति वातावरणमैत्री छ कि छैन भनी खोजी गर्छ । यसै सन्दर्भमा बु एल (१९९५)ले कृतिमा  (१) पर्यावरणलाई रचनात्मक संरचनाका रूपमा प्रस्तुत गर्न नहुने (२) मानवीय आवश्यकता र इच्छालाई तर्कसङ्गत र स्वाभाविक मान्न नहुने (३) पर्यावरणप्रति मानवीय कर्तव्यलाई नैतिक अभिमूखीकरणको पक्ष मानिनुपर्ने र (४) पर्यावरण व्यवस्थित चक्र हो भन्ने कुरा कृतिमा देखिनुपर्ने विचार प्रस्तुत गरेका छन् । उनका विचारमा पर्यावरणीय सिद्धान्तले मानवको नभई मानवेत्तर वातावरणको व्यवस्थित अध्ययन गर्छ । यसले वातावरणप्रति मैत्री भाव प्रकट गरिएको र त्यसका अनुरक्षण गर्ने कार्यलाई नैतिकवान् मानिएको कृतिलाई वातावरणअनुकूल कृति मानेको छ । 

यसै सन्दर्भमा ग्लोटफेल्ट्री (१९९६)ले पर्यावरणीय समालोचनाअन्तर्गत (१) पद्धतिका रूपमा मानवीय संस्कृतिसँग भौतिक जगत्को सम्बन्ध र प्रभाव (२) विषयवस्तुमा प्रकृति र संस्कृतिको अन्तरसम्बन्धका साथै भाषासाहित्यमा सांस्कृतिक शिल्प र (३) सैद्धान्तिक संकथनका लागि मानव र मानवेत्तर दुवैको व्यवस्था गरी ३ पक्ष रहनुपर्ने वितार प्रस्तुत गरेकी छन् । पद्धति, विषय र संकथनमा केन्द्रित रही मानव र मानवेत्तर पर्यावरणको अन्तरसम्बन्धको खोजी गरिनुपर्ने भाव अभिव्यक्त गरेकी छन् । 

पर्यावरणीय समालोचनाले मानव र प्रकृतिको अन्तरसम्बन्धको अपेक्षा राख्ने क्रममा प्रकृतिको चित्रणलाई सौन्दर्य, आनन्द वा विलासिताको माध्यम नमानी जन्तु, मानव, वनस्पति र प्रकृतिको सहअस्तित्वको खोजी गर्छ । वातावरणीय चक्रमा गडबडी आउनुहुँदैन भन्ने मान्यता राख्ने र साहित्यिक कृतिमा पनि यसैअनुकूल चेतना प्रकट हुनुपर्ने धारणा रहेको पर्यावरणीय समालोचनाका कोणबाट कृतिको विश्लेषणका निम्ति नेत्र एटम (२०७६)ले (१) वैज्ञानिक खोजको सम्भावना (२) मानवीय अनुभवमा आधारित कृतिपरक, सैद्धान्तिक र ऐतिहासिक विश्लेषण (३) वातावरणीय नैतिक आचरणको प्रतिबिम्बन (४) भौतिक वातावरणको साहित्यिक प्रतिनिधित्व (५) काव्यशास्त्रीय अध्ययन र (६) पर्यावरणमैत्री भाषिक प्रयोगलाई आधार बनाएका छन् । 

प्रस्तुत आलेखमा पाश्चात्य र नेपाली अध्येताहरूको सैद्धान्तिक अवधारणालार्ई आधार बनाएर दामोदर पुडासैनीद्वारा विरचित ‘हिमालका आवाज’ कवितासङ्ग्रहमा सङ्कलित कविताको पर्यावरणीय सिद्धान्तअनुकूल विश्लेषण गरिएको छ । 

पर्यावरणबोधका कोणबाट ‘हिमालका आवाज’ कवितासङ्ग्रहका कविताको विश्लेषण

‘हिमालका आवाज’ कवितासङ्ग्रहका सम्पूर्ण कविता हिमाली पर्यावरणमा रचिएका छन् । सगरमाथा हिमालको निकट सोलुखुम्बूमा बस्ने क्रममा लेखिएका यी कवितामा कविले हिमालको स्वायत्त सत्ताको खोजी गरेका छन् । हिमाल र त्यस वरिपरिको वातावरणको चित्रण गर्ने क्रममा उनले प्राकृतिक सौन्दर्य मात्र नभई मानव र मानवीय क्रियाकलापले हिमाली पर्यावरणमा नकारात्मक प्रभाव पर्न गएको र त्यस्तो प्रभावबाट हिमाललाई मुक्त गरिनुपर्ने विचार अभिव्यक्त गरेका छन् । 

