नेकपा एमाले अध्यक्ष केपी ओलीले सोधेको स्पष्टीकरणको मंगलबार जवाफ दिँदै भुसालले अध्यक्ष ओलीलाई अनेक प्रतिप्रश्न गर्दै चेतावनीसमेत दिएका छन् । भुसालले ओलीलाई व्यक्तिवादको घोर नशामा रहेको र त्यसबाट ब्युँझिन आग्रह गरेका छन् ।
ओलीले सत्ता र शक्तिको भोग गरिसकेको पनि भुसालले उल्लेख गरेका छन् । एमालेले आफूलाई सोधेको स्पष्टीकरणको जबाफमा भुसालले भनेका छन्, 'तपाईंले पाउन अझै के बाँकी छ ?'
पत्रमा भुसालले विगतमा ओलीले उठाएको लोकतन्त्रीकरणको एजेण्डामाथि पनि प्रश्न उठाएका छन् ।सातौँ महाधिवेशनमा ओलीको बहुपदीय प्रस्ताव फेल भए पनि आठौँ महाधिवेशनमा पारित भएको थियो । 'तपाईं अध्यक्ष हुनुभन्दा पहिले तपाईं स्वयंले भन्ने गरेको तथाकथित् ‘पार्टीको प्रजातन्त्रीकरण’लाई तपाईं के जबाफ दिनुहुन्छ ?', प्रश्न छ भुसालको ।
ओलीका राजनीतिक निर्णयमाथि अनेक प्रश्न उठाएका छन् भुसालले । संसद् विघटन, पार्टी विभाजनलगायतका अपजसको भारी पार्टी र नेताहरूलाई बोकाएर ओलीले क्रान्ति र आन्दोलनलाई विसर्जन गरेको भुसालको आरोप छ । 'सबै अपजसको भारी यो पार्टी र आन्दोलनलाई त बोकाउनु नै भयो, त्यतिले नपुगेर अझै के तृष्णा बाँकी रह्यो र पार्टी विभाजन गर्न खोज्दै हुनुहुन्छ ? तपाईं अहिले हिँडिरहेको बाटो रहस्यमय छ । कसको बलमा, कसका लागि यो सब गर्दै हुनुहुन्छ ?’, भन्दै ओलीको पछिल्लो रहस्यमय 'दम्भ'मा भुसालले प्रहार गरेका छन् ।
भुसालले पत्रमा घुमाउरो पाराले ओली विदेशी शक्तिको इशारामा चलेको आंशका व्यक्त गरेका छन् ।
पार्टीलाई बन्धक बनाएर ओलीले सत्ता र शक्तिको भोगको लक्ष्य सबै पूरा गरेको आरोप पनि भुसालले लगाएका छन् । पार्टीको विचार, आदर्श, सामूहिकता, सामाजिकता जस्ता धरोहरहरू भत्काउँदै लगेको र अझै पनि पार्टीका अग्रजहरूको त्याग र बलिदानले निर्माण गरेका केही विरासत बाँकी रहेकाले ती जोगाउन आग्रह पनि गरेका छन् भुसालले ।
'आउने पिँढीले नेपाली जनताको, खासगरी श्रमजीवी वर्गको भरपर्दो लोकतान्त्रिक र क्रान्तिकारी पार्टीका रूपमा पुनर्जीवित गर्न सक्छन् । मेरो लाख-लाख अनुरोध छ, कमरेड ! यस पार्टीलाई अगाडि बढ्न दिनुस् । अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्युँझनुस् । क्रान्ति त अघि बढ्छ, बढ्छ । आज वा भोलि वा पर्सि तपाईं दण्डित हुनुहुनेछ', भुसालको पत्रमा लेखिएको छ ।
हेर्नुहोस् पत्र: