१. बाटुलो समय पनि छ
समय चेप्टो पनि हुन्छ
तर, घुमीघुमी एकै ठाउँमा
आउने एउटा चक्रपथ छ ।
२. घुमी फिरी रुम्जाटार भन्थे
रुम्जाटार त ओखलढुंगामा छ
तर, यो उखान नेपालभर
दोहोरिन्छ उही ठाउँमा आउँदा ।
३. नेपालीहरू जहाँजहाँ छन्
त्यहाँ रुम्जाटार पुगेकै छ
चक्रपथको बिम्बमा घुस्रेर
चक्रपथ– एउटा घुमाउरो समय ।
४. गन्तव्य कसरी निर्धारण हुन्छ र ?
समयले सधैँ पखेटा हाल्छ नि त !
एउटै समय हुन्छ तर विभाजित
मनस्थितिसँगै घुमीघुमी ।
५. बादलमुनिको साम्राज्य
अनि पातालमाथिको असीमित राज्य
घुमीघुमी एउटै जीवनको
परिधिभित्रै बारम्बार घुमिरहेको छ ।
६. न घाम छ, न पानी छ
न खुसी छ, न दुःख छ
सबैतिर निराकार छ
आकारसँगै निराकारको चक्रपथ छ ।
७. जीवनको परिधि एउटा चक्रपथ
परिधिभित्र एउटा दैनिकी जीवन
जीवनको परिधिभित्र नयाँ दैनिकी
बारम्बार दोहोरिन्छ एउटा परिधि ।
८. व्योमपथसँगै जीवनको परिधि
खगोलसँगै भूगोलको नयाँ परिधि
भूस्वर्गसँगै जीवनको परिधि मापन
चाहिएन त्यस्तो झूठो जीवन ।
९. सीमितताभित्र असीमितताको परिधि
व्यष्टिसँग समष्टिको परिधिभित्र
एउटा जीवनको चक्रपथ
बारम्बार दोहोरिने तर नयाँ परिवर्तन ।
१०. जहाँ जे संभव छ, त्यो मात्र
अपेक्षित हुन्छ व्यवहारमा तर,
महत्त्वाकांक्षाको चक्रपथभित्र
असंभव के छ र ?
११. जीवनको चक्रपथमा
सम्यक परिधिभित्र तर,
आइरहने व्यवधानसँगै
खुम्चिएको वर्तमान ।
१२. महिना र बार उस्तै छन्
प्रकृतिका सम्पूर्ण व्यवहारहरू
आफैँमा चक्रपथको परिधिभित्रै
बाँधिएका छन् सौर्य कक्षको सिमानामा ।