विश्वमा बढ्दै गएको विध्वंस र युद्धको प्रभाव हिमालमा पनि परेको देखिन्छ । नेपालभित्र चलिरहेको हत्या, हिंसा र युद्धका कारण हिमालको सौन्दर्यमाथि दाग लागेको र त्यसको गौरव मेटिन लागेको भाव यस कवितासङ्ग्रहका कविताले अभिव्यक्त गरेका छन् । जस्तै:

    हिमालहरू
    युद्धका सिपाही होइनन्
    सेनापति हुन् संसारभरका
    कसले पोत्दै छ कालो
    र, कसले पोत्दै छ उज्यालो
    होसपूर्वक नियाल्दै छन् हिमालहरू (१)

माथिका पंक्तिमा हिमाल संसारलाई ध्वंसतर्फ लैजाने र विनाश गर्ने युद्धका सिपाही नभएर संसारको रक्षार्थ उभिएका सेनापति भएको प्रसङ्गबाट हिमाल र मानवलगायत संसारका अन्य जीवजन्तु, वनस्पतिसँग यसको अन्तरसम्बन्ध रहेको स्पष्ट हुन्छ । यसरी हिमाल मानव र मानवेत्तर पक्षका लागि महत्त्वपूर्ण तत्त्व भए पनि मानिसले त्यसको महत्त्व नबुझी हिमालको गौरव नै मेटिने कार्य गरेको भाव यस कवितामा आएको छ । 

हिमाल निर्जीव भए पनि उसमा मानवीय संवेदना भरिदिएर कविले हिमालले पनि सही र गलतको मूल्याङ्कन गर्न सक्ने क्षमता राख्छ त्यसैले यसको अधिकार र सत्ता सुरक्षित राख्नुपर्छ भन्ने ज्ञान दिएका छन् । हिमालमा बढ्दै गएको प्रदूषणका कारण हिममलेवाको जीवन सङ्कटापन्न अवस्थामा रहेको साथै हिमाल पग्लिँदै गएको सङ्कटबोधलाई कविता शृङ्खलामा प्रस्तुत गरिएको छ । 

मानिसको जीवन मात्र नभई मानवेत्तर जीव र पन्छीको जीवनसमेत सङ्कटग्रस्त भएको विचार कवितामा यसरी प्रकट भएको छः

    साना नानीहरूले छोपेका हिममलेवाहरू
    र, मैले ढुङ्गे भित्तामा लेखेको मान्छेको ढुकढुकी
    सङ्कटमा छन् दुवै (९)

यस शृङ्खलाबद्ध कवितामा कविले हिमालबाट निःसृत सुन्दरताको चित्रण गर्ने क्रममा बादल, हिमाल र मानवबीच तादात्म्य रहेको देखाएका छन् । यसका साथै उनले यी कवितामा प्रकृतिलाई मानवले सौन्दर्यका रूपमा मात्र हेरेको र त्यस दृष्टिबाट प्रकृति बन्दी बनेको भाव अभिव्यक्त गरेका छन् । प्रकृति सौन्दर्यको साधन मात्र नभएर पर्यायवरणको व्यवस्थित रूप हो भन्ने पर्यावरणीय समालोचनाको मान्यका कवितामा यसरी चित्रित छः

    किन कैदमा छन् सुकिला फूल
    किन बतासहीन बनेका छन् रूखहरू (१४)

यहाँ फूल अर्थात् प्रकृतिलाई मानिसले सौन्दर्यका साधन बनाई त्योभन्दा पर त्यसको अस्तित्व स्वीकार नगरिएको भाव व्यञ्जित छ । प्रकृति आफैँमा व्यवस्थित क्रम हो । त्यसको जीवनचक्रलाई स्वायत्त सत्ता प्रदान गर्नुपर्छ । मानव र प्रकृतिबीच अन्तरसम्बन्ध हुनुपर्छ तर मानिसले प्रकृतिलाई आफ्नोअनुकूल मात्र प्रयोग गरेका कारण गतिशील प्रकृति गतिहीन बन्न पुगेको भाव यहाँ अभिव्यक्त छ । 

हिमाल प्रकृतिको सुन्दर उपहार हो, जसबाट आनन्द लिन मानिस होडबाजी गरिरहेका छन् । वर्तमान समयमा हिमाल चढ्ने र आफूलाई विजेता घोषित गर्नेहरूको क्रम बढ्दो छ । हिमाल र मानवजीवन एकआपसमा अन्तरसम्बन्धित भएका कारण मानिस हिमालबाट अलग रहन सक्दैन । यसरी हिमाल चढ्ने मानिसले हिमालमाथि हानी पुर्‍याउन नहुने, त्यसको चक्रमा आघात पुर्‍याउन नहुने भाव कवितामा यसरी अभिव्यक्त छः

