डाक्टरले एभोर्सन गर्न नमानेपछि जन्मिएका रोनाल्डो
विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डो ५ फेब्रुअरी १९८५ मा पोर्चुगलको एउटा निम्नवर्गीय परिवारमा जन्मिएका थिए । ५ वटा बेलोन डीओर अवार्ड जितिसकेका फुटबल खेलाडी रोनाल्डोलाई वर्तमान समयका सर्वश्रेष्ठ फुटबल खेलाडी र फुटबल खेलको इतिहासकै महान् खेलाडीका रूपमा चित्रण गर्ने गरिएको छ ।
रोनाल्डोको पूरा नाम क्रिष्टियानो रोनाल्डो डोस सान्टोस अभेइरो हो । उनका पिताको नाम मेरिअ डोलोरेस डोस सान्टोस भिभेरोस डा अभेइरो र माताको नाम जोस डिनिस अभेइरो हो । उनका पिता कुक थिए र माता मालीको काम गर्थिन् । उनका मातापिताका उनी चौथो र कान्छो सन्तान थिए । उनका एउटा दाजु र २ जना दिदीहरू छन् ।
रोनाल्डोको जन्म हुने समयमा उनीहरूको परिवार अत्यन्त गरिब थियो । रोनाल्डोका पिता जँड्याहा भएको र चरम गरिबीका कारण ३ जना सन्तानलाई पालनपोषण गर्न धौधौ परिरहेका बेला गर्भमा आएको अर्को सन्तानले रोनाल्डोकी आमालाई चिन्तित तुल्याएको थियो । रोनाल्डोकी आमा आफैँले पछि संचार माध्यमलाई बताएअनुसार उनले गर्भमा रहेको आफ्नो चौथो सन्तानलाई गिराउनका लागि डाक्टरकहाँ पनि गएकी थिइन् । तर, उनका डाक्टरले बच्चा गिराउन अस्वीकार गरेका थिए । भाग्यवश रोनाल्डो जन्मिए ।
सानो छँदा रोनाल्डोले सन् १९९२ देखि सन् १९९५ सम्म एन्डोरिन्हा नामक स्थानीय क्लबका लागि खेलेका थिए । त्यतिबेला उनका पिता त्यही क्लबमा खेलकुदका सामाग्रीको रेखदेख गर्ने काम गर्थे । सन् १९९७ मा १२ वर्षको उमेरमा रोनाल्डोलाई १ हजार ५०० पाउन्ड स्टर्लिङ दिने गरी स्पोर्टिङ सीपी नामक एउटा क्लबले अनुबन्ध गर्यो । त्यसपछि उनको व्यावसायिक फुटबल करिअर सुरु भयो ।
जब उनी १४ वर्षका भए, उनले आफूले व्यावसायिक फुटबल खेल्न सक्ने महसुस गरे र विद्यालयको पढाइ छाडेर खेलमा लाग्न चाहेको कुरामा आफ्नी आमालाई मनाए । उनी स्कुलमा साथीभाइका बीच लोकप्रीय नै थिए तर एक दिन उनले आफ्ना शिक्षकलाई रिसको झोँकमा कुर्सीले प्रहार गरे र सोही आरोपमा उनलाई स्कुलबाट निश्कासन गरिएको थियो । पछि थाहा भयो कि उनलाई मुटु तीब्र गतिमा धड्किने बिराम रहेछ । मुटुको शल्यक्रिया गरेर उपचार गरेपछि उनी तन्दुरुस्त बने र आफ्नो खेलमा ध्यानपूर्वक सक्रिय भए ।
स्पोर्टिङको युवा टिमबाट खेल्दै गरेका १८ वर्षीय रोनाल्डोलाई सन् २००३ मा म्यान्चेस्टर युनाइटेडले १२.२५ मिलियन पाउन्ड स्टर्लिङ स्थानान्तरण रकम तिरेर अनुबन्धित गरेपछि रोनाल्डोको भाग्य चम्किएको थियो ।
