ला लिगा: एट्लेटिकोसँग २ अंकको दूरीमा बार्सिलोना
लियोनल मेस्सीले एक गोल र अर्को एक गोलका लागि अवसर सिर्जना गरेपछि सेभियालाई पराजित गरी बार्सिलोनले स्पेनिस ला लिगामा शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको दूरी २ अंकमा झारेको छ ।
सेर्गिनो डेस्टले प्रहार गरेको बल पोलमा लागेर बाहिरिएको केही समयपछि अर्थात् २९औँ मिनेटमा ओस्मान डेम्बेलेले मेस्सीको पासमा गोल गरी पहिलो हाफमा अग्रता दिलाएका थिए ।
बार्सिलोनाका डिफेण्डर क्लेमेन्ट लेङ्लेटको हेडर गोल अफसाइड करार भएको थियो । त्यस्तै, सेभियाका युसुफ एन-नेस्यारीले गरेको गोल पनि अफसाइडका कारण मान्यता दिइएन ।
मेस्सीले ८५औँ मिनेटमा शानदार गोलमार्फत घरेलु मैदानमा बार्सिलोनालाई जीत दिलाए । ला लिगामा उसले लगातार जीत हासिल गरेको हो ।
मेस्सीले आफ्नो करिअरमा सेभियाविरुद्ध गरेको यो ३८औँ गोल हो । सेभियाविरुद्ध अन्य क्लबको तुलनामा ६ गोल बढी हो । बार्सिलोनाले ला लिगामा लगातार आठौँ खेलमा १२औँ गोल गरेका हुन् । पछिल्लो २ वर्षमा मेस्सीको यो सबैभन्दा उत्कृष्ट प्रदर्शन हो ।
बार्सिलोनाको २५ खेलबाट ५३ अंक भएको छ । उसले एक खेल कम खेलेको रियल मड्रिडलाई १ अंकले पछि छाडेको छ भने २ खेल कम खेलेकाले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग २ अंक पछाडि छ ।