नेकपा (एमाले) का नेपाल–खनाल निकट खेमाले अध्यक्ष ओलीलाई दिएको समयसीमा अहिले बिहान ९:०० बजे समाप्त भएको छ । उक्त खेमा निकट सांसदहरुको बैठक संघीय संसद सचिवालय सिंहदरबारमा अहिले साढे नौ बस्ने बताइएको छ । स्रोतअनुसार उक्त बैठकमा प्रधानमन्त्री ओलीलाई दिएको समयसीमा एवं सोमबार संघीय संसदमा हुने विश्वासको मतको विषयमा छलफल हुँदैछ ।
उक्त खेमाले आइतबार पार्टी एकताका लागि भन्दै अध्यक्ष ओलीलाई ६ बुँदे प्रस्ताव पठाएर सोमबार बिहान नौ बजेसम्मको अल्टिमेटम दिएको थियो । एकताको प्रस्ताव स्वीकार नगरे सांसदबाट राजीनामा दिने चेतावनीसमेत दिइएको थियो ।
सहमतिको प्रयासमा गरिएको आइतबारको वार्ता असफल भएपछि नेपाल-खनाल खेमाको बैठकले २ जेठ २०७५ मा फर्किने र सहमतिका साथ अगाडि बढ्ने प्रतिबद्धताका लागि अध्यक्ष ओलीलाई सोमबार बिहान ९ बजेसम्म पर्खिने निर्णय गरेको थियो ।
नेता नेपालले बैठक लगत्तै ओलीबाट २३ फागुनयता भएका कमजोरी औंल्याउँदै अध्यक्ष ओलीलाई पत्र पठाएका थिए । उक्त ६ बुँदे मागसहितको पत्रमा पार्टी एकता कायमै राख्न आग्रह गरिनुका साथै निम्न विषयहरू अघिसारिएका थिए :
(१) २ जेठ २०७५ अगाडिकै अवस्थामा पार्टी सञ्चालन गरिनुपर्ने ।
(२) २८ फागुनयता भएका सबै निर्णय रद्द गरिनुपर्ने ।
(३) पार्टी विधि, विधान र पद्धति अनुरुप चल्नुपर्ने ।
(४) एकअर्कामा लगाइएको आरोपहरुबारे आगामी दिनमा समीक्षा गरी निर्णय लिनुपर्ने ।
(५) सरकार र पार्टी बीचको सम्बन्ध सुमधुर बनाउने ।
(६) पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउने अनि यथा समयमा राष्ट्रिय महाधिवेशन गर्नुपर्ने ।
अन्यथा सांसद पदबाट राजीनामा दिन बाध्य हुने नेता नेपालको चेतावनी थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरिएको उक्त पत्रको विषयमा 'पार्टीको एकता कायम राख्न आग्रह' लेखिएको थियो ।
नेपाल-खनाल खेमाले पार्टीलाई २०७५ जेठ २ अगाडिकै अवस्थामा फर्काउनुपर्ने र गत फागुन २८ गतेको निर्णय फिर्ता गर्नुपर्ने बटमलाइन बनाएको छ । यद्यपि अध्यक्ष ओली यी दुवै माग पूरा गर्नुपर्ने पक्षमा नभएको बताइन्छ ।
पछिल्लो समय दुवै पक्षका नेताहरुबीचको छलफललाई तीव्रता दिदै आइएको भए तापनि निष्कर्ष निस्किएको छैन । दुवै खेमाले एक-अर्कालाई आरोपित गर्ने क्रमले मात्र निरन्तरता पाइरहेको र जनता समाजवादी पार्टी (जसपा) ले एकताबद्ध भएर ओलीका विरुद्ध लाग्ने औपचारिक निर्णय गरिसकेको अवस्थामा आज हुने संसदको विषेश अधिवेशनमा प्रधानमन्त्रीले विश्वासको मत पाउने सम्भावना देखिदैन ।