नेकपा एमालेभित्रको किचलोले राजनीतिक अस्थिरता बढिरहेका बेला पार्टीभित्र र संघीय अनि प्रदेश सरकारमा पनि अन्योल र अस्थिरता सुरु भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन् ।
गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार गठन गर्न माओवादीले सहयोग गर्ने र लुम्बिनीमा माओवादी नेतृत्वमा सरकार बनाउन कांग्रेसले सहयोग गर्ने समझदारीअनुसार २ दलले तयारी तीव्र पारेका हुन् । लुम्बिनी प्रदेशसभामा कुल सांसद संख्या ८७ छ ।
सरकार बनाउनका लागि बहुमत पुर्याउन ४३ मत आवश्यक पर्छ । त्यहाँ एमालेका ४१, कांग्रेसका १९, माओवादी केन्द्रका २०, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन् ।
माओवादीका दिनेश पन्थी र दधिराम न्यौपाने एमाले प्रवेश गरेपछि माओवादी पार्टीले कारबाही गर्दा उनीहरूको २ सिट अहिले रिक्त छ । माओवादीका पूर्णबहादुर घर्ती सभामुख छन् ।
समीकरण हेर्दा मुख्यमन्त्री पोखरेललाई हटाउनका लागि बहुमत पुर्याउन एमालेबाहेकका कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चा सबै एक ठाउँमा उभिनुपर्ने हुन्छ ।
लुम्बिनी प्रदेशमा माओवादीको प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसी ।सोनाम)लाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने तयारी भएको स्रोत बताउँछ ।