Khabarpato logo

         

बहस

ओली-नेपाल जुहारी : ओलीको निर्देशन र नेपाल-खनालको प्रतिवाद

खबरदाता

खबरदाता

ओली-नेपाल जुहारी : ओलीको निर्देशन र नेपाल-खनालको प्रतिवाद

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गुटगत मान्यता नदिने, पार्टीका नाममा कसैले मनपरी गर्न नमिल्ने र अहिले पार्टीलाई शुद्धीकरण गर्ने अवसर प्राप्त भएको बताउँदै एउटा अन्तरपार्टी निर्देशन जारी गरेका छन् । पार्टी निर्माण, बिस्तार र सुदृढीकरणका सम्बन्धमा बैठकले गरेका निर्णयहरूलाई एकरूपताका साथ आत्मसात गर्न र तत्परताका साथ कार्यान्वयन गर्न सम्पूर्ण पार्टी पंक्तिमा निर्देशन जारी गर्दै ओलीले नेता, कार्यकर्तालाई संगठन बिस्तारमा केन्द्रित हुन र संघीय संसद्लगायत प्रदेशसभासहित सबै जनप्रतिनिधि निकायमा प्रभावकारी भूमिका खेल्नसमेत निर्देशन दिएका छन् । 

एमालेभित्र र बाहिरका पछिल्ला राजनीतिक घटनाक्रम, अदालतका फैसलाहरू, बाधा-अड्काउ फुकाउ, पार्टी महाधिवेशन, पार्टी संगठनहरूमा जिम्मेवारी हेरफेर, मनोनयन, संसदीय दलको विधान अनुमोदनलगायत विषयहरू समाविष्ट २० पृष्ठ लामो उक्त निर्देशनमा लोकतान्त्रिक संसदीय अभ्यास रहेको मुलुकमा संसद विघटन गर्न पाउने अधिकार प्रधानमन्त्रीमा निहीत हुने व्यवस्थाअनुसार गरिएको संसद विघटनको निर्णय बदर गर्ने अदालतको उक्त फैसलासमेत प्रचलित संविधानसँग बाझिएको जिकिर गर्दै विद्यमान परिस्थितिबाट मुलुकको निकास संभव नहुने कुरा विगत १ महिनामा देखिइसकेको उल्लेख गरिएको छ ।

त्यस्तै, गत १३ फागुनमा ॠषि कट्टेलको रिट निवेदनको पक्षमा भएको अदालतको फैसलाले एमाले र माओवादी केन्द्रलाई पुरानो अवस्थामा फर्काएको परिस्थितिलाई मध्यनजर गर्दै एकीकृत नेकपा लोप हुँदा आइपरेका सदस्यता नवीकरण, पार्टीको अधिवेशनको आयोजनालगायत विभिन्न विषयमा बाधा अड्काउ फुकाउने गरीसमेत आदेश जारी गरिएको छ । ३ जेठ २०७५ देखि सर्वोच्चले एमाले र माओवादी केन्द्र पुनर्जीवित हुने गरी गरेको फैसला २३ फागुन २०७७ सम्मको अवधिलाई माहाधिवेशनको प्रयोजनका लागि शून्य समय मान्दै उक्त फैसला भएको मितिदेखि १३ महिना २० दिनभित्र पार्टीको अधिवेशन गर्ने जनाइएको छ । 

संसदीय दलको विधान अनुमोदन, प्रदेशलगायतमा कार्यविभाजन आदि विषयहरू समेटिएको अध्यक्ष ओलीको उक्त निर्देशनमा माओवादी केन्द्रबाट एमालेमा आएका रामबहादुर थापा, टोपबहादुर रायमाझीलगायत २० जनालाई केन्द्रीय कमिटीमा मनोनयन गरिएको जानकारी गराइएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल खेमालाई इङ्गित गर्दै 'विगतमा अलमलिएका र भड्काउपूर्ण गतिविधिमा लागेकालाई पार्टीमा फर्केर आए तिक्ततालाई बिर्सेर सम्मानपूर्ण काम दिने' जनाउँदै गुटगत क्रियाकलापलाई भने कुनै हालतमा मान्यता नदिइने जनाइएको छ ।