भर्खरै सिनियर क्लबबाट खेल्न सुरु गरेका रोनाल्डोले आफ्नो पहिलो सिजनमै एफए कप जितेका थिए । उनले उक्त क्लबबाट सन् २००९ सम्म खेले ।
त्यससँगै उनी त्यतिबेलासम्मको अंग्रेजी फुटबल इतिहासमा कम उमेरका सर्वाधिक महँगा खेलाडी बनेका थिए । सब्स्टिच्युट खेलाडीका रूपमा १६ अगस्ट २००३ मा बोल्टन वान्डरर्सका विरुद्धको प्रिमियर लिगको खेलमा डेब्यु गरेका रोनाल्डोले आफ्नो क्लब म्यान्चेस्टर युनाइटेडका लागि भने १ नोभेम्बरमा पोर्ट्समाउथविरुद्धको खेलमा फ्री किकमार्फत पहिलो गोल गरेका थिए । त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन ।
उनी २३ वर्षको उमेरमा सन् २००९ मा रियल म्याड्रिडमा ८ करोड पाउन्ड स्टर्लिङमा स्थानान्तरित भएपछि २ वटा ला लिगा उपाधिसहित १५ वटा ट्रफी जित्न सफल भएका थिए । रियल म्याड्रिडमा छँदा सन् २०१८ मा च्याम्पियन्स लिगको उपाधि जितेसँगै उक्त ट्रफी ५ पटक जित्ने विश्वको पहिलो खेलाडी बनेका रोनाल्डोले उक्त अवधिमा अन्य थुप्रै विश्व रेकर्ड तोड्न सफल भएका थिए ।
सिनियर अन्तर्राष्ट्रिय फुटबलमा सन् २००३ मा डेब्यु गरेका चर्चित फुटबल खेलाडी रोनाल्डोले हालसम्ममा १७० वटा रेड क्याप पाइसकेका छन् ।
त्यति मात्र होइन, गरिब परिवारमा जन्मिएका रोनाल्डो खेलबाट कमाएर संसारकै सबैभन्दा धेरै कमाउने खेलाडी पनि बन्न सफल भएका छन् । फोर्ब्स पत्रिकाका अनुसार रोनाल्डो सन् २०१६ र सन् २०१७ मा विश्वको सर्वाधिक महँगा खेलाडी बनेका थिए । त्यसैगरी ईएसपीएनले सन् २०१६-२०१९ का सबैभन्दा प्रख्यात खेलाडीका रूपमा रोनाल्डोलाई चित्रण गरेको थियो । उनी आफ्नो व्यवसायिक खेल अवधिमा १ अर्ब डलर कमाइ गर्ने इतिहासमै तेस्रो खेलाडी बनेका थिए ।
सन् २००७ सम्ममा उनले प्रोफेसनल फुटबलर्स एसोसिएसन्स प्लेयर्स प्लेयरलगायत अन्तर्राष्ट्रिय व्यावसायिक फुटबलका प्राय: सबै मुख्य उपाधिहरू हात पारिसकेका थिए । न्यू क्यासल युनाइटेडका विरुद्ध १२ जनवरी २००८ मा भएको खेलमा रोनाल्डोले म्यान्चेस्टरका लागि पहिलो ह्याट्रिक गरेका थिए । करिब ६ वर्ष म्यान्चेस्टर युनाइटेडबाट सफल फुटबल खेलेका उनी सन् २००९ देखि स्पेनिस क्लब रियल म्याड्रिडमा गएका थिए ।
सन् २००९-०१० को सिजनअघि खेलाडी स्थानान्तरण शुल्कको विश्व रेकर्ड बनाउँदै उनी ८ करोड पाउन्ड स्टर्लिङ रकममा रियल म्याड्रिडमा आबद्ध भएका थिए । म्यान्चेस्टर युनाइटेडमा छँदा ७ नम्बर जर्सी लगाउने रोनाल्डो रियल म्याड्रिडमा त्यो नम्बरको जर्सी अर्का खेलाडीको भएका कारण ९ नम्बर लेखिएको जर्सी लगाउन थाले । पछि सन् २०१०-०११ को सिजन अगाडि ती ७ नम्बर जर्सी लगाउने त्यही क्लबका कप्तान राउलले क्लब छाडेपछि उक्त नम्बरको जर्सी रोनाल्डोलाई दिइएको थियो । रियलका लागि पहिलो सिजनमा ३३ गोल गरेका भए तापनि सन् २०१० को त्यो सिजन उनले उपाधिबिना नै चित्त बुझाउनुपर्यो ।
