Khabarpato logo

         

कला/साहित्य

मुसाको मासु

कमला मुस्कान

कमला मुस्कान

मुसाको मासु

आज भल्लुराम निकै स्वाद लिएर खाना खाँदै छ । धेरै चखिलो र अतिपिरो तरकारी खानुपर्ने भल्लुले आज आफैँ खाना बनाएको थियो । 

दिनभर अर्काको खेत खनजोत र गोडमेलमा व्यस्त हुने गरेको भल्लु श्रीमतीले बनाएको खाना चखिलो र पिरो नहुने भन्दै आफू भान्से बनेको थियो । तराईको चर्को घाममा तातोबाट बच्न चित्राले बेरेको अनि खरले छाएर बनाइएको सानो झुपडी चिटिक्क देखिन्थ्यो । सो झुप्रोको रातो माटोले लिपेको चिसो भुइँमा बसेर भल्लुराम मासु-भात खान थाल्यो । 

बाहिर खेल्दै गरेको भल्लुरामको ५ वर्षे छोरो ‘म पनि मासु खाने’ भन्दै भल्लुरामले खाना खाइरहेको ठाउँमा आइपुग्यो । भल्लुरामले छुकछुके छोरोलाई काखमा राख्यो र उसले छोरालाई पिरो नहोस् भनेर आफ्नो मुखले चुसेर एउटा मासुको चोक्टो छोराको मुखमा राखिदियो । छोरोले जिद्दी गर्दै भन्न थाल्यो, ‘म बुबाले चुसेको जुठो मासु नखाने । मेरो भाग मासु मलाई छुट्टै भाँडोमा दिनु ।’

आमाले छोरोलाई सम्झाउँदै भन्न थाली, ‘बाबू, मासु धेरै पिरो छ । बुबाले तँलाई धेरै पिरो हुन्छ भनेर मासु चुसेर दिनुभएको हो, खा ।’ 

छोरो झनझन् ‘नखाने, म जुठो मासु नखाने’ भन्दै जिद्दी गर्न थाल्यो । आमाले जति प्रेमसँग सम्झाउँदा पनि छोरोले नमानेको देखेपछि एउटा आलमुनियमको थालमा २ टुक्रा मासु राखेर आमाले थाल छोरातिर सारिदिई । 

छोरो ‘म धेरै मासु खाने हो, थोरै खान्नँ’ भन्दै रुन थाल्यो । जिद्दी छोरोसँग केही सीप नलागेपछि आमाले फेरि २ टुक्रा मासु छोरोको थालमा थपिदिई । अब छोरो अतिखुसी भयो । ऊ थाल बोकेर बाहिर निस्कियो । 

भल्लुराम छोराको जिद्दी गर्ने यस किसिमको बानी देखेर हैरान भयो । ‘म आफैँ खाना थप्छु । तिमी छोरासँग बाहिर जाऊ’ भन्यो श्रीमतीलाई । श्रीमती छट्पटे छोरो कता गयो ? लड्ला कि भन्दै छोरोको पछिपछि दौडिन थाली । छोरो मासुको थाल बोकेर आँगनको एक कुनामा गएर बस्यो । 

आफ्ना २ खुट्टा फारेर बसेको झल्लुरामको छोरोले सुपारीको बोटमा काग कराउँदै गरेको सुन्यो र आमासँग सोध्यो, ‘आमा, त्यो काग किन कराउँदै छ ?’ 

आमाले उत्तर दिई, ‘काग भोकाएको छ । उसलाई तिमीले खाएको मासु देखेर डाहा लाग्यो होला, त्यसैले लोभी काग तिम्रो मासु हेर्दै यसको थालमा रहेको मासु खान पाए हुन्थ्यो भनी कराएको हो । त्यसैले छिटोछिटो थालको मासु खाऊ नत्र कागले खाइदिन्छ ।’

छोरोले भन्यो, ‘हो र आमा, काग त्यस्तो भोकाएको छ ? त्यसो भए म एक्लै मासु खान्नँ । भित्र कराहीमा मासु छ कि छैन आमा ?’

