Khabarpato logo

         

बहस

राजनीतिक गुण गिरिजाबाबुबाट सिकून्

हरिविनोद अधिकारी

हरिविनोद अधिकारी

राजनीतिक गुण गिरिजाबाबुबाट सिकून्

त्यो दिन थियो, ७ चैत २०६६ । एउटा प्रजातान्त्रिक सेनापतिको महाप्रयाणको दिन । प्रजातान्त्रिक नेपालको एउटा अविष्मरणीय नाम गिरिजाप्रसाद कोइराला । प्रजातन्त्रको स्थापना, पुनस्र्थापना र विकासका लागि सदैव अविचलित नाम गिरिजाप्रसाद कोइराला । प्रजातन्त्रका लागि फेरि फेरि कुनै पनि नेपालीले कुनै पनि किसिमको आन्दोलन कहिल्यै गर्नु नपरोस् भनेर ८३ वर्षको उमेरमा पनि आफैँ प्रजातन्त्र स्थापनाका लागि सडक संघर्षमा होमिने गिरिजाप्रसाद कोइराला ।

प्रजातन्त्र पुनस्र्थापनापश्चात् २०४८ सालको आमनिर्वाचनपछि जननिर्वाचित नेपालको बारम्बार हुने प्रधानमन्त्रीका रूपमा भन्दा पनि एउटा क्रान्ति र शान्ति नायकका रूपमा उहाँको परिचय नेपाली जनताले पाएका हुन् । समाज रूपान्तरणको पक्षमा सदैव समर्पित एउटा अनवरत यात्री गिरिजाप्रसाद कोइराला । जीवनको एउटा लक्ष्य र परिणाम नै प्रजातन्त्रप्रति समर्पित व्यक्तित्व गिरिजाप्रसाद कोइराला ।

गिरिजाबाबुले दलभन्दा माथि उठेर, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मुलुकलाई एउटा अन्योलपूर्ण महाभेलमा फसेको डुङ्गालाई माझ भेलबाट वा बैता लाग्ने अवस्थाबाट किनारामा ल्याउनुभएको थियो । आज त्यही कुरा नै स्मरणीय हुन जान्छ । भोलिका लागि अनुपम उदाहरण बन्न जान्छ । ती महामानवको सम्झनामा हामीले कुनै दीप प्रज्ज्वलन गर्नु जरुरी छैन, कुनै स्मारक बनाउनु जरुरी छैन तर प्रजातन्त्रको दियो जलाइरहनु नै पर्याप्त हुनेछ ।

जीवनमा केही मानिसहरू हुन्छन् कसैको पनि सम्झनामा । मेरो पनि सम्झनामा एउटा त्यस्तो व्यक्तिको स्मृति अझै ताजा छ, गिरिजाबाबुको सम्झना । हामी जो भारत प्रवासमा थिएनौँ, जो भारतको बनारसमा पढ्न पनि गएका थिएनौँ, तिनीहरूका लागि उहाँ गिरिजा दाइ हुनुहुन्थेन, गिरिजाबाबु नै हुनुहुन्थ्यो किनभने उहाँलाई समकालीन नेताहरूले गिरिजाबाबु नै भनेर बोलाउँथे । उहाँको नाम एउटा क्रान्ति पुरुषको रूपमा लिइन्थ्यो, कांग्रेस र प्रजातन्त्रको एउटा अथक सिपाहीको रूपमा उहाँ आफूलाई चिनाउनुहुन्थ्यो र पनि तत्कालीन अवस्थामा प्रवासमा हुँदा होस् कि खुला रूपमा नेपालमा रहँदा वा प्रतिबन्धित अवस्थामा पनि, नेपाली कांग्रेसको सङ्गठन धान्ने मानिसको रूपमा उहाँलाई नै बढी मानिन्थ्यो । हामीले त्यसैगरी उहाँलाई चिन्थ्यौँ, जुन परिचय उहाँको जीवनपर्यन्त कायम रह्यो ।
 
बीपीको असली कार्यकर्ता भन्दा पनि कुशल सङ्गठक भएकाले उहाँ मृत्युपर्यन्त कांग्रेसको पर्यायवाची भएर रहनुभयो । कांग्रेसको सभापति हुनुभयो, बारम्बार कांग्रेसको संसदीय दलका नेताका हैसियतले प्रधानमन्त्री हुनुभयो । प्रधानमन्त्री हुँदा पनि उहाँलाई कांग्रेसको सङ्गठनकै चिन्ता हुन्थ्यो । 

