नेपालको शेयर बजारमा थप १६ वटा कम्पनीले प्राथमिक शेयर (आईपीओ) निश्कासन अनुमतिका लागि नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।
बोर्डबाट अनुमति प्राप्त गरेको २ महिनाभित्र शेयर निश्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । बोर्डमा १६ वटा कम्पनीले ५ अर्ब ८८ करोड ५० लाख रुपैयाँ बराबरको ५ करोड ८८ लाख ५० हजार कित्ता शेयर निश्कासन गर्ने गरी आवेदन दिएको जनाइएको छ । यसरी आवेदन दिएकामध्ये १३ वटा जलविद्युत् र ३ वटा अन्य समूहअन्तर्गतका कम्पनी छन् ।
जलविद्युत् कम्पनीमध्ये प्रायले स्थानीय र बाँकीले सर्वसाधारणका लागि शेयर निश्कासन गर्न लागेको बोर्डले जनाएको छ ।
यसमध्ये जलविद्युत् समूहका साहस ऊर्जा लिमिटेडलगायत सयपत्री हाइड्रोपावर, सामलिङ पावर कम्पनी, बुद्धभूमि नेपाल हाइड्रोपावर, बलेफी हाइड्रोपावर, ग्रिन भेन्चर लिमिटेड, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, हिमालयन हाइड्रोपावर लिमिटेड, न्यादी हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, मध्यभोटेकोसी जलविद्युत र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले स्थानीय तथा सर्वसाधारणका लागि गरेर दुवैखाले शेयर निश्कासन गर्नेगरी आवेदन दिएका छन् । उता, मैलुङ खोला जलविद्युतले भने सर्वसाधारणका लागि शेयर निश्कासन गर्ने गरी आवेदन दिएको छ ।
त्यस्तै, जलविद्युतबाहेकका शेयर निश्कासनका लागि आवेदन दिएका अन्य ३ वटा कम्पनीहरूमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, जीवन विकास लघुवित्त वित्तीय संस्था र डिस मिडिया नेटवर्क रहेका छन् । ती कम्पनीहरूले सर्वसाधारणका लागि शेयर निश्कासन गर्दै छन् ।
हाल शेयर बजारमा ३८ वटा जलविद्युत् कम्पनी दोस्रो बजारमा सूचीकृत भएकामा आवेदन दिएका कम्पनीहरू समेत जोड्दा झन्डै ५० वटाको हाराहारी पुग्ने देखिन्छ । हाल शेयर बजारको कुल कारोबारमा जलविद्युत् समूहको हिस्सा औसत करिब ४ प्रतिशत मात्र छ । सूचीकृत कम्पनी संख्या बढेपछि एकातिर कुल कारोबारमा जलविद्युत् समूहको हिस्सा थपिनेछ भने अर्कातिर लगानीकर्ताले लगानी विविधीकरण (पोर्टफोलियो म्यानेजमेन्ट) सुविधा पाउने बताइएको छ ।
यसमा जलविद्युत् कम्पनीहरूले कम्तीमा १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयलाई दिनुपर्ने कानुनी व्यवस्था छ ।