त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुनरावलोकनको निवेदन दर्ता गराएको तर्फ संकेत गर्दै रिपोर्टर्स क्लबको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले पार्टी मिलाइदिने काम अदालतको भए आफू पनि समाजवादीलाई मिलाई माग्न निवेदन लिएर अदालत जाने बताएका थिए । उनले आफू नेतृत्वको सरकारले विकास र जनताका पक्षमा राम्रा काम गरेकाले विपक्षी आत्तिएको र हटाउन खोजेको आरोप लगाएका थिए ।

हेर्नुहोस् अध्यक्ष ओलीको निर्देशन:


उता, एमालेका बरिस्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल खेमाका नेताहरूले पनि मंगलबार नै संयुक्त वक्तव्य जारी गर्दै पार्टी विभाजन गर्ने प्रक्रियामा अध्यक्ष ओली सक्रियतापूर्वक लागेको आरोप लगाएका छन् ।

अध्यक्ष ओली खेमालाई सैद्धान्तिक तथा वैचारिक हिसाबले खासै ठोस एवं वस्तुगत तथ्यपूर्ण नदेखिने आरोपहरू लगाइएको उक्त वक्तव्यमा ओलीले आन्तरिक एकता नचाहेको र आफू पक्षीय नेता, कार्यकर्तालाई तानाशाही ढंगले दमन गर्दै पाखा लाउन खोजिएको विषय जनतासामु राख्न खोजिएको देखिन्छ । 

ओलीबाट भएका देश, जनता र पार्टीको हितविपरीतका क्रियाकलापका विरुद्ध तथा पार्टीको क्रान्तिकारी सिद्धान्त र विचारको पक्षमा दृढतापूर्वक एकताबद्ध रूपमा संगठित भई देशव्यापी रूपमा सक्रिय हुन नेकपा (एमाले)का सम्पूर्ण इमान्दार देश, जनता र पार्टीको हितप्रति प्रतिबद्ध नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरूलाई आह्वान गर्दै उक्त वक्तव्यमा 'सत्ता, शक्ति र स्रोतको उन्मादले ग्रसित केपी शर्मा ओलीद्वारा पार्टी विभाजनको रेखालाई फराकिलो बनाउने दुराशयबाट नवौँ राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई अनेक झूठा आरोप लगाइएको' उल्लेख छ ।

यसरी नेकपा (एमाले)का दुवै खेमाले एकअर्काप्रति अनेक आरोप लगाउँदै वक्तव्यबाजी गर्ने क्रम कहिलेसम्म रहने हो, समयले बताउला ।

पढ्नुहोस् नेपाल-खनालको वक्तव्य:

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को नवौँ राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, त्यसबाट पारित विधान र पद्धति मिच्दै केपी शर्मा ओलीबाट एकपछि अर्को निरंकुश र स्वेच्छाचारी कार्य भइरहेको छ । राज्यसत्ताको दुरूपयोग गर्दै तानाशाही लाद्ने दुष्प्रयास भइरहेको छ । आफैँले गोप्य सम्झौताका साथ घोषणा गरेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)सँगको एकीकरणका विरुद्ध अनेकौँ षड्यन्त्र गर्दै पार्टी एकतालाई भङ्ग गर्न उद्यत केपी शर्मा ओलीबाट गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि पुनर्जीवित नेकपा (एमाले)लाई समेत विभाजन गरी नेपालको कम्युनिस्ट आन्दोलनलाई नै विसर्जन गर्ने दुष्प्रयत्न भइरहेको छ । 

नेपाली जनताले ५ वर्षका लागि निर्वाचित गरेको प्रतिनिधिसभालाई असंवैधानिक किसिमले विघटन गर्ने निर्णय बदर भएपछि उत्तेजित बन्नुभएका केपी शर्मा ओलीबाट राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका साथै नेकपा (एमाले) विभाजित गरी कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्रपूर्ण काम भइरहेका छन् ।