मृत्यु शय्यामा समेत उहाँलाई नेपाली कांग्रेसको नै चिन्ता थियो । बीपी स्वयं पनि कतिपय साङ्गठनिक कुरामा गिरिजाबाबुको सल्लाहले मात्र काम गर्नुहुन्थ्यो भन्ने भनाइ छ । पछि त गिरिजाबाबुप्रति जतिसुकै कुरा नमिले पनि उहाँका समकालीन र अग्रज नेताहरूले उहाँलाई मान्नै पर्ने अवस्था सिर्जना भयो, जुन उहाँँको जीवनभरि लागू भयो- मात्र उहाँको नेपाली कांग्रेसप्रतिको निष्ठा र सङ्गठनका कारणले ।  

तर, त्यस्तो व्यक्ति पनि एक दिन यो नश्वर शरीर यहीँ छाडेर जानुभयो । आध्यात्मिकताका आधारमा भन्ने हो भने उहाँँले अर्को चोलाका लागि यो शरीररूपी लुगा परिवर्तन गर्नुभयो, भौतिकवादी तरिकाले भन्दा उहाँको भौतिक अस्तित्व यहीँ विलीन भयो ।
 
एउटा राष्ट्र र राष्ट्रका स्वाभिमानी जनताका लागि राष्ट्रियता र प्रजातन्त्र भनेको अभिन्न अवयव मान्ने कोइराला । चाहे पञ्चायतका विरुद्धको सशस्त्र संघर्ष होस् वा पञ्चायतको विकल्पको खोजीमा गाउँगाउँ जनताको राय लिन जाने एउटा सक्रिय राजनेताको रूपमा होस्, नेपालको अनुहार फेर्न र आगामी दिनमा प्रजातन्त्रका लागि कसैले पनि कहिल्यै पनि आन्दोलन गर्नु नपरोस् भनेर आफ्नै जीवनकालमा नै प्रजातन्त्रको प्रत्याभूति दिलाउन आजीवन त्यागको प्रतिमूर्ति बन्नुभयो गिरिजाप्रसाद कोइराला । 

इतिहासमा त्यस्तो बेला एकपल्ट एक जनाको हातमा आउँछ भन्ने कुरा गिरिजाबाबुको त्यो साहसका लागि लागू हुन्छ, जसले जङ्गल कब्जा गरेको कुरा गर्थे, ९० प्रतिशत नेपाल आफ्नो कब्जामा छ भनेर अहंकार गर्थे, उनैलाई सत्तामा भागीदार बनाउने आँट गर्नुभयो र मुलुक आजको शान्तिकालीन अवस्थासम्म आएको छ । हिजोका दिनमा अनवरत जनयुद्ध भइरहेको अवस्था र आजको शान्ति प्रक्रियाको अवस्थालाई तुलना गरेर हेरौँ र अनि मात्र मुलुकको आजको अवस्थाको विकासक्रमलाई नियाल्न सजिलो हुनेछ ।

हुनत गिरिजाबाबुलाई तत्कालीन एमाले महासचिव माधवकुमार नेपालको पूर्ण सहयोग थियो र एमालेसहित अन्य ५ दलहरूको सहयोगले काम फत्ते गर्ने तारतम्य मिलेको थियो होला तर रणनीतिकारको अदम्य साहसबिना त्यो सम्भव थिएन, जस्तो कि सेनापतिले आफ्ना सेनाको कमान्ड सम्हालेको हुन्छ

नेपालमा नै गिरिजाबाबु जस्ता साहसी रणनीतिकार नेता थिए भन्ने कुरा भावी दिनमा हाम्रा सन्ततिलाई सुनाउन पाउने इतिहास आजको विश्वमा हामीसँग मात्र छ । उहाँको देहावसानपश्चातका दिनमा शान्ति प्रक्रियाले गति लिन सकेन, यसका लागि सबै उत्तिकै दोषी छन् र सबैभन्दा बढी अनुत्तरदायीचाहिँ तत्कालीन नेकपा माओवादी केन्द्रलाई मान्न सकिन्छ किनभने उसमा कुनै अवधारणा र रणनीति रहेनछ जनताका पक्षमा गरिने कामको । न त सत्य निरूपण तथा मेल मिलाप आयोगले गति लिन सक्यो, न बेपत्ता भएकाहरूका बारेमा कुनै नयाँ प्रक्रिया अगाडि बढ्न सकेको देखियो । कारण हो- शान्ति प्रक्रियाको मुख्य सरोकारवाला माओवादी, अझै पनि जतिसुकै टुक्रामा बाँडिए पनि । 

