मनकामना स्मार्ट लघुवित्तको आईपीओबाँडफाँट, कसरी हेर्ने रिजल्ट ?
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथामिक शेयर आज बाँडफाँट भएको छ । धितोपत्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलले सोमबार बिहान ९ः३० बजे शेयर बाँडफाँट गरेको हो ।
१७ असारदेखि २१ असारसम्म आवेदन खुलाएको लघुवित्तले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ८९ हजार कित्ता आईपीओ निश्कासन गरेको थियो । त्यसमा ०.५ प्रतिशत शेयर कर्मचारीलाई ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो । बाँकी ३ लाख ६३ हजार ४ सय ९२ कित्तामा सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।
सोहीअनुसार आईपीओमा १९ लाख ५४ हजार २७४ आवेदकबाट २ करोड ५१ लाख ३३ हजार २९० कित्ताका लागि आवेदन परेको थियो भने तीमध्ये ३२ हजार ८ सय ५९ आवेदकबाट परेको ४ लाख ३० हजार ७१० कित्तालाई शंकास्पदमा राखिएको छ । ती शंकास्पदमध्ये २ हजार ७५३ आवेदकबाट परेको ३७ हजार ९२० कित्तालाई बदर गरिएको छ ।
एनएमबी क्यापिटलका अनुसार १९ लाख ५१ हजार ५२१ आवेदकबाट परेका कुल २ करोड ५० लाख ९५ हजार ३७० कित्ता सदर भएका छन् । मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँट गरिएको छ । यसअनुसार ३६ हजार ३४९ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । तीमध्ये १० कित्ताभन्दा बढी आवेदनमध्येबाट गोलाप्रथाबाट २ दुई जनाले थप १/१ कित्ता शेयर पाएका छन् ।
आईपीओ नतिजा सीडीएससीको आईपीओ रिजल्ट डट सीडीएससी डटएनपीमा गएर अथवा एनएमबी क्यापिटल वेबसाइटमा गएर हेर्न सकिन्छ । यससँगै नतिजा मनकामना स्मार्ट लघुवित्तको वेबसाइटमा पनि हेर्न सकिनेछ ।