जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले सोमबार राति एक विज्ञप्ति जारी गर्दै वर्तमान राजनीतिक परिस्थितिमा जसपा (नेपाल) का लागि सत्ता प्राप्तिभन्दा आफ्ना एजेण्डा सम्बोधन नै आफ्नो पार्टीको मूल उद्देश्य रहेको प्रष्ट पारेका छन् ।
प्रधानमन्त्री ओलीले सोमबार संसदमा विश्वासको मत लिने बेला तटस्थ बसेको ठाकुर खेमाले '…मुद्दाबाट विचलित भई सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्य विपरीत…' हुने बताएको हो ।
ठाकुरले वर्तमान केपी ओली नेतृत्वको सरकारसँग मुद्दा फिर्ता, बन्दी रिहाइ, नागरिकता, संविधान संशोधन लगायतका सवालहरुमा हुदैआएको वार्ता सकारात्मक रुपले अगाडि बढिरहेको भन्दै उनले नयाँ सरकार गठनमा सहभागी नहुने घोषणा गरेका छन् ।
उता जसपाको बाबुराम भट्टराई-उपेन्द्र यादव भने वर्तमान ओली नेतृत्वको सरकारलाई विदा विदा गर्ने पक्षमा सक्रियतापूर्वक सहभागी हुँदै सोमबार प्रधानमन्त्री ओलीको विश्वासको मतको विपक्षमा मतदानसमेत गरेका थिए ।
प्रधानमन्त्री ओली पदमुक्त भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान, २०७२ को धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन दलहरूलाई आव्हान गरिसकेकी छन् । राष्ट्रपतिद्वारा बहुमतको सरकार गठनका लागि ३० वैशाखसम्मको समयसीमा दिइएको छ ।
राजनीतिक बिश्लेषक एवं संबैधानिक ज्ञाताहरूका अनुसार जसपाको ठाकुर खेमा प्रधानमन्त्री ओलीतर्फ रह्यो वा तटस्थ रह्यो भने अथवा, एमालेका सबै २८ जना सांसदहरूले राजिनामा दिएनन् वा पदमुक्त गरिएनन् भने, नेकपा (एमाले) बाहेकका दलहरू मिलेर धारा ७६(२) बमोजिमको सरकार गठन हुनसक्ने सम्भावना छैन ।
त्यस्तो अवस्थामा धारा ७६(३) बमोजिम सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा पुनः केपी शर्मा ओली नै प्रधानमन्त्री नियुक्त हुनेछन् ।