नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँताउने सर्वोच्च अदालतको गत फागुन २३ को फैसलाविरुद्ध नेकपा (माओवादी केन्द्र) ले सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दर्ता गराएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहितका नेताहरू मंगलबार दिउँसो सर्वोच्च पुगेर निवेदन दर्ता गराएका हुन् ।
अध्यक्ष दाहालका अतिरिक्त उक्त पार्टीका नेताहरू वर्षमान पुन, मातृका यादव, दीनानाथ शर्मा, जनार्दन शर्मा, कृष्णबहादुर महरा, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, देवेन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक देव गुरुङसमेत सर्वोच्च पुगेका थिए ।
अध्यक्ष दाहालले निवेदन दर्ता गराएपश्चात् सञ्चारकर्मीहरूलाई दिएको संक्षिप्त प्रतिक्रियामा पार्टीको नामसम्बन्धी मुद्दामा भएको फैसला अस्वाभाविक र अप्राकृतिक रहेको तथा राजनीतिक प्रकृतिको निर्णय भएको जनाउदै एकताबद्ध भइसकेका दलहरूलाई विभाजित गर्ने निर्णयमा आफूले पहिल्यैदेखि असहमति जनाउँदै आएको बताएका थिए ।
केही दिनअघि बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा कानुन व्यवसायीसमेत रहेका सांसद रामनारायण बिडारी, वरिष्ठ अधिवक्ता शम्भु थापा, नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, दिनमणि पोखरेल, मुक्ति प्रधानलगायतका कानुन व्यवसायीले सर्वोच्चको फैसलाउपर पुनरावकलोमा जान सुझाव दिएका थिए ।
अब सर्वोच्च अदालतले पुनरावलोकन गर्ने निस्सा प्रदान गरेमा पुनरावलोकनको प्रक्रिया अगाडि बढ्ने छ ।