‘छ नि भित्र किन बाबू ?’ भन्दै आमाले छोरोलाई अझै मासु खान मन लागेछ क्यारे भन्ने सोचेर ‘फेरि मासु थप्ने हो ? पहिला थालको मासु खाएर सक अनि मात्र भित्र कराहीको मासु थपिदिन्छु’ भनी । 

‘त्यसो भए यो थालको मासु कागको भाग हो । मचाहिँ कराहीको मासु खान्छु’ भन्दै छोरो थाल बोकेर आफू बसिरहेको ठाउँबाट जुरुक्क उठ्यो र काग बसेर कराइरहेको सुपारीको बोटमुनि लगेर थाल घोप्ट्याइदियो । 

छोराको नचाहिने काम र जिद्दीपना देखेर आमा वाक्क भई । एकै छिनमा हेर्दाहेर्दै छोरो खाली थाल बोकेर खुरुरुरु भित्र कुद्यो । ‘अब कता लडेर मर्ने भयो’ भन्दै आमा छोरोको पछिपछि दौडिन थाली । 

आमा र छोरोको दौडधुप देखेर भल्लुराम ‘आमा-छोराको के हुँदैछ हँ ?’ भन्दै गम्छा काँधमा झुण्ड्याएर ढोकामा उभियो । तर, केको कुदाकुद हो, किन स्याँस्याँ र फ्याँफ्याँ गर्दै छन् ? उसले बुझ्न सकेन । 

ऊ एउटा चट्टी बोकेर सुपारीको छहारीमा आराम गर्न गयो । आफू आराम गर्दै गरेको सुपारीको बोटमुनि बिहान आफूले पकाएको त्यति मीठो मासुका चोक्टाहरू थुपारिएको देखेर रिसले चुर हुँदै ‘यो पक्कै मेरो मूर्ख छोरोको काम हुनुपर्छ’ भन्ने सोच्यो । 

‘मैले कति समय लगाएर बनाएको यति मीठो मासु त्यो पाजीले यहाँ ल्याएर थुपार्ने ?’ भन्दै ऊ मुर्मुरियो । रिसाहा छोरोको सनकी व्यवहार देखेर सुपारीको बोटमुनि बसेर बर्बराउँदै गरेको भल्लुको आँखा कराही बोकेर भित्रबाट बाहिर निस्किँदै गरेको छोरोमा गएर अडियो । 

छोरोको अघि र पछि सास नफेरी कुदिरहेकी श्रीमतीलाई हेरेर हैरान हुँदै सोध्यो, ‘यो केटो के गर्दै छ ? तिमी किन कुदिरहेकी छ्यौ ? यहाँ के हुँदै छ, मैले केही पनि बुझ्न सकेको छैन ?’

छोरो खाली कराही बोकेर चिच्याउँदै गरेको बुबाको छेउमा आएर बस्यो । कराहीको त्यति मीठो मासु लगेर फेरि आँपको रूखमुनि थुपारेको भन्दै बुबा उफ्रिन थाल्यो । आमा ती २ बाबु-छोराको काण्ड हेर्दै टाउकोमा हात राखेर बसिरही

श्रीमानको प्रश्न सुनेपछि श्रीमती पसिनै पसिना भएको अनुहार सारीको सप्कोले पुछ्दै भल्लुरामको नजिक आएर बसी र छोरोकोे कथा सुनाउन थाली । श्रीमतीको कुरा सुनेपछि पर कराही बोकेर दौडिँदै गरेको छोरोलाई भल्लुले माया गरेर बोलायो । छोरो कराही बोकेर सुपारीको छहारीतिर आयो । 

भल्लुरामले छोरोलाई सम्झाउन थाल्यो, ‘हाम्रो छोरो सानो मान्छे हो । बुबा आमाको प्यारो छोरो हो । सानो मान्छेले आफूभन्दा ठूला मान्छेले भनेको कुरा मान्नुपर्छ । ल...अब भन्... तँ मैले भनेको मान्छस् ?’ 

छोरोले उत्तर दियो, ‘मान्छु नि बुबा... मान्छु ।’ 

मेरो डरले अब छोरो ठीक ठाउँमा आयो क्यारे भन्ने ठानेर भल्लुराम छोरोको टाउको सुम्सुम्याउन थाल्यो । 

‘मेरो छोरो ज्ञानी छ । आमा र बुबाले भनेको कुरा सधैँ मान्छ । ठूलो मान्छेलाई सधैँ छोरोेले नमस्कार गर्छ । आमा-बुबालाई सताउँदैन’, भन्दै फकायो छोरोलाई ।

तोते बोली बोल्दै छोरोले भन्यो, ‘हो त, म धेरै ज्ञानी छु नि...’, छोराले बुबाको वाक्य नटुंगीकनै उत्तर दियो । 

‘हो नि, छोरो ज्ञानी छ तर आज हामी कसैको पनि कुरा नसुनेर आमालाई दुःख दिइरहेको मैले देखेँ । सुपारीको फेदमा एकछिन आराम गर्न खोज्दा खोज्दै पनि तेरो कारण आज बुबाले आराम गर्न पाइनँ छोरा मैले । म के गरूँ तँलाई, ल भन् ?’, भल्लुरामले आँखा राताराता पारेर छोरोलाई कुट्न झम्टियो । 

‘मलाई नकुट्नु बुबा । मैले आमाले भनेका सबै कुरा मनिरहेकै छु । आमा-बुबालाई मैले दुःख दिएकै छैन । तपाईं आराम गर्नु न’, पिन्चे स्वर निकालेर छोरोले बुबालाई भन्यो । 

छोरोको कुरा सुनेपछि झन् रिसले आगो हुँदै बुबा, ‘हो, मेरो छोरो ज्ञानी छ । छोरोले कुनै फट्यार्इं गरेको छैन । आमाले थालमा तँलाई खान दिएको मासु किन सुपारीको फेदमा थुपारेको भन् ? फेरि आज मासु थोरै थियो । तँ आफ्नो भाग मासु यहाँ ल्याएर थुपार्ने अनि आमाको भाग कराहीको मासुचाहिँ के गर्न लिएर हिँडेको छस् फेरि..ल भन् ? आमा र बुबाले भनेको मान्नुपर्दैन ? आमालाई पछिपछि दौडाएर किन सास्ती दिन्छस् ?’, बुबा चिच्याउँदै छोरोको कन्सिरी उखेल्न थाल्यो । 

‘दुख्यो बुबा’ भन्दै छोरो रुन थाल्यो । आँसु झार्दै छोरोले भन्यो, ‘कागलाई खान मैले सुपारीको फेदमा मासु थुपारिदिएकोे ।’

‘कागका लागि तैँले थुपार्नुपर्दैन मासु, उसैले खोजेर खान्छ । कुहिएको र नराम्रो मासु पो दिने त कागलाई । यति मीठो मासु किन थुपार्छस् यसरी जताततै ?’ भन्दै बुबा गर्जियो । 

‘कति दुःख गरी घर वरिपरि खोजेर बल्लबल्ल २ वटा मुसा मार्न सकँे । त्यही मुसाको मासु मीठो पारेर पकाएको मैले’, भन्यो भल्लुरामले ।

बुबाको रिस कम नहुँदै छोरो ‘बुबा, एकछिन, एकछिन’ भन्दै कराही बोकेर खुरुरुरु कुद्यो । लोग्ने-स्वास्नी छोरो कराही राख्न भित्र दगुरेको होला भन्दै दङ्ग परे । उनीहरूलाई अब भने छोरो ठीक ठाउँमा आयो भन्ने लाग्यो । तर, छोरो भने कराही बोकेर भित्र नछिरी आँपको रूखतिर दौडियो । यो देखेर लोग्ने-स्वास्नी चकित परे र छोरोले गरेको व्यवहार टुलुटुलु हेर्न थाले । 

छोरो आँपको रूखमुनि कराहीको मासु थुपार्न थाल्यो । यो देखेर बुबा गर्जियो, ‘तँ पाजी फेरि कराहीको मासु आँपको रूखमुनि थुपार्न थालिस् । तँ मैले जति सम्झाए पनि नसम्झिने भइस् होइन ?’ 

छोरो खाली कराही बोकेर चिच्याउँदै गरेको बुबाको छेउमा आएर बस्यो । कराहीको त्यति मीठो मासु लगेर फेरि आँपको रूखमुनि थुपारेको भन्दै बुबा उफ्रिन थाल्यो । आमा ती २ बाबु-छोराको काण्ड हेर्दै टाउकोमा हात राखेर बसिरही । 

छोरो बोल्न थाल्यो, ‘आमा भित्र गएर अर्को तरकारी पकाउनु । मलाई भोक लागेको छ । तमासा देखेर हैरान भएकी आमाले छोरोको कुरा सुनेपछि टाउकोदेखि छोरोको खुट्टासम्म लोपार्दै, ‘यी खालास् अर्को तरकारी ! त्यति मीठो मासुचाँहि ४ तिर थुपार्दै हिँड्छस्’ भन्दै आमाले छोरोको गालामा एक थप्पड हानिदिई ।
  
छोरो ‘दुख्यो’ भन्दै कराउन थाल्यो । 

‘पाजी, तैँले गर्दा कम्ता तनाव भयो ? जति सम्झाउँदा, बुझाउँदा पनि नमान्ने तँ ? तेह्रो जिद्दीले त्यति मीठो मासु खेर गयो । सबै मैले खाइदिएको भए हुनेरै’छ बरु । थुक्क तेह्रो बुद्धि ! नालायक, पिचास्’ भन्दै बुबा कराउन थाल्यो । 

छोरो तरतरी आँसु झार्दै भन्न थाल्यो, ‘म मासुको थाल बोकेर बाहिर निस्किँदा आमाले काग भोकले करायो । मेरो थालको मासु देखेर लोभले करायो । कागलाई मासु अतिमनपर्छ छोरा भन्नुुभयो । आमाले भनेको कुरा सुनेर भित्र कराहीमा रहेको मासु म खाऊँला, भोकले कराउन थालेको कागलाई मेरो थालको मासु दिन्छु भन्ने लाग्यो र सुपारीको बोटमुनि कागको भाग मासु राखिदिएकोे हुँ मैले ।’

छोरोको कुरा सुनेर झनझन् बुबाको कन्सिरी तातेर आयो । फेरि बुबाले सोध्यो, ‘कराहीको मासुचाहिँ के भएर आँपको रूखमुनि फ्याँकेर आइस्, गधा ?’

छोरो ठूलो स्वरले रुँदै भन्न थाल्यो, ‘तपाईंले नराम्रो काम गर्नुहुँदैन, गह्नाएको, सडिएको, कुहिएको र कीरा परेको मासु पो खान्छ त कागले, हामीले सफा, ताजा र राम्रो मासु खानुपर्छ भनेर मलाई भन्नुभएको होइन अघि ? बिहान तपाईंले मुसा खोज्दै गर्दा कोठाको चेपमा मरेर झिँगा भन्किरहेको एउटा मुसा झिकेर काटेको कुरा याद आयो मलाई, त्यही भएर गह्नाएको मुसाको मासु खानुहुँदैन, रोग लाग्छ । कराहीमा धेरैबेर नराम्रो मासु राख्दा हैँजा फैलिएला भन्ने ठानेँ । मरेको मुसाको मासु धेरैबेर नराखूँ, तुरुन्तै फ्याँक्नुपर्छ भनेर म दौडिँदै आँपको बोटमुनि मासु थुपारिदिन गएको बुबा ! बरु पछि अर्को तरकारी पकाएर आमा-छोरा खाऔँला भन्ने लाग्यो र मैले आमालाई भित्र गएर अर्को तरकारी पकाउनु भनेँ ।’

आमालाई आफ्ना श्रीमानले कोठाको चेपमा मरेको मुसाको मासु पकाएको भन्ने कुरा थाहा नै थिएन । छोरोले आफूले पत्तै नपाएको कुराको पोल खोलेकामा आमा खुसी भई र लोग्नेलाई भनी, ‘देख्यौ, यति सानो ५ वर्षको छोरोेले कति बुद्धिमान कुरा गर्‍यो । मूर्ख त हामी २ जना रहेछौँ । तिमीले मलाई मरेको मुसाको मासु हो भनेर सुनाएनौ तर छोरोले सत्य कुरा गर्‍यो । बच्चाको मन सत्य र साँचो हुन्छ । सानासाना बाबू-नानीले देखेको र सुनेको कुरा साँचो बोल्छन् । तिमी पो छट्टु र फोहोरी रहेछौ ।’
    
श्रीमतीको कुरा सुनेर लोग्ने उत्तर दिन नसक्ने अवस्थामा पुग्यो । उसले बिनाशब्द सुपारीको फेदमा आँखा चिम्लिरह्यो । छोरो भोकायो र भन्न थाल्यो, ‘आमा, आमा भोक लाग्यो, खाना खाऔँ न ।’ 

‘सिनोलाई मैले आँपको पातले नगह्नाउने गरी छोपिदिएको छु । अब हरियो साग पकाएर खानुपर्छ ।’ 

आमा-छोरा भान्साभित्र छिरे ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…