नेकपा (एमाले) एकीकरणपूर्वको स्थितिमा पुनःस्थापित भएपछि हामीले यसका केन्द्रदेखि स्थानीय तहसम्मका सबै संगठनात्मक संरचनाहरू तथा जनसंगठनहरूलाई पूर्ववत् क्रियाशील गर्न प्रस्ताव गरेका थियौँ । विधि र पद्धतिसम्मत किसिमले पार्टीलाई अघि बढाउँदै विगतका कमी कमजोरीहरूको यथासमयमा समीक्षा गर्नुका साथै कम्युनिस्ट पार्टीहरूको एकता र सहकार्यलाई आत्मसात् गर्न आग्रह गरेका थियौँ । तर, पार्टी अध्यक्ष पदमा रहनुभएका केपी शर्मा ओलीबाट त्यो कुरा स्वीकार्य भएन । उल्टै गत फागुन २८ गते हामीलाई कुनै जानकारी नै नदिई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आफ्नो गुटको भेला गरी पार्टी विधानको ठाडो उल्लंघन गर्दै नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भङ्ग गरियो र कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बनाइयो । 

यसका साथै केन्द्रीय कमिटीको सदस्य पद रिक्त नै नरहेको अवस्थामा पार्टीको विधान मिचेर नेकपा (एमाले)को सदस्य नै नरहेका व्यक्तिहरूलाई केन्द्रीय कमिटीको सदस्य मनोनयन गरेको भनी सार्वजनिक गरियो । यस प्रकारको अवैध निर्णय रद्द गरी नेकपा (एमाले)लाई पूर्ववत् स्थितिमा क्रियाशील बनाई अगाडि बढ्न हामीले केपी शर्मा ओलीसँग पार्टी केन्द्रीय कार्यालमा भएको वार्तालगायत विभिन्न किसिमले भएका कुराकानीमा आग्रह गर्‍यौँ । तर, पार्टी एकता र कम्युनिस्ट आन्दोलनलाई प्रतिक्रियावादीहरूको षड्यन्त्रपूर्ण प्रहारबाट जोगाउने हाम्रो प्रस्ताव व्यक्तिगत स्वार्थ, अहंकार, अराजकता र कम्युनिस्ट आन्दोलनको विसर्जनतर्फ उन्मुख केपी शर्मा ओलीलाई मान्य भएन । 

त्यसकारण नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित सिद्धान्त, नीति, विधान र संगठनात्मक प्रणालीको रक्षाको लागि यही चैत्र ४ र ५ गते ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला गर्न हामी बाध्य भयौँ । राष्ट्रिय कार्यकर्ता भेेलाले नेकपा (एमाले)को सबै संरचना सर्वोच्च अदालतको फैसलाअनुरूप पूर्ववत् क्रियाशील तुल्याई पार्टी एकतालाई जोगाउन गरेको आग्रहलाई समेत केपी शर्मा ओलीबाट स्वीकार गरिएन ।

प्रधानमन्त्रीको पद र शक्ति प्राप्त भएपछि केपी शर्मा ओलीबाट निरन्तर नेपाल र नेपाली जनताको हितमा आघात पुर्‍याउने, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, अखण्डता र स्वाभिमानमा आँच पुन्याउने विभिन्न कामहरू भए । भ्रष्टाचार र अनियमित कार्यहरूको चाङ लाग्न थाल्यो । देश र जनताप्रतिको उत्तरदायित्व र सुशासनका सबै मान्यताहरू भत्किन थाले । त्यसो नगर्न पार्टीका बैठकहरूमा उहाँलाई पटकपटक सचेत गराइयो । 

तर, नेपालको स्वाभिमानमा धक्का लाग्ने गरी बाह्य शक्तिसँग साठगाँठ गर्दै केपी ओलीबाट देश, जनता र कम्युनिस्ट पार्टीलाई कमजोर तुल्याउने काम जारी रह्यो । यस्तो कार्यका विरुद्ध आवाज उठाउनु २००६ सालदेखि नै देशभक्तिको झण्डा उठाउँदै आएको कम्युनिस्ट पार्टीका सबै इमान्दार सदस्यहरूको कर्तव्य हुन्थ्यो । हामी त्यही कर्तव्य पूरा गर्न अग्रसर भयौँ ।