हुनत उहाँ लामो प्रवासपछि २०३७ सालको सुरुमा आममाफी पाएर मात्र नेपाल प्रवेश गर्नुभएको थियो तर नेपाली राजनीतिमा उहाँको नाम पहिलेदेखि नै क्रान्तिकारी नेताको रूपमा चित्रित थियो । त्यसपछिका दिनहरूमा गिरिजाबाबुका कामहरू नेपालीहरूका लागि खुला किताबजतिकै स्पष्ट छन् । मानिसहरू कसैको निधनपश्चात् हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दा भन्ने, लेख्ने गर्छन् कि असामयिक निधन भयो, अपूरणीय क्षति हुनपुग्यो । वास्तवमा गिरिजाबाबुको निधनचहिँ नेपाली राजनीतिमा असामयिक नै भएको रहेछ । अपूरणीय क्षति नै भएको रहेछ । त्यसपछिका राजनीतिक घटनाक्रमले त्यही साबित गरिरहेका छन् । हुनत बाँचेकै भए पनि अहिले ९८ वर्षको वृद्ध हुनुहुन्थ्यो उहाँ तर पनि यसबीचमा उल्झिएका गाँठाहरू उहाँ जीवित हुनुभएको भए सुल्झिन्थे होलान् भन्ने कल्पना गरौँ ।  

कुनै एउटा व्यक्तिको अनुपस्थितिले मुलुकको राजनीतिको गति नै रोकिन्छ या जानुपर्ने दिशातिर नगएर गलत दिशातिर मोडिने सम्भावना सामान्यतः भएको पाइँदैन । कतिपयको निधनले मुलुकको राजनीतिले फेरि नयाँ बाटो पहिल्याएको देखिन्थ्यो तर गिरिजाबाबुको निधनले नेपाली राजनीतिको गतिलाई समेत सीमित बनाएको रहेछ र कुनै पनि अर्को व्यक्ति जेलिन लागेको या कसिन लागेको राजनीतिक गाँठो फुकाउन सक्षम रहेनछ भन्ने अहिलेको जटिल राजनीतिक परिस्थितिले देखाएको छ ।

उहाँलाई नेपाली राजनीतिबाट पन्छाउन तत्कालीन एनेकपा माओवादीले सुरु गरेको अभियानले आज आफ्नो नकारात्मक परिणाम देखाइरहेको छ । त्यसको माखेसाङ्लोमा सबैभन्दा बढी जेलिएको त उही नै देखिएको छ । ‘खोलो तर्‍यो, लौरो बिर्सियो’ भन्ने अस्वस्थकर राजनीतिक खेलले पनि आजको राजनीतिक मञ्चमा गलत परिणामहरू देखिन थालेका हुन् भन्ने कुरा ढुक्कसँग भने हुन्छ । 

भनिन्छ, तत्कालीन एमाओवादीले गिरिजाबाबुलाई राष्ट्रपतिको आशा देखाएको थियो । यदि त्यो सत्य थियो भने गिरिजाबाबु राष्ट्रपति अनि प्रचण्ड प्रधानमन्त्री भएको समयमा नै संविधान आउँथ्यो र सफल कार्यान्वयन त्यही बेलामा नै हुन्थ्यो भन्ने अनुमान सहजै गर्न मिल्छ । अब त्यो समय फर्केर आउनेछैन, मात्र इतिहासको पदचाप सुनेर थाहा पाउने कुरा भएको छ ।

सधैँभरि पड्कने बम, मारिने नेपालीका परिवारको चित्कार र मुलुकमा अब कहिले यो द्वन्द्व थामिएला भन्ने अन्योलका बीचमा आफूलाई र आफ्नो दललाई महान् शत्रु घोषणा गर्ने भूमिगत गुरिल्ला योद्धालाई शन्तिमार्गमा ल्याउनुभयो, लोकतन्त्रप्रति आस्थावान् बनाउनुभयो र लोकतान्त्रिक प्रक्रियाद्वारा लोकतन्त्रको संरक्षण गर्नका लागि बाध्य बनाउनुभयो गिरिजाबाबुले ।

