ओलीको फकाइमा किन भुलेनन् वामदेव ?
नेपाल कम्युनिस्ट पार्टी (एमाले) आन्तरिक संघर्षका कारण कमजोर बन्दै गएपछि 'पेलेरै जित्छु' भन्ने ठानेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट खेमाका नेताहरूलाई भेट्न र फकाउन थालेका छन् ।
यस क्रममा हिजो र अस्ति माधवकुमार नेपालसँग भेट वार्ता गरे भने स्पष्टीकरण सोधिएका सांसदहरूलाई पनि एक्लाएक्लै भेट गरे ।
हिजो साँझ मात्र एमालेका उपाध्यक्ष वामदेव गौतमसँग ओलीले भेट गरेका छन् ।
बिहीबार बेलुका भएको डिनर मिटिङमा प्रधानमन्त्री ओलीले गौतमलाई उपाध्यक्षको हैसियतले पार्टीको काममा फर्किन प्रस्ताव गरेको वामदेव निकट स्रोतले जानकारी दिएको छ । तर, उक्त प्रस्ताव अस्वीकार गरेको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाकारी दिएका छन् ।
‘हिजो ९ गते क. केपीसँग बेलुकी ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो । उहाँले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो । मैले गत फागुन २८ गते तपाईंले गर्नुभएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरेँ । उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो । त्यसो भए म तपाईंसँग आउन पनि सक्दिनँ भनेर जबाफ दिएँ । डिनर चल्दै थियो, नमस्कार गरेर म बिदा भएँ', सुवेदीले लेखेका छन् ।