    हिमालमा 
    चराहरू समय जस्तै गीत गाउँछन्
    गीतले नै हिमाल ब्युँझाउँछन्
    उकालो, ओरालोलाई जीवन दिन्छन्
    हिमाल चढ्दा चराहरूको ख्याल गर्नू
    हिमालाम हल्ला चल्यो भने चराहरू ओरालो झर्छन्
    चरा र हल्लाहरू कहिल्यै एकसाथ बस्न सक्दैनन् (४४)

यहाँ हिमाल र त्यसको वरिपरि रहने पन्छीबीच जीवनचक्र देखाइएको छ । चरा समयको द्योतक बनेर हिमाललाई ब्युँझाउनु, गीत गाई त्यहाँको पर्यावरण मधुर बनाउनु, उकालो, ओरालो गर्ने मानिसमा जीवन भर्नुले हिमाल, जीवजन्तु, पशुपन्छी र मानवबीच तादात्म्यता रहेको देखिन्छ । 

यस उदाहरणमा कविले हिमाल चढ्नेहरूलाई हिमाली पर्यावरणमा विशेष ध्यान दिन र त्यस प्रणालीमा हानि नपुर्‍याउन अनुरोध गरेका छन् । प्रकृति, जीवजन्तु, चराचुरुङ्गीले कोलाहल मन नपराउने र अशान्त वातावरणमा बस्न नरुचाउने हुँदा चराको भावनाविपरीत हिमालमा नआउन कवितामा आग्रह गरिएको छ । 

हिमाललगायत प्रकृतिमा अवस्थित सबैले शान्ति र सौन्दर्य मनपराउने हुँदा उसको भावनामा चोट पुर्‍याउन नहुने विचार कविताको अर्को पंक्तिमा यसरी देखाइएको छः
    
    हिमाल अलाप मनपराउँदैन
    असरल्ल युद्धको कर्कश पनि मनपराउँदैन
    तिमीसँग हिमाल रहेको बेला
    घाउ लाग्ला हिमाललाई होस् गर
    हिमाल झस्कला तिम्रा हाउभाउहरूले, होस् गर (४४)
    
प्रकृतिलाई आधार बनाई राजनीति गर्ने मानिसको चरित्रमाथि यी शृङ्खलाबद्ध कविताले कटाक्ष गरेका छन् । मानिसले आफ्नो स्वार्थपूर्तिका निम्ति प्राकृतिक जीवको नाममा राजनीति गर्ने र एकले अर्काको तिरस्कार गर्ने प्रवृत्तिप्रति कविताले विद्रोह गरेको देखिन्छ । प्रकृतिले कसैमाथि शासन गर्न नरुचाउने तर मानिसले त्यही प्रकृतिमाथि शासन गरेको र पर्यावरणका जीवको नाममा राजनीतिक गतिविधि गरेकामा असन्तुष्टि भाव कवितामा यसरी व्यक्त भएकोे छः

    याक र झोक्पेहरू प्रतिस्पर्धामा उभिएका छन् निर्वाचनमा
    हिमबाघ र रेडपाण्डाहरू हटेका छन् मतदाता सूचीबाट
    हिमाल शासन रुचाउँदैन
    हिमाल शान्त सागरको सपना कोरल्छ (५९)
    
मानिस प्रकृतिबाटै उत्पन्न भएको र वातावरणमा निर्भर भई विकासको चरम उत्कर्षमा आएकाले आफ्नो मूल स्वरूप बिर्सिएर वातावरण विनास गर्न नहुने भाव कवितामा व्यञ्जित छ । प्रकृतिमा मानवजीवन आश्रित भएको र त्यसको रक्षाको दायित्व पनि मानिसकै हुन्छ । प्रकृतिको विनाश गर्ने अधिकार मानिसमा छैन बरु त्यसलाई सुन्दर बनाउनुपर्ने भाव कवितामा व्यक्त भएको छ, जस्तैः
    
    झाडीहरू नमास
    बरु सजाऊ झाडीहरूलाई 
    मान्छे पनि झाडीबाटै निस्केको हो कुनै बेला (६१)
    
