Khabarpato logo

         

राजनीति

चुनावी गठबन्धनबारे निर्णय लिन सकेन कांग्रेसले

खबरदाता

खबरदाता

चुनावी गठबन्धनबारे निर्णय लिन सकेन कांग्रेसले

नेपाली कांग्रेसले आगामी चुनावमा अन्य दलसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने निर्णय मंगलबार गर्दै छ । दिउँसो ३ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय समिति बैठकमा पार्टीको चुनावी तालमेलको रणनीतिबारे निर्णय सार्वजनिक गर्न लागेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । 

स्थानीय तहको निर्वाचनमा कसरी प्रस्तुत हुने भन्नेबारे निर्णय सार्वजनिक हुने उनको भनाइ छ । गत शुक्रबारदेखि बसेको पार्टीको केन्द्रीय समिति बैठकमा चुनावी गठबन्धनबारे छलफल भएको छ । बैठकमा स्थानीय तहको चुनावमा सत्ता गठबन्धनका दलहरूबीच आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने पक्षमा धेरै मत देखिएको छ । 

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पनि गठबन्धनको पक्षमा उभिएका छन् । त्यसले गर्दा आवश्यकताको सिद्धान्तको आधारमा चुनावी तालमेलको निर्णय हुन सक्ने नेताहरूले बताएका छन् । 

पार्टीले आधिकारिक निर्णय सार्वजनिक गर्न बाँकी रहे पनि पार्टी सभापति, अन्य पदाधिकारी, शीर्ष नेतादेखि केन्द्रीय सदस्यसम्मले आआफ्ना धारणा व्यक्त गरेका छन् । पार्टी सभापति देउवा, नेता रामचन्द्र पौडेल, पार्टीका प्रवक्ता डा. महतलगायत गठबन्धनको पक्षमा छन् । महामन्त्री विश्वप्रकाश शर्माले पनि कतै एक्लै त कतै आवश्यकताको आधारमा अन्य दलसँग चुनावी तालमेल गर्ने बताएका छन् । 

शीर्ष नेतादेखि, पदाधिकारी र अधिकांश केन्द्रीय सदस्य सभापति देउवा पक्षको लाइनमा उभिएका बेला नेता डा. शेखर कोइरालाले भने एक्लै चुनाव लड्नुपर्ने अडान कायमै राखेका छन् । कोइराला आफ्नो सुरुदेखिकै अडानबाट पछि नहट्दा पार्टीको १४‌औँ महाधिवेशनमा उनकै खेमाबाट महामन्त्री बनेका गगन थापाले भने पार्टीको निर्णयविरुद्ध मत प्रकट नगर्ने बताएका छन् । चुनाव एक्लै लड्नुपर्ने कोइरालाको प्रस्तावलाई आफ्नै खेमाका नेताले समेत साथ नदिएका देखिएको छ । मंगलबारको बैठकमा यही विषयमा छलफल गरेर निर्णय लिने तयारी छ । 

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले सभापति देउवाले शेखर कोइराला खेमालाई पनि मिलाएर लैजाने गरी बीचको बाटो रोज्नुपर्ने बताए । उनले भने, ‘देउवाले नेता शेखर कोइराला, २ महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, २ उपसभापति धनराज गुरुङ र पूर्णबहादुर खड्कादेखि स्थानीय कार्यकर्तासम्मलाई सम्बोधन गर्दै मिलाएर लैजान सक्नुपर्छ ।’ स्थानीय नेता, कार्यकर्ता पनि सबै जना गठबन्धनको पक्षमा नभएका भन्दै सबैको भावनाअनुरूप चुनावमा होमिनुपर्ने आचार्यको तर्क छ ।   

यसअघि पार्टीमा देउवाले पेलेरै निर्णय गर्दै आएकाले यस पटक पनि कोइरालाको प्रस्तावलाई बेवास्ता गर्दै स्थानीय तहमा आवश्यकताका आधारमा चुनावी तालमेल गर्न सक्ने सम्भावना छ । चुनावी गठबन्धनका लागि संयन्त्र बनाउने तयारीसमेत भएको छ । देउवाले गठबन्धनमा जोड दिए पनि अलग्गै संयन्त्र निर्णय गरेर जानेबारे शीर्ष नेताबीच छलफल भएको हो । 

आजको केन्द्रीय समिति बैठकले आगामी चुनावमा उम्मेदवारहरूलाई टिकट वितरण गर्ने संसदीय समितिको पनि टुंगो लगाउनेछ । संसदीय समिति २५ सदस्यीय हुने विधानमा व्यवस्था छ । संसदीय समितिलाई प्रदेश र प्रतिनिधिसभा सदस्यको टिकट वितरणको अधिकार हुन्छ । महानगरका प्रमुख र उपप्रमुखलाई भने केन्द्रीय समितिले टिकट वितरण गर्छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…