नेपाल कम्युनिस्ट पार्टी (एमाले)का असन्तुष्ट माधवकुमार नेपाल खेमाका नेताले अध्यक्ष केपी शर्मा ओलीले सांसद पद नरहने गरी कारबाही रोक्न माग गर्दै दिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।
नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालद्वारा दायर उक्त रिटमा आइतबारका लागि पेसी तोकिएको जनाइएको छ ।
रिटमा अध्यक्ष ओलीले सर्वोच्च अदालतको २३ फागुनको फैसलाविपरीत पार्टीलाई एकलौटी र अनधिकृत कब्जा गरी आफूहरूको राजनीतिक जीवन नै समाप्त पार्ने दुराशयपूर्ण मनोभावना राखी संसद सदस्यबाट निश्कासन गर्न खोजेको उल्लेख छ ।
२८ फागुन, ७ चैत र ६ वैशाखमा गरेको भनिएको निर्णय, त्यसका आधारमा गरिएको र गर्न लागिएको कारबाही, विधान संशोधनलगायतका कारबाही गैरकानुनी र दुराशयपूर्ण भएको दाबी गर्दै त्यसलाई बदर गर्न र सर्वोच्चको फैसलाबमोजिम एमाले पार्टी, त्यसको विधान र नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई कामकाज गर्न दिन रिटमा परमादेश माग गरिएको छ ।
गैरकानुनी र अनधिकृत निर्णयको आधारमा २७ जना प्रतिनिधिसभा सदस्यहरूलाई स्पष्टीकरण सोधिएको भन्दै नेपाल खेमाका नेताहरूले पार्टी अध्यक्षले कुनै पनि बखत राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेको भनी कारबाही गर्न सक्ने पूर्ण आशंका भएकाले त्यस्तो कार्य प्रतिषेधको आदेशद्वारा तत्काल रोक्नु भन्ने आदेशसमेत जारी गरिपाउन माग गरेका छन् ।