अहिले राजनीतिक फाँटमा एउटा कुरा बडो जोडतोडका साथ भन्ने गरिन्छ कि राजनीतिक स्वार्थभन्दा माथि उठेर, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर त्यागी हुन सक्नुपर्छ र निःस्वार्थका साथ मुलुकका लागि काम गर्नुपर्छ । वास्तवमा यो उत्तरआधुनिक नेपालमा त्यसोचाहिँ गिरिजाबाबुले मात्र गर्नुभयो । मुलुकलाई शान्तिको आवश्यकता छ भन्ने महसुस गरेर नै उहाँले आफ्नो दलभन्दा माथि उठेर र हिंसात्मक सशस्त्र युद्धमा रहेको त्यस्तो दल नेकपा माओवादी, जसले सबैभन्दा ठूलो शत्रु भनेर नेपाली कांग्रेसलाई मात्र घोषणा गरेको थियो, त्यसैलाई सम्झाएर र सत्ताको भागीदार बनाएर राजनीतिक मूलधारमा ल्याउनुभयो ।

यसो गरेकामा  नेपाली कांग्रेसमा अझै त्यसको विरुद्धमा ध्वनि प्रतिध्वनित छ र नेपाली कांग्रेसलाई चीनको कोमिन्ताङ बनाएको भनी देश तथा विदेशमा पनि उहाँको विरोधमा नारा अझै लगाइँदै छ । हुन पनि कांग्रेसमा त्यसपछि मणि हराएजस्तो त भएकै छ ।

अहिलेको विश्वमा लोकतन्त्रका विरुद्धमा जानेहरूको के हाल हुन्छ भन्ने कुराका लागि नेपालको माटोमा जरो गाडेर बसेको राजतन्त्रको अवस्था नै अनुपम उदाहरण बनेको छ । प्रजातन्त्रका विरुद्धमा कम्मर कसेर लागेको राजतन्त्रलाई समाप्त गर्ने वैधानिक नायकत्व गिरिजाबाबुले गर्नुभएको थियो ।

हुनत गिरिजाबाबुलाई तत्कालीन एमाले महासचिव माधवकुमार नेपालको पूर्ण सहयोग थियो र एमालेसहित अन्य ५ दलहरूको सहयोगले काम फत्ते गर्ने तारतम्य मिलेको थियो होला तर रणनीतिकारको अदम्य साहसबिना त्यो सम्भव थिएन, जस्तो कि सेनापतिले आफ्ना सेनाको कमान्ड सम्हालेको हुन्छ ।

सर्वोच्च अदालतले २३ फागुन २०७७ सम्म एकदम बलियो सरकार थियो भनिन्थ्यो, झन्डै दुई तिहाइको बलसहितको । माथिल्लो  सदनमा त अझ धेरै । ७ प्रदेशमध्ये ६ प्रदेशमा त केन्द्र सरकारकै दलको सरकार थियो र स्थानीय तहमा पनि धेरै सरकारहरू एमाले र माओवादी मिलेर बनेको कृत्रिम नेकपाकै थिए र पनि किन स्थिति स्थायित्वपूर्ण राजनीतितर्फ डोरिएको थिएन ? 

नेपाली जनताका लागि लोकतान्त्रिक संविधान घोषणा भएको छ र त्यसको व्यावहारिक प्रयोगले मुलुकलाई विश्वको प्रजातान्त्रिक मुलुकको श्रेणीमा लैजानु छ । शान्ति र स्थिरता कायम  गरेर मुलुकमा सदाका लागि शान्ति स्थापना गरी राजनीतिक स्थायित्व दिनुपर्छ । यसो गरेमा उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ । 

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा सफलताको आधारशिला राख्ने भनेको नै लोकतन्त्रको संस्थागत विकास हुनु हो । यदि कोही पनि वा कुनै दलले पनि लोकतन्त्रको विरुद्धमा गएर नेपालको राजनीतिमा स्थायित्व ल्याउने सपना देखेको छ भने वा त्यस्तो धृष्टता गर्छ भने एक्काइसौँ शताब्दीमा जनभेलले त्यस्ता व्यक्ति वा समूहलाई सदाका लागि समाप्त पार्नेछ भन्ने उदाहरण अहिलेका विश्वमा प्रजातन्त्र र सामाजिक न्यायप्रतिको जागरणले विश्व समुदायलाई समेत दिएको छ ।