च्याम्पियन्स लिगको पहिलो नकआउट चरणमा आफ्नो पूर्व क्लब म्यान्चेस्टर युनाइटेडसँग पहिलो पटक आमनेसामने भएका रोनाल्डोले आफ्नो पूर्व क्लबविरुध्द गोल गर्दा उक्त क्लबप्रति सम्मान व्यक्त गर्न सेलेब्रेट नै गरेनन् । त्यस्तै, पछि सन् २०१५ मा समेत च्याम्पियन्स लिगको आफ्नो पूर्व क्लब स्पोर्टिङ सीपीविरुद्धको खेलमा बराबरी गर्नेगरी आफूले फ्री किकमा गोल गर्दा पनि उनले सेलेब्रेट गरेनन् र खेल सकिएपछि भने,'म जे भएको छु, त्यो उनीहरूले नै बनाएको हो' ।
सन् २०१३ मा नयाँ अनुबन्ध गरेर सन् २०१८ सम्म रियल म्याड्रिडमै रहेका अद्भुत खेलाडी रोनाल्डोको उमेर झर्दै गए पनि खेल क्षमता अझ निखारिँदै गएको थियो । सन् २०१३ मा पहिलो पटक फिफा विश्व वर्ष खेलाडी भएका रोनाल्डोले आफ्नो व्यक्तिगत सफलतासँगै स्पेनिस क्लब रियल म्याड्रिडलाई पनि अभूतपूर्व सफलता दिलाएका थिए ।
सन् २०१८ मा रियल छाडेर ८ करोड ८० लाख पाउन्ड स्टर्लिङ लिएर युभेन्टसमा अनुबन्धित भएका रोनाल्डोले आफू सम्मिलित अघिल्ला २ सिजनमा लगातार सिरिए उपाधि जितेका थिए ।
रियल म्याड्रिडसँगको सम्झौता बाँकी छँदै १० जुलाई २०१८ मा रोनाल्डोले इटालियन क्लब युभेन्टससँग ४ वर्षका लागि सम्झौता गरे । युभेन्टसका लागि उनले गरेको दोस्रो गोल उनको व्यावसायिक खेल जीवनकै ४००औँ गोल थियो । त्यही सिजनको च्याम्पियन्स लिगमा युभेन्टसका लागि उनको पहिलो खेलको २९औँ मिनेटमा अभद्र व्यवहार गरेकोमा उनलाई मैदानबाहिर पठाइएको थियो । १५४ वटा च्याम्पियन्स लिग खेलिसकेका उत्कृष्ट खेलाडी रोनाल्डोले उक्त खेलमा पाएको रेड कार्ड नै पहिलो थियो ।
रोनाल्डोले आफ्नो व्यावसायिक खेल जीवनमा हालसम्म ६३८ क्लब गोल र १०२ अन्तर्राष्ट्रिय गोल गरी ७४० गोल गरिसकेका छन् ।
त्यो पुस्ताका २ सर्वोत्कृष्ट खेलाडीहरूको रूपमा लियोनल मेस्सी र कृष्टियानो रोनाल्डोलाई लिइन्छ । कतिपयले स्वार्थी खेलाडी भनेर आलोचना गर्ने गरेका भए तापनि रोनाल्डोको खेलप्रतिको समर्पण भाव र मिहिनेतको भने सबैले प्रशंसा गर्ने गरेका छन् । सन् २०११ मा उनले आफ्नो बारेमा यस्तो टिप्पणी गरेका थिए, 'मानिसहरू मेरो इर्ष्या गर्छन् किनभने म धनी, ह्यान्ड्सम र महान् खेलाडी हुँ ।' पछि सन् २०१४ मा उनले आफूले त्यतिबेला बोल्न गल्ती गरेको प्रतिक्रिया दिएका थिए ।