सत्ता, शक्ति र स्रोतको उन्मादले ग्रसित केपी शर्मा ओलीद्वारा पार्टी विभाजनको रेखालाई फराकिलो बनाउने दुराशयबाट नवौँ राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित वरिष्ठ नेता कमरेड माधवकुमार नेपाल, उपाध्यक्ष कमरेड भीम रावल, उपमहासचिव कमरेड घनश्याम भुसाल र स्थायी कमिटीका सदस्य कमरेड सुरेन्द्र पाण्डेलाई अनेक झूठा आरोप लगाउँदै कथित स्पष्टीकरण सोधियो । त्यो उहाँको पार्टीभित्र अन्तरद्वन्द्व चर्काउने दुरायशको हिस्सा थियो । 

अझ अघि बढेर उहाँबाट यही चैत्र १६ गते वरिष्ठ नेता कमरेड माधवकुमार नेपाल र उपाध्यक्ष कमरेड भीम रावललाई विभिन्न झूठा लाञ्छना लगाउँदै ६ महिनाका लागि पार्टी सदस्यबाट समेत निलम्बन गर्ने पार्टीको विधानविपरीत स्वेच्छाचारी कार्य भएको छ । यस्तो कार्य पार्टीभित्र विचार र संगठनको सम्बन्धमा छलफल र बहसको ढोका बन्द गरी नेकपा (एमाले)लाई विभाजन गर्दै छिन्नभिन्न गर्ने दुराशयकै परिणाम हो । 

यस्तो पार्टी विधान, पद्धति र मान्यताविपरीतको कार्यको हामी भर्त्सना गर्दछौँ । केपी शर्मा ओलीबाट भएका उक्त प्रकारका देश, जनता र पार्टीको हितविपरीतका क्रियाकलापका विरुद्ध तथा पार्टीको क्रान्तिकारी सिद्धान्त र विचारको पक्षमा दृढतापूर्वक एकताबद्ध रूपमा संगठित भई देशव्यापी रूपमा सक्रिय हुन हामी नेकपा (एमाले)का सम्पूर्ण इमान्दार देश, जनता र पार्टीको हितप्रति प्रतिबद्ध नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरूमा हार्दिक आह्वान गर्दछौँ ।

झलनाथ खनाल- वरिष्ठ नेता, केन्द्रीय कमिटी

माधवकुमार नेपाल- वरिष्ठ नेता, केन्द्रीय कमिटी

युवराज ज्ञवाली- उपाध्यक्ष, केन्द्रीय कमिटी

अष्टलक्ष्मी शाक्य- उपाध्यक्ष, केन्द्रीय कमिटी

भीम रावल- उपाध्यक्ष, केन्द्रीय कमिटी

घनश्याम भुसाल- उपमहासचिव, केन्द्रीय कमिटी

भीम आचार्य- सचिव, केन्द्रीय कमिटी

गोकर्ण विष्ट- सचिव, केन्द्रीय कमिटी

योगेश भट्टराई- सचिव, केन्द्रीय कमिटी

मुकुन्द न्यौपाने- स्थायी कमिटी सदस्य

सुरेन्द्र पाण्डे- स्थायी कमिटी सदस्य

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

थाहा नपाउँदै लोकतान्त्रिक राजनीतिको नशा सुरुभएछ-कक्षा ६ पढ्दा ।सायद मैले पढेको विद्य…

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

सरकारी कामकाजका सिलसिलामा कर्मचारी र सेवाग्राहीका बीच घुसको लेनदेन भएको दाबीका सा…

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

विश्व खाद्य मुद्रास्फीति भनिने नयाँ महामारीको चपेटामा छ । विगत २ वर्षयता कोभिड- १९ म…

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

डा. लक्ष्मीप्रसाद खतिवडा डाटाको कुरा गर्दा कम्प्युटर प्रणालीमा गणितीय ढाँचा (फर्म्याट)मा…