नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ३० मिलियन डलर बराबरको बोन्ड जारी गर्ने भएको छ ।
कम्पनीले उक्त रकम बराबरको बोन्ड जारी गरी लन्डन स्टक एक्सचेन्जमा सूचीकृत गर्ने निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले जानकारी दिए । उनले चालू आर्थिक वर्षभित्रै बोन्ड जारी गरी सूचीकृत गरिसक्ने पनि बताए ।
आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को ‘आर्थिक संवाद’ कार्यक्रममा उनले ३० मिलियन डलरको बोन्ड जारी गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको समेत जानकारी गराए ।
उक्त बोन्डका लगानीकर्ताले ८.५ प्रतिशत प्रतिफल सुनिश्चित गराउने प्रमुख कार्यकारी अधिकृत खतिवडाको भनाइ छ । लन्डनकै एक प्रसिद्ध संस्थाले ‘क्रेडिट र्यापिङ’ गरी बोन्ड जारी हुने पनि उनको भनाइ छ । ५ वर्षे अवधिको उक्त बोन्डबाट प्राप्त रकमलाई नेपालका ठूला विकास पूर्वाधारमा लगानी गर्ने पनि उनले जानकारी दिए ।
सर्वसाधारणमा भर्खरै आईपीओ जारी गरी नेपालको धितोपत्र बजारमा सूचीकृत भइसकेको उक्त कम्पनीले रणनीतिक साझेदार भित्र्याउने विषयमा पनि छलफल गरिरहेको उनले बताए ।
खतिवडाले अहिले पनि करिब १० प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको तर उक्त लाभांश बाँडफाँटका लागि यसै वर्ष हुने वा आगामी केही वर्ष जगेडा कोषमा राखेर बाँडफाँट गर्ने, त्यो आगामी दिनमा निर्णय हुने बताए ।
उक्त कम्पनीले नेपालकै बैंक तथा वित्तीय संस्थाका लागि पनि बोन्ड जारी गर्ने तयारी गरिरहेको छ । वाणिज्य बैंकहरूले त्यस्तो बोन्ड खरिद गर्दा पूर्वाधारमा लगानी गरेको गणना हुने गरी बोन्ड तयार गरिएको छ ।
त्यस्तै, इन्स्योरेन्स बोन्डका बारेमा पनि छलफल अघि बढाएको छ । इन्स्योरेन्स कम्पनीहरूले त्यस्तो बोन्ड खरिद गर्दा पूर्वाधारमा लगानी गरे बराबर मान्यता दिइनेछ । विशेष गरी जीवन बीमा कम्पनीका लागि इन्स्योरेन्स बोन्ड केन्द्रित हुनेछ ।