सत्तारूढ नेपाली कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी) सम्झौताबारे रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले जबाफ दिनुपर्ने बताएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद थापाले अमेरिकासँग गर्न लागिएको भनिएको एसपीपीबारे प्रधानमन्त्रीले संसदमा जबाफ दिनुपर्ने बताएका हुन् । सदन र संसदीय समितिमा सांसदहरूले प्रश्न उठाइरहेकाले प्रधानमन्त्रीले जबाफ दिनुपर्ने उनको भनाइ छ ।
‘केही दिनदेखि संसदको समितिमा, संसदको बैठकमा माननीयज्यूहरूले एसपीसी सम्झौताबारेमा गम्भीर विषय उठाइरहनुभएको छ । यो विषय सरकारसँग सम्बन्धित छ । रक्षा मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीले सम्हाल्नुभएको छ’, थापाले भने, ‘संसदमा यतिको विषय उठिसकेपछि रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्रीले संसदमा उभिएर तत्काल जबाफ दिनुपर्छ ।’
एसपीपी सम्झौता के हो र यो कसको पालामा भएको ? भन्दै उनले जिज्ञासासमेत राखे । केही समयअघि एमसीसी सदनबाट पारित गरेको स्मरण गराउँदै उनले तर नेपाली सेना संलग्न हुने कुनै पनि सम्झौता गर्न नहुने बताए ।
‘हामीले केही समय अगाडि सदनबाट एमसीसी अनुमोदन गर्यौँ । यस्ता विकास साझेदारीको विषय अमेरिकासँग, चीनसँग, भारतसँग, सबै शक्ति राष्ट्रसँग थप आवद्ध हुने, संलग्न हुने हो, यसबाट केही लिने हो । तर, नेपाली सेना संलग्न हुने कुनै पनि साझेदारी, चाहे त्यो छिमेकी देशसँग होस्, चाहे त्यो शक्ति राष्ट्रसँग होस्, मित्र राष्ट्रसँग होस्, त्यसमा नेपाल सहभागी हुन सक्दैन । हुन पाउँदैन । हुन दिँदैनौँ’, उनले भने, ‘नेपालको विकासका लागि सबै मित्र राष्ट्र, छिमेकी, शक्ति राष्ट्रसँग मिलेर काम गर्ने हो । उनीहरूले यो गर, योसँग गर, योसँग नगर भने भने नसुन्ने हो ।’
तर, सामरिक विषयमा भने नेपाल संलग्न हुन नहुने भन्दै उनले पुनः यसबारे प्रधानमन्त्रीले जबाफ दिनुपर्ने बताए ।