वर्तमान समय विज्ञान र यन्त्रको हो । मानिसले विकास गरेको विज्ञान र निर्माण गरेको मेसिनले पर्यावरणीय सन्तुलन बिगारी प्रकृतिको दायित्व खोसेको भाव कवितामा व्यक्त भएको छ । प्रकृतिका हरेक वस्तु र जीवको आआफ्नो कार्य र अधिकार हुन्छ तर मानिसले विकास गरेको मेसिनले प्रकृतिका काम खोसेको र प्रकृतिलाई निरर्थक बनाएकामा कवितामा असन्तुष्टि व्यक्त गरिएको छ । हिमाली शीतलता, सौन्दर्य मेसिनले दिन थालेपछि प्रकृति अस्तित्वहीन बन्न पुगेको भाव कवितामा यसरी चित्रित छः
    
    मैले गर्ने हरेक कामहरूलाई
    खोसेर लिइसकेको छ मेसिनले (९७)
    
मानिस र प्रकृतिबीच अन्योन्याश्रित सम्बन्ध रहेको छ । मानिसले प्रकृतिको उपभोग गर्ने क्रममा त्यसको विनाश गरिरहेको यथार्थप्रति यस कवितासङ्ग्रहका कविताले विरोध गरेका छन् । पृथ्वीमा मानिसको मात्र नभई प्रकृतिका हरेक वस्तुको अधिकार र अस्तित्व सुनिश्चित हुनुपर्छ । पर्यावरण र मानिसको सहअस्तित्वबाट नै जीवनचक्र चल्ने हुँदा पर्यावरणीय सन्तुलन बिगार्न नहुने भाव यी कवितामा अभिव्यक्त छन्, जुन पर्यावरणीय समालोचनाका कोणबाट अनुकूल रहेको छ । 

निष्कर्ष
    
दामोदर पुडासैनी ‘किशोर’को ५० वटा समान विषयका कविताको शृङ्खलामा आबद्ध ‘हिमालका आवाज’मा हिमाली पर्यावरणमाथि मानवीय क्रियाकलापले पारेको प्रभावको सजीव चित्रण गरिएको छ । ‘हिमालको आवाज’ भनी एउटै विषयको क्रम देखिए पनि भावगत पृथकता हुनु यस सङ्ग्रहका कविताको सबल पक्ष हो । 

प्रतीकात्मकता, बिम्बात्मकता, विद्रोही चेतना, दार्शनिक प्रस्तुति, मानवीय विसङ्गत पक्षको उद्घाटन गरिएको यस सङ्ग्रहका कविताको महत्त्वपूर्ण पक्ष भनेको हिमाल वरपरको पर्यावरण र त्यस पर्यावरणमा मानिसबाट पर्न गएको हानिका साथै त्यसको संरक्षणको आह्वान नै हो । प्रस्तुत सङ्ग्रहका कवितामा प्रकृति र मानवबीच तादात्म्य देखाएर मानिसले प्रकृतिमा आश्रय लिनुपर्ने भएकाले यसको पर्यावरणमा हानि पुर्‍याउन नहुने भाव चित्रण गरिएको छ । 

कवितामा कविले विश्वमा बढ्दै गएको ध्वंस र विज्ञानको विकासका कारण हिमाली पर्यावरणमा अशान्ति, भय उत्पन्न भएको भाव व्यक्त गरेका छन् । यी कवितामा मानिसका स्वार्थी क्रियाकलापका कारण हिमालमा प्रदूषण बढ्न गएको र त्यसका कारण हिमाली चराचुरुङ्गी, जीवजन्तु त्रसित बनेको, हिम पग्लिएर गएको, मानिसले प्रकृतिमाथि गरेको राजनीतिका कारण स्वच्छन्द प्रकृति बन्दी बन्न पुगेको भाव अभिव्यञ्जित छन् । 

कविले कवितामा हिमाल हामी नेपालीको गौरवको विषय भएको र त्यहाँ आरोहण गर्न जोकोही आतुर हुने गरेको सन्दर्भमा हिमालमा चढ्दा त्यसमा चोट नपुर्‍याउन, दाग नदिन र प्रकृतिलाई नमास्न अनुरोध गरेका छन् । यसरी प्रस्तुत सङ्ग्रहका कविताले एकातिर प्रकृति र मानवबीच अन्तरसम्बन्ध देखाउँदै मानवले आफ्नो स्वार्थपूर्तिका निम्ति प्रकृतिको उपभोग गरेको र त्यसबाट पर्यावरणीय सन्तुलन बिग्रन गएको सङ्केत गरेका छन् भने अर्कातिर प्रकृतिको सुन्दरताले जोकोहीलाई लोभ्याउने हुँदा त्यो सौन्दर्य पान गर्न छुट भएको तर सोही क्रममा प्रकृतिको रूप बिग्रने गरी र त्यसमा हानि पुग्ने गरी प्रयोग नगर्नसमेत अनुरोध गरेका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…