एक हुल मानिसहरू दौडेको देखियो । टीँटीँको आवाजले दौडाएको थियो उनीहरूलाई । उनीहरू केहीबेर आराम गरेका थिए । बस आएपछि सबै बसमा चढे । बसले कर्कश गर्जनका साथ कोक्याउँदो धुवाँ उडाउँदै बाटो लाग्यो । रत्नबहादुर भने त्यहीँ बसिरहेका थिए, प्रतीक्षालयको बेन्चलाई सुशोभित गर्दै ।
यो प्रतीक्षालयमा कहिले मानिसहरू तास खेलिरहेका हुन्थे, कहिले गीत गाइरहेका हुन्थे । सिकर्मीहरूको सीपको उपज पिङ हुन्थ्यो अगाडि । त्यो हेरेर खेल्ने पालो पर्खेर बसिरहेका हुन्थे केही यात्रीहरू । कहिले ठूलै भेला पनि गर्थे, आमा समूहका सदस्यहरूले । कहिले केटाकेटीले गट्टा खेलिरहेका हुन्थे । वर्षा रिसाएका समयमा अोत बस्थे । घाम चम्केको बेलामा शीतल पाउँथे । कसैले त्यसैलाई साक्षी राखेर काठको व्यापार गर्थे । रत्नबहादुर भने त्यहाँ हुने कुनै पनि क्रियाकलापमा अनुपस्थित हुँदैनथे ।
उनी कसैका अगाडि पीडाका स्वरमा बग्थे । कसैलाई विरहका धुनद्वारा झंकृत पार्थे । उमेरमा ८० कटेका हुनाले केटाकेटीहरू उनका अनुभव सुन्न भनेर वरिपरि घेरिन्थे ।
दिनैपिच्छे गाडीहरू आउँथे र बाटो समाउँथे । रत्नबहादुर भने त्यहीँ देखिन्थे । उनी कुनै पनि गाडीमा चढेका देखिएनन् । यो देखेपछि चन्द्रमानले सोधे-
'तपाईं प्रतीक्षालयमा बसिरहनुभएको छ । मानिसहरू गाडी आएपछि जान्छन्, उसको पेटभित्र पसेर । तपाईं त कहिल्यै जानुभएको छैन । कसको प्रतीक्षामा हुनुहुन्छ बुबा हजुर ?'
'म जानुपर्ने गाडी आइसकेको छैन, कान्छा ! माइलो र म २ जना हुन्थ्यौँ, प्रतीक्षामा । एउटा गाडी आयो र उसलाई लिएर गयो । कसैलाई जिल्ला सदरमुकाम जानु थियो, गए । कसैलाई प्रदेशको सदरमुकाममा पुग्नु थियो । गाडी आयो, गए । कसैलाई देशको राजधानी जानु थियो । गाडी रोकियो, । प्रस्थान गरे । म त्याेभन्दा धेरै पर, धेरै माथि जानु छ । त्यो गाडी आएको छैन । डेण्टिङ् पेण्टिङ् हुँदै छ रे ।'
'कहिले आउँछ त गाडी ?'
'आइहाल्छ । त्यसबेलासम्म यही प्रतीक्षालय भएको छ मेरो मन अड्याउने ठाउँ ।'