पहिरो विस्थापितलाई एकीकृत बस्ती निर्माण सुरु
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पहिरोबाट विस्थापित परिवारका लागि एकीकृत ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पहिराबाट विस्थापित परिवारका लागि एकीकृत बस्ती निर्माण थालेको छ । पहिरोबाट उच्च जोखिम बस्तीलाई सुरक्षित स्थानमा एकीकृत बस्ती निर्माण प्रक्रिया सुरु भएको हो ।
गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले ३ दिनमा १५ वटा अस्थायी घर निर्माण भइसकेको बताए । उनले निर्माण तीव्र गतिले अघि बढेको बताउँदै यसलाई अझ प्रभावकारी र छिटो सम्पन्न गर्न मैवाखोलामा गठन तथा दर्ता भई सञ्चालनमा रहेका टोल विकास संस्थाको भूमिका महत्त्वपूर्ण भएकाले सबै टोल विकास संस्थाले आफ्ना सदस्यलाई परिचालन गर्न आग्रहसमेत गरेका छन् ।
विपद्को समयमा एकापसमा सहयोग गरेर पैँचो लगाइराख्न र भोलि आफूलाई पर्दा पनि बिर्सने छैनन् भन्ने सोचका साथ सहयोगमा जुट्न मैवाखोलावासीसँग आग्रहसमेत गरेका छन् । उनले बाढी-पहिरोपीडितलाई स्थानान्तरण गर्न अस्थायी घर निर्माण स्वःस्फूर्त रूपमा सहभागी हुन र सोका लागि टोल विकास संस्थाले जनश्रमदानमा आउँदा अध्यक्षसँग समन्वय गर्नसमेत अनुरोध गरेका छन् ।
गाउँपालिकाका अनुसार जोखिममा रहेका ओदक क्षेत्रका ६४ घर परिवारलाई मैवाखोला गाउँपालिक- ३ मा रहेको मदन भण्डारी रङ्गशालामा अस्थायी एकीकृत बस्ती बनाई स्थानान्तरण गर्ने योजनाका साथ काम भइरहेको मैवाखोला गाउँपालिकाका प्रविधिक शाखाले जनाएको छ ।
गत असार २ गते राति आएको पहिरोका कारण ओदकका घर जोखिममा परेका हुन् । पालिकाले बस्ती निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थ स्वेच्छिक रूपमा उपलब्ध गराउन आग्रह गरेको छ । ६४ घर परिवारलाई एकीकृत बस्ती निमार्ण गर्न करिब १ करोड रुपैयाँ खर्च लाग्ने मैवाखोला गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनले बताए । उनका अनुसार अबको करिब १ महिनासम्ममा एकृकीत बस्ती निर्माण सम्पन्न हुने छ ।