अहिले गिरिजाबाबुलाई बिर्सिने खेल नेपाली कांग्रेसभित्रै भइरहेको आभास हुन्छ । अहिलेको सबै राजनीतिक विकृतिको दोष उहाँमा खन्याएर सबै पानीमाथिको ओभानो हुन चाहेका छन् तर के बिर्सिए भने अन्तरिम संविधान आएपछि नै मधेस आन्दोलनले उग्र रूप लिएको थियो र पनि कोइरालाको क्रान्तिकारी अतीत, अदम्य साहस र स्वार्थरहित समन्वयकारी क्षमताले गर्दा नै पहिलो संविधानसभाको निर्वाचन सम्भव भएको थियो । 

त्यसपछिका दिनहरू पनि अझै उहाँका देनहरूले डोरिँदै गएका छन् । तर, लाग्दै छ, मुलुक अबचाहिँ अकल्पनीय परिणामका लागि कतै डोरिँदै छ र फेरि उहाँको आवश्यकताबोध हुने गरी तुफान आउन थालेको छ । आशा गरौँ, स्वार्थभन्दा माथि उठेर समन्वय गर्ने अर्को गिरिजाप्रसाद यहाँ जन्मियोस् र मुलुकलाई एउटा द्वन्द्वरहित अनि सामाजिक न्यायतर्फको बाटोमा मुलुकलाई लिएर जाने कामको थालनी गर्न सकोस् ।

नेपालको राष्ट्रियताको, समृद्धि र प्रजातन्त्रको स्थायित्व नै गिरिजाबाबुप्रतिको सच्चा श्रद्धान्जलि हुनेछ । कांग्रेसी जनले बिर्सियून् तर नेपालीजनले कोइरालाको त्यो गुण बिर्सिनेछैनन्, जसले जनहत्याको रापले धपधपी बलेको नेपालको राजनीतिमा मह्लम लगाउँदै शान्तिको सन्देश फैलाएका थिए र ती जनहत्याका नायकहरूलाई जनताको महत्त्व सम्झाउँदै शान्तिको मूलधारमा ल्याएर कर्तव्याकर्तव्यको पाठ पढाएका थिए ।

सर्वोच्च अदालतले २३ फागुन २०७७ सम्म एकदम बलियो सरकार थियो भनिन्थ्यो, झन्डै दुई तिहाइको बलसहितको । माथिल्लो  सदनमा त अझ धेरै । ७ प्रदेशमध्ये ६ प्रदेशमा त केन्द्र सरकारकै दलको सरकार थियो र स्थानीय तहमा पनि धेरै सरकारहरू एमाले र माओवादी मिलेर बनेको कृत्रिम नेकपाकै थिए र पनि किन स्थिति स्थायित्वपूर्ण राजनीतितर्फ डोरिएको थिएन ? 

अहिले झन स्थिति अन्योलपूर्ण देखिँदै छ । कसरी राजनीतिक अवस्था सङ्लो होला भनेर भन्न सकिने अवस्था अहिले देखिँदैन । यसका लागि गिरिजाबाबुबाट केही गुण लिने र दलभन्दा राष्ट्र ठूलो मानेर समस्या समाधानका लागि लाग्ने प्रेरणा लिने काम गरौँ । प्रजातन्त्रप्रतिको अडिग र अविचल आस्था नै गिरिजाबाबुप्रतिको श्रद्धाञ्जलि हुनेछ । प्रजातन्त्रको विकल्प भनेको प्रजातन्त्र मात्रै हो भन्ने गिरिजाबाबुको गुणलाई आत्मसात् गरौँ । त्यही नै उहाँप्रति श्रद्धाञ्जलि हुनेछ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

थाहा नपाउँदै लोकतान्त्रिक राजनीतिको नशा सुरुभएछ-कक्षा ६ पढ्दा ।सायद मैले पढेको विद्य…

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

सरकारी कामकाजका सिलसिलामा कर्मचारी र सेवाग्राहीका बीच घुसको लेनदेन भएको दाबीका सा…

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

विश्व खाद्य मुद्रास्फीति भनिने नयाँ महामारीको चपेटामा छ । विगत २ वर्षयता कोभिड- १९ म…

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

डा. लक्ष्मीप्रसाद खतिवडा डाटाको कुरा गर्दा कम्प्युटर प्रणालीमा गणितीय ढाँचा (फर्म्याट)मा…