लुम्बिनी अपडेट : प्रदेशसभा अन्त्य गर्न सिफारिस, पोख्रेललाई नै नयाँ मुख्यमन्त्री बनाउने तयारी
अविश्वासको प्रस्ताव माथि छलफल गर्न आज दिउँसो एक बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक बस्नुअघि नै राजिनामा दिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले विषेश प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस पत्र पठाएका छन् ।
मन्त्रिपरिषदको बैठक बसेर मुख्यमन्त्रीले राजीनामा दिएपछि विशेष अधिवेशनको प्रयोजन पनि सकिएको उल्लेख गर्दै प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको हो ।
नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको आजै बसेको बैठकले पुनः पोख्रेललाई नै मुख्य मुख्यमन्त्रीको उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ । उनको राजीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृत गरिसकेका छन् ।
तत्कालै एमालेले लुम्बिनीमा एकल बहुमतको सरकार गठनमा दाबी गरेको छ । पोख्रेलले आफू संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेको र अब १६८ को १ अनुसार एकल सरकार गठन गर्ने भन्दै त्यसको तयारीमा लागेका छन् ।
यसैबीच तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रदेशसभा सदस्य विमला वलीले माओवादी केन्द्रमा रहने निर्णय गरेकी छन् ।
दाङ ३ (ख) बाट नेकपाका तर्फबाट निर्वाचित वलीले नेकपा (एमाले) को साथ छोडेपछि एमालेको बहुमत गुम्ने सम्भावना देखिएको छ । ८१ सद्स्यीय प्रदेशसभामा बहुमतका लागि आवश्यक ४१ सदस्य संख्यामध्ये नेपाली काँग्रेसका १९, माओवादी केन्द्र सभामुखसहित १८, जसपाका दुई र राष्ट्रिय जनमोर्चाका एक सांसद थिए । ओलीको एमाले परित्यागसँगै विपक्षी गठबन्धनको बहुमत पुग्ने आंकलन गरिएको छ ।