राष्ट्रपतिद्वारा संसदको विशेष अधिवेशन आह्वान : प्रधानमन्त्रीले विश्वासको मत लिने
मन्त्रिपरिषद्को आज आइतबारको बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २७ वैशाख सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी छन् ।
अहिले बजेट अधिवेशन बोलाउनुपर्ने भए पनि प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्ट पार्न आवश्यक ठानेको भनेर सिफारिस आएकाले राष्ट्रपतिले प्रतिनिधिसभाको मात्र अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, '… आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठान्नुभएकोले सोही प्रयोजनका लागि नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम … प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ ।'
नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता नलिए पनि उसले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग नयाँ सरकार निर्माणका लागि पहल गरिरहेको छ । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसकेको छ । जनता समाजवादी पार्टीभित्र सरकार गठनका सम्बन्धमा विभाजित मत रहेका छन् । यस्तो परिवेशमा प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि विशेष अधिवेशन बोलाउनुलाई अर्थपूर्ण रूपमा लिनुपर्ने राजनीतिक विश्लेषकहरू बताउँछन् ।