लुम्बिनीमा रडाको: पोखरेल पुनः मुख्यमन्त्री नियुक्त, ४२ सांसदको हस्ताक्षरसहित केसीको दाबी
आजै केहीबेर अघि राजीनामा दिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई केही घन्टापछि पुनः मुख्यमन्त्री नियुक्त गरिएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ (१) बमोजिम नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता पोखरेललाई पुनः मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
उता, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले पनि ४२ जना सांसदहरूको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसामु दाबी पेस गरेका छन् ।
प्रदेश प्रमुखद्वारा शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेलगत्तै ४२ सांसदको हस्ताक्षरसहित केसीले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेस गरेका हुन् ।
यसैबीच आजै साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट निर्वाचित भएकी बिमला वलीले माओवादी केन्द्रमै रहने निर्णय सार्वजनिक गरेकी थिइन् । वलीले एमाले त्याग गरेपछि पोखरेलसँग बहुमत नभएको भन्दै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)लगायतका दलले उनलाई मुख्यमन्त्री नियुक्त नगर्न माग गरेका थिए ।
मुख्यमन्त्री पोख्रेललाई अझ झट्का लाग्नेगरी एमालेको सूर्य चिह्नबाट चुनाव जितेका लुम्बिनी प्रदेशका २ सांसदले मुख्यमन्त्री पोखरेलको साथ छाडेका बताइएको छ । पोखरेललाई छाड्नेहरू कपिलवस्तु- २ (ख)का धर्मबहादुर लाल श्रीवास्तव र पश्चिम नवलपरासी (ख)का अजय शाही हुन् । उनीहरू दुवैले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि हस्ताक्षर गरेका छन् ।