बुधबार शेयर बजार हरियाली बनेको छ । आज सबैभन्दा धेरै फाइदा महिला लघुवित्त वित्तीय संस्थालाई भएको छ । आज यस कम्पनीको शेयर मूल्य ६० रुपैयाँले बढेर ६६२ रुपैयाँ पुगेको छ । सो कम्पनी ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट नजिक पुगेको हो । महिला लघुवित्त वित्तीयसँगै अन्य ४ कम्पनीको शेयर मूल्य पनि ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
बुधबार नेप्सेको परिसूचक ४३.३६ प्रतिशतले बढेर २६१९.०२ अंकमा बन्द हुँदा २०९ कम्पनीमध्ये १११ कम्पनीले शेयर मूल्य बढाएर नाफा कमाएका हुन् । कारोबारमा आएका कम्पनीमध्ये कुल १ करोड १२ लाख ८१ हजार ६२५ कित्ता शेयर ६ अर्ब १६ करोड ६८ लाख ६१ हजार ५३८ रुपैयाँमा कारोबार भएको छ ।
आज व्यापारबाहेक सबै समूह बढेका छन् । व्यापार समूह २.२७ प्रतिशतले घटेको छ । आज बैंकिङ समूह २.३१ प्रतिशत, होटल तथा पर्यटन १.७६, विकास बैंक १.६८, जलविद्युत् १.३९, फाइनान्स ०.८, निर्जीवन बीमा २.६२, उत्पादन तथा प्रशोधन ०.५८, अन्य १.३३, माइक्रोफाइनान्स ०.५७, जीवनबीमा ०.९८, म्युचुअल फन्ड ०.८९ र लगानी समूह १.७२ प्रतिशतले बढेका छन् ।
९ प्रतिशतभन्दा बढीले शेयर मूल्य बढेको अजोडको प्रतिकित्ता शेयर मूल्य ९३८, ओमीको १ हजार २४७ र सानिमा जनरलको ७७६ रुपैयाँ कायम भएको छ । आज शेयर मूल्य घट्ने ४९ कम्पनीमध्ये सबैभन्दा धेरै ३.२९ प्रतिशतले रैराङ हाइड्रोपावरको घटेको छ । त्यस्तै, बोटलर्स नेपाल र युनाइटेड इदी मर्दीको मूल्य ३ प्रतिशतभन्दा धेरैले घट्यो ।
कारोबारका आधारमा आज जलविद्युत् लगानी तथा विकास कम्पनी अग्रस्थानमा रह्यो । सो कम्पनीको ३६ करोड रुपैयाँ बराबरको कारोबार भयो । आजको कारोबारपछि कम्पनीको मूल्य प्रतिकित्ता ४७० रुपैयाँ कायम भयो । यससँगै माथिल्लो तामाकोसी, नेपाल इन्फ्रास्ट्रक्चर र नबिल बैंक कारोबारमा क्रमशः अगाडि रहे ।