रोनाल्डो र मेस्सीबीचमा दुवैले एकै सिजनमा ५० गोल पार गर्ने, विभिन्न लिगको फाइनल खेलमा गोल गर्नेलगायत धेरै प्रतिस्पर्धात्मक समानता रहेका छन् । २ मध्ये कुन खेलाडी उत्तम हो भन्ने सवालमा व्यक्तिहरूका भिन्नभिन्न मत रहेका पाइन्छ । रोनाल्डोका आलोचकहरूले उनको शारीरिक हाउभाउ, व्यवहार र कहिलेकाहीँ कपाललाई समेत लिएर आक्रामक र ढोँगी व्यक्ति पनि भन्ने गर्छन् ।
फेब्रुअरी २०२१ सम्मको तथ्यांकअनुसार फेसबुक, ट्विटर र इन्स्टाग्राममा गरेर ५० करोडभन्दा बढी फलोअर रहेका रोनाल्डो त्यसबेलासम्मका सामाजिक संजालमा सबैभन्दा बढी पछ्याइएका खेलाडी हुन् ।
रोनाल्डोले विभिन्न कम्पनीहरूमा लगानी गरेका छन् । सीआर७ नामक उनको पहिलो फेसन बुटिक सन् २००६ मा पोर्चुगलमै स्थापना गरिएको थियो । त्यसपछि उनले विभिन्न उत्पादनका क्षेत्रमा लगानी गर्दै आएका छन् । क्रिष्टियानो रोनाल्डो फुटबल क्याम्पस, पोर्चुगलको मडेइरामा क्रिष्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय विमानस्थल आदि रोनाल्डोकै नामबाट राखिएका छन् । त्यसका अतिरिक्त फेब्रुअरी २०२० मा युनाइटेड अरब इमिरेट्सले रोनाल्डोलाई 'गोल्डन भिसा' नै दिएको थियो ।
रोनाल्डोका पिताको रक्सी पिएका कारण कलेजोको समस्याले सन् २००५ मा मृत्यु भएको थियो भने उनकी आमालाई सन् २००७ मा छातीको क्यान्सर देखिएको तर पछि निको भएको थियो । रोनाल्डोका २ छोरी र २ छोरा गरी ४ जना सन्तान छन् । पहिलो छोरा क्रिष्टियानो जुनियर सन् २०१० मा जन्मिएका थिए । छोराकी आमा रसियन मोडेल इरिना श्याकको बारेमा रोनाल्डोले सन् २०१५ मा उनको सम्बन्ध टुटिसकेपछि मात्र सार्वजनिक गरेका थिए ।
त्यसैगरी सरोगेसी (भाडामा बच्चा जन्माउने महिला)मार्फत अमेरिकामा सन् २०१७ मा उनले इभा छोरी र मेटिओ छोरा गरी २ जुम्ल्याहा छोराछोरीहरू जन्माएका थिए । पछि उनी स्पेनिस मोडेल जर्जिना रोडरिगेजसँग सम्बन्धमा रहे र जर्जिनाले सन् २०१७ मै अलाना नाम गरेकी एक छोरीलाई जन्माइन् ।
रोनाल्डोलाई सन् २०११-०१४ बीचको अवधिमा कर छलेको आरोप पनि लागेको थियो । उनले सुरुमा इन्कार गरेको त्यही अभियोगमा उनलाई विगो र जरिमानासहित २ वर्षको जेल सजाय सुनाइएको भए तापनि जेलको सट्टा पैसै बुझाउने गरी सम्झौता गरेर छाडिएको थियो ।
यसरी एउटा नगन्य अस्तित्वमा रहेको निम्न वर्गीय परिवारमा जन्मिएर पनि विश्वका मानिसहरूले चिन्ने, प्रशंसा र कुरा गर्ने, माया गर्ने एवं बाल्यकालमा कसैको आडभरोसा, सल्लाह र मार्गदर्शनबिना आफ्नै बलबुुुता र मिहिनेतका भरमा अथाह संपत्ति र इज्जतसमेत कमाउन सफल रोनाल्डो करोडौँ मानिसहरूको प्रेरणाका स्रोत बनेका छन् । आफ्ना बाबुको मदिराका कारण भएको दुर्दशा देखेका उनले आफू मदिरा नपिउने बताउँछन् ।
एजेन्सीको सहयोगमा