दोस्रो लेगमा गए राती भएको खेलमा म्यानचेस्टर सिटी २-० र समग्रमा ४-० को जीतका साथ युरोपेली च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुगेको छ । सिटीले अन्तिम ८ को यात्रा तय गरेको यो लगातार चौथो सिजन हो ।
जर्मन प्रतिस्पर्धी बोरुसिया मोन्चेनग्लाडबाचविरुद्ध सिटीका लागि केभिन डी ब्रुयेन र गुण्डोगानले एक/एक गोल गरे । पहिलो लेगमा २-० को जीतका साथ दोस्रो लेग सुरु गरेको सिटीका लागि डी ब्रुयेनले १२औँ मिनेटमा करिब २० यार्डबाट शानदार गोल गरी अग्रता दिलाएका थिए ।
त्यसको ६ मिनेटपछि फिल फोडेनको पासमा इलके गुन्डोगानले गोल गरी समग्रमा ४-० को अग्रता बनाए ।
अर्को खेलमा रियल मड्रिडले इटलीको एटालान्टालाई दोस्रो लेगमा ३-१ ले पराजित गरी समग्रमा ४-१ गोलअन्तरको जीतसहित क्वार्टर फाइनलमा पुग्यो । पछिल्ला ३ सिजनमा रियल क्वार्टर फाइनलमा पुगेको यो पहिलोपल्ट हो ।
यी २ खेलसँगै च्याम्पियन्स लिगको अन्तिम ८ मा पुग्ने टोलीहरूको टुंगो पनि लागेको छ । यसपल्ट इंग्ल्याण्डबाट ३ टोलीले क्वार्टरफाइनल यात्रा गर्दा इटलीबाट एउटा टोली पनि अन्तिम १६ बाट माथि जान सकेन ।
इटलीको युभेन्टस र स्पेनको बार्सिलोना पनि अन्तिम १६ बाटै बाहिरिएपछि १५ वर्षपछि पहिलोपल्ट क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीलाई च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा देख्न नपाइने भएको छ ।
क्वार्टर फाइनल र सेमिफाइनल खेलका लागि ड्र शुक्रबार हुनेछ ।
क्वार्टर फाइनलमा पुग्ने टोलीहरूमा लिभरपुल (इंग्ल्याण्ड), चेल्सी (इंग्ल्याण्ड), म्यानचेस्टर सिटी (इंग्ल्याण्ड), बायर्न म्युनिख (जर्मनी), बोरुसिया डर्टमण्ड (जर्मनी), रियल मड्रिड (स्पेन), पोर्टो (पोर्चुगल) र पीएसजी (फ्रान्स) रहेका छन् ।