आफूविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमा सोमबार मतदान हुने तय भएको अवस्थामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) का २८ सांसदले बैशाख २ मा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
मुख्यमन्त्री गुरुङले राजिनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले उनले अहिलेसम्म गरेको कामका लागि धन्यवाद दिदै अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्मका लागि संविधानको धारा १६९ को उपधारा (३) बमोजित मौजुदा मन्त्रिपरिषदले नै कार्यसञ्चालन गर्न आग्रह गरेकी छन् ।
आइतबार नै प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम तीन दिनभित्र नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई आव्हानसमेत गरेकी छन् । धारा १६८ (२) मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने भन्ने व्यवस्था रहेको छ ।
आफूविरुद्ध अविश्वास प्रस्ताव आउन लागेको थाहा पाएपछि गुरुङ नेतृत्वको सरकारले बैशाख १ को मध्यरातिबाटै चालु हिउँदे अधिवेशन अन्त्य गरिदिएको थियो । अविश्वास प्रस्ताव दर्ता गरेकै दिन विपक्षी मोर्चाले विशेष अधिवेशन माग्दै प्रदेश प्रमुख समक्ष समावेदन गरेका थिए । सोही समावेदनका आधारमा तत्कालीन प्रदेश प्रमुख अमिक शेरचनले बैशाख १३ मा विशेष अधिवेशन बोलाएका थिए । अविश्वास प्रस्तावमाथि बैशाख १५ मा मतदान हुने कार्यसूची रहेको थियो ।
तर मतदान हुने समयमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही नाटकीय ढंगले हराएकाले सचेतक पियारी थापाले निवेदन दिएपछि सभामुख नेत्रनाथ अधिकारीले अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिदिएका थिए । अन्ततः भोलि सोमबार अविश्वास प्रस्तावमाथि मतदान गर्ने दिन तोकिएकोमा मुख्यमन्त्री गुरुङले आज आइतबार नै राजीनामा दिएका हुन् ।