नेपाल पर्यटन बोर्ड कोभिड- १९ का कारण थलिएको मुलुकको पर्यटनलाई चलायमान बनाउन अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा जुटेको छ । कोभिडपछि पहिलो अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन गर्न बोर्डले भारतमा आयोजना हुने साउथ एसियाज ट्राभल एण्ड टुरिज्म एक्सचेन्ज (साटे)मा सहभागिता जनाउने भएको छ ।
यही २४-२६ मार्चमा भारतको ग्रेरटर नोयडामा आयोजना हुने उक्त कार्यक्रममा बोर्डको नेतृत्वमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)सहित विभिन्न २५ कम्पनी सहभागी हुनेछन् । पर्यटन प्रवर्द्धनका लागि पहिले छिमेकी मुलकका बजारमा जाने रणनीतिअनुरूप बोर्डले साटेमा सहभागिता जनाउन लागेको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीले जानकारी दिए ।
'भारतमा पनि बिस्तारै पर्यटकीय गतिविधि बढिरहेको छ तर भारतले अझै धेरै मुलुकका लागि प्रवेशाज्ञा नखोलिरहेको सन्दर्भमा यो कार्यक्रममा नेपालको सहभागिता महत्त्वपूर्ण हुने अपेक्षा गरेका छौँ”, उनले भने । साटेको प्रभावकारिता हेरेर क्रमशः भारतका अन्य पर्यटन बजारमा पनि पर्यटन प्रवर्द्धनका कार्यक्रममा सहभागिता जनाइने सीईओ रग्मीले जानकारी दिए ।
पछिल्लो पटक सरकारले नेपाल-भारत यातायात सञ्चालन गर्ने निर्णय गरेको र यसअघि एअरबबल सम्झौताअनुरूप नेपाल-भारत दुवै देशबाट दैनिक २ वटा हवाई उडानसमेत भइरहकाले यो कार्यक्रम नेपालको पर्यटन प्रवर्द्धन गर्न सहयोगी हुने बोर्डको धारणा छ ।
पर्यटन बोर्डले भारतीय पर्यटकलाई नेपालमा आकर्षित गर्न सीमा क्षेत्र, हिल स्टेसन तथा अन्य पर्यटकीय स्थलका छुट्टाछुट्टै रणनीतिको आवश्यकता पहिचान गरी सोहीअनुरूपको रणनीतिसमेत बनाएको छ ।
भारतमा हुने साटेमा पर्यटनसँग सम्बन्धित क्षेत्रीय तथा अन्तर्राष्ट्रिय पर्यटन उद्योग, बिक्रेता र पर्यटनसँग सम्बन्धित सङ्घसंस्था तथा व्यक्तित्वको सहभागिता रहने गर्छ । भारत सरकारको पर्यटन मन्त्रालयको सहयोगमा हुने साटेलाई दक्षिण एसियाको महत्त्वपूर्ण पर्यटन एक्सचेञ्ज मेलाका रूपमा लिने गरिन्छ ।
कोभिडको सङ्क्रमणपछि नेपाल पर्यटन बोर्डले डिजिटल माध्यमबाट विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पर्यटन प्रवर्द्धनका काम गरे पनि भौतिक रूपमा सहभागिता जनाउने यो पहिलो कार्यक्रम हो ।
नेपालले सन् २०२० मा जनवरी ८ देखि १० तारिखमा भारतको ग्रेटर नोयडामै आयोजना भएको साटेमा समेत सहभागिता जनाएको थियो । गत वर्ष नेपालबाट विभिन्न ३६ वटा संस्था कम्पनीले सहभागिता जनाएका थिए । यस वर्ष कोरानाका कारण सहभागी हुन जाने कम्पनीको सङ्ख्या केही घटे पनि कोभिडको खोप आइसकेको अवस्थामा भारतीय बिक्रेतालाई विभिन्न प्याकेजमार्फत आकर्षित गरिने निजी क्षेत्रका सहभागीको धारणा छ । सोअनुसार सहभागी कम्पनीले विभिन्न खालका प्याकेजसमेत तयार